धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा बार्षिक १५ हजार ठुला पशु रेटिछन् । तथ्यांक अनुसार ठुला पशुबाट बार्षिक १४ हजार ८ सय ५२ वटा छाला संकलन हुने गरेका छन् । साना पशुहरुको छाला भने संकलन गरिएको छैन । भेडा÷च्याङ्ग्राबाट बार्षिक ३ हजार २ सय ८० केजी उन उत्पादन हुने गरेको छ । खरायोको उन भने १३ केजी मात्रै उत्पादन भएको छ । बनेपा लगायतका विभिन्न स्थानमा ठुला पशु रेटिदै आएका छन् ।
राँगो र भैसीको मासु ६ हजार ५ सय ८० मेट्रिक टन जिल्लामै उत्पादन गर्ने गरी पशुपालन गरिएको छ । ३ सय २२ मेट्रिक टन मासु बंगुरबाट उत्पादन हुने गरेको छ । खसी र बोकाको २ हजार ९ सय ८९ मेट्रिक टन उत्पादन हुने गरेको छ । भेडा र च्याङग्राको १ सय ५७ मेट्रिक टन तथा कुखुरा र हाँसको २ हजार ७ सय ७७ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । एक वर्षको अवधीमा काभ्रेमा १२ हजार ८ सय २५ मेट्रिक टन मासु ब्यवसायीक रुपमा उत्पादन हुने गरेको छ भने ९५ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । पशु सेवा कार्यालय तथा कृषि गणनाको तथ्याङ्क अनुसार जिल्लामा आर्थिक वर्ष २०७९÷२०८० मा गरिएको सर्भेक्षण अनुसार काभ्रेपलाञ्चोक जिल्ला दुध जस्तै मासुमा पनि आत्मनिर्भरका साथ निर्यात गरिरहेको छ । तर पनि सरकारको ब्यवसायीक पशुपालन नीति ठिक नभएका कारण ब्यवसायबाट पलायन हुनेहरुको संख्या धेरै छ ।









