धुलिखेल/काभ्रेका २ हजार ५ सय ८६ भुतपुर्व सैनिक र उनका परिवारले नेपाली सेनाको कल्याणकारी कोषबाट प्राप्त गर्ने सहयोग प्राप्त गरेका छन् । नेपाली सेना भुतपुर्व सैनिक सम्मेलनको आयोजना गरी कालीजंग गण धुलिखेलले उक्त सहयोग हस्तान्तरण गरेको हो ।
धुलिखेलमा आयोजित कार्यक्रममा सैनिक हेडक्वाटरका उपरथी विजय थापाले उद्घाटन गरेका थिए । कालीजंग गणका गणपती प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जिल्लामा रहेका भुतपुर्व सैनिकहरु मध्ये २ हजार ५ सय ८५ जनाले नाम दर्ता गराएका थिए । सैनिक कल्याणकारी कोषबाट नेपाली सेनाले विभिन्न सहयोग गर्दै आएको प्रधानसेनापति प्रभुराम शर्माले बताए । काठमाडौ लगायत काभ्रे र विभिन्न स्थानमा एकै पटक भुतपुर्व सैनिकहरुको सम्मेलन आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई एकै पटक सम्बोधन गर्दै प्रधानसेनापति शर्माले भुतपुर्व सैनिकहरुको योगदानको स्मरण गर्दै मुलुकलाई संकट र विपद पर्दा जस्तो सुकै अवस्थामा पनि योगदान पु¥याउन अनुरोध गरे । साथै प्रधानसेनापति शर्माले भुतपुर्व सैनिक र उनका परिवारका लागि उपलब्ध गराउने सेवा सुविधालाई बढाउने घोषणा गरे ।
काभ्रेपलाञ्चोक जिल्लामा रहेका भुतपुर्व सैनिकहरु मध्ये अधिकृत तहका ३४, पदिक ४ सय ८९, अन्य दर्जाका १ हजार ६ सय ४५ जना र एकल महिला ४ सय १८ जना छन् । उनिहरु मध्ये पुरुषहरुका लागि ट्रयाक सुट एक जोर, क्याप एउटा, झोला एउटा र १ हजार ७ सय ५० रुपैया यातायात खर्च उपलब्ध गराईएको थियो भने महिलाहरुका लागि स्विटर, सल र झोलाका साथै १ हजार ७ सय ५० यातायात खर्च उपलब्ध गराईएको थियो । साथै भुतपुर्वहरुलाई सैनिक कल्याणकारी पुस्तिका उपलब्ध गराईएको थियो । भुतपुर्व सैनिकहरुको सम्मेलनमा नेपाली सेना कालीजंग गणले विविध कार्यक्रमको आयोजना गरेको थियो । ब्यवस्थित रुपले संचालन गरिएको सम्मेलनमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, २६ नम्वर बाहिनीका बाहिनीपति, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतको सहभागिता रहेको थियो ।
प्रधान सेनापतिले भूतपूर्व सैनिकहरू नेपाली सेनाको प्रतिनिधि पात्रको रूपमा एक अनुशासित जीवन व्यतीत गर्दै सेनाले गरेका उल्लेखनीय कार्यहरूबारे समाजलाई सुसूचित गराउने कार्य गर्नुका साथै स्थानीय जनता र सेना बिचको पुलको रूपमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले सेनाको संस्थागत मूल्य र मान्यताहरूलाई अनुसरण गर्दै सैनिक सेवाको दौरान आर्जित ज्ञान, सीप र अनुभव आफ्नै गाउँघर, समाजको विकास र उत्थानमा लगाई, विपद् लगायत अन्य आवश्यक परेको समयमा समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिए । नेपाली सेनाले पहिलो चरणमा फाल्गुण २, ३ र ४ गते इटहरी ब्यारेकमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । इटहरी लगायत धनकुटा, उदयपुर, चारआली झापा, पाँचथर र ओखलढुङ्गामा भूतपूर्व सैनिक सम्मेलनको आयोजना गरेको थियो । भूतपूर्व सैनिक सम्मेलनको दोस्रो चरण २०८० फाल्गुण ११ गते मध्य पृतना हेडक्वाटर अन्तरगत भरतपुर चितवन र त्रिशूली नुवाकोटमा सम्मेलन आयोजना गरिएको थियो भने तेस्रो तथा अन्तिम चरणको २०८० चैत्र ४ गते उपत्यका पृतना हेडक्वाटर अन्तरगत काठमाडौ उपत्यका लगायत काभ्रे र सिन्धुपाल्चोक चौतारामा कार्यक्रम आयोजना गरिएको थियो ।
प्रधान सेनापति शर्माले नेपाली सेनाका सकलदर्जाको रगत र पसिनाबाट आर्जित कल्याणकारी कोषको रकमबाट बहालवाला तथा अवकाश प्राप्त व्यक्तिहरूको बृहत्तर हितका निमित्त कल्याणकारी सेवाको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने नीति अनुरूप शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका क्षेत्र विस्तार गरी कार्यान्वयन गर्ने कार्य भइरहेको बताए । १० लाख भुतपुर्व सैनिकहरु रहेको बताउँदै शर्माले बार्षिक ६ देखि ८ अर्ब खर्च हुने गरेको जानकारी गराए । हालसम्म उक्त कोषमा ८२ अर्ब ६६ करोड १२ लाख रुपैया जम्मा भएको छ । कोषमा जम्मा भएको ब्याजबाट कल्याणकारी कार्य गरिरहेको उनले बताए ।









