– एक हजार भन्दा धेरै हजारका नक्कली नोट विक्री गरिएको दाबी
मोतीराम तिमल्सिना
बनेपा
मेहनत, परिश्रम र इमान्दारीताबाट भन्दा युवाहरुलाई चाँडै धनी बन्ने भुत चढे पछि केहि ब्यक्ति ठगिएका छन् । केहि पक्राउ परेका छन् । गिरोहमा संलग्नहरुको खोजी भईरहेको छ । जिल्लाको ब्यापारीक नगरी बनेपाको मुटुमा एक युवा हरेक दिन मोबाईल विक्री गर्ने पसल देखाएर पैसा छापिरहेका हुन्थे । बनेपामा पैसा छाप्न असुरक्षा महसुस भएका बेला उनी धुलिखेलमा एउटा होटलको रुम भाडामा लिएर समेत पैसा छापेर बजारमा पठाउने गरेका थिए ।
जिल्लाको खानीखोलामा संचालन भएको जात्रामा भेटिएका नक्कली नोटहरुको कनेक्सनमा पनि प्रहरीले अनुसन्धान शुरु गरेको छ । यसअघि पनौतीमा पनि केहि नक्कली नोटहरु भेटिएका थिए । अहिले बनेपा तथा आसपासको बजारमा मात्रै २ लाख ५० हजार भन्दा धेरै नक्कली नोटहरु विक्री गरिएको छ । खानीखोलामा संलग्न ब्यक्तिहरुलाई समयमै अनुसन्धान गरेर कारवाही नगरकै कारण बनेपामा मोवाईल पसल राखेका युवालाई नक्कली नोट छाप्ने साहस बढेको थियो । एचएम मोवाईल केयर नामको पसल बनेपा ५ रेडक्रस भवनको नजिकै थियो । उनी मोवाईल बनाएर विक्री गर्ने गर्दथे । नयाँ भन्दा पनि पुराना मोवाईलको मर्मत धेरै हुन्थ्यो । पसल राखेको धेरै समय भएको थिएन । उनको स्थायी ठेगाना मकवानपुर हो । हाल जिल्लाको बेथान्चोक गाउँपालिका ३ घर भएका २५ वर्षीय सबिन हुमागाई जब बनेपाबाट पक्राउ परे त्यसपछि मात्रै थप रहस्य खुल्यो ।
सविन केहि समय विदेश पनि गएका थिए । उनको परिवार बेथान्चोकमा बस्दै आएका छन् । उनी मोवाईल ब्यवसायीहरुको छाता संगठनमा पनि आवद्ध छैनन् । बनेपामा बस्दै आएका उनी पैसा छापेर विक्री गर्दथे । एक लाख रुपैयाँ छापे बापत उनले ३० हजार रुपैयाँ मात्रै प्राप्त गर्ने गरेका थिए । पक्राउ परेको दिन विहान उनले १ लाख १४ हजार रुपैयाँ छापेर पठाएका थिए । ‘अर्डर अनुसार छाप्ने हो’–सविनले प्रहरीलाई भनेका थिए – ‘जति अर्डर आयो त्यति छापेर विक्री गर्ने गरेको थिएँ । पैसा किन्न आउनेहरुको एउटा समुह थियो । सबैलाई चिन्दिनँ तर धेरै रकम छापेर पठाएको छु । मैले यो मेशिनबाट १ हजारवटा भन्दा धेरै छापेको छु ।’ उनलाई शुरुमा पैसा छापिन्छ जस्तो लागेको थिएन । कसैले उनलाई कलर फोटोकपी मेशिनबाट पैसा छाप्न सकिने बताई दियो । उ पनि त्यस्तै काममा सक्रिय भएको रहेछ । त्यसपछि सविनले पनि पैसा छाप्न थाले ।
केहि समय उनले मोवाईल पसलमा सटर लगाएर छापे । पछि धेरै अर्डर आउन थाले पछि रातभर लगाएर छापे । धुलिखेलको एउटा होटलमा कोठा बुक गरे । त्यहि कोठामा रातभर पैसा छापेर भोलिपल्ट प्याक गरेर काठमाडौ पठाई दिए । पैसा लिएर जाने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको कुरा सविनले थाहा पाएनन् । चैत्र १ गते पक्राउ परेका ति युवाको माध्यमबाट सविन पक्राउ परेका थिए । सविनको बयान अनुसार १० लाख भन्दा धेरै रकम छापि सकिएको छ । बनेपा र अन्यत्र गरेर छापिएको रकम त्यति हुन सक्ने उनिहरुको अनुमान छ । छापिएका नोटहरु मध्ये ४÷५ वटा हजारका नोटका कपि हुन् । एउटा नोटबाट एक सय भन्दा धेरै प्रिन्ट निकाल्ने गरेको उनले जानकारी दिएका छन् । सविन भन्दा अघि ललितपुरको गोदावरी नगरपालिका ३ टौखेलका ३७ वर्षीय करण प्रधान, काभ्रे मन्डनदेउपुर नगरपालिका ११ घर भएका सञ्जय अधिकारी पक्राउ परिसकेका थिए । सञ्जय र सविन चिनाजानीका साथी हुन् ।
कसरी बरामद भयो मेशिन ?
नक्कली नोट कारोबारको आरोपमा प्रहरीले शुरुमा ललितपुरको गोदावरी नगरपालिका ३ टौखेलका ३७ वर्षीय करण प्रधानलाई पक्राउ गरेको थियो । चैत्र १ गते दिउँसोको समयमा करणले केहि सामान किन्ने नाममा एउटा पसलमा नक्कली नोटका केहि थानहरु दिए । पसलेलाई शंका लागेर ति युवालाई बोलायो । उसले हैन भन्यो । तत्कालै उनले प्रहरीलाई खबर गरे । ति युवा हिडिसकेका थिए । हिडिरहेकै अवस्थामा प्रहरीले उनलाई पक्राउ ग¥यो । उनको साथमा २० हजारका थप नक्कली नोटहरु प्रहरीले बरामद ग¥यो । श्रोत खोज्दै जाने क्रममा प्रहरीले काभ्रे मण्डन देउपुर ११ घर भएका सञ्जय अधिकारीलाई पक्राउ ग¥यो । सञ्जय मुख्य योजनाकार थिए । उनले सविनलाई पैसा छाप्न अर्डर गर्थे । १ लाख छापिदिए बापत ३० हजार दिन्थे । उनै सञ्जयलाई चैत्र २ गते पक्राउ ग¥यो । सञ्जयलाई पक्राउ गरे लगत्तै प्रहरीले थप अनुसन्धान सविनसम्म पुग्यो ।
सञ्जयलाई नियन्त्रणमा लिए पछि पनि प्रहरीले सञ्जयलाई सविनलाई फोन गराएर पैसाको अर्डर गरायो । खुल्ला सटर तत्काल बन्द गर्दै सविन दिउँसै पसलमा पैसा छाप्न थालेका थिए । पसलमा मोवाईल छाडिरहेका, बनाउन आएका ग्राहकहरुलाई उनले ४ बजे पछि भन्दै फर्काएका थिए । दिउँसै पैसाको अर्डर आए पछि उनी पैसा छाप्न ब्यस्त थिए । दिउँसो ३ बजेको समयमा काठमाडौबाट प्रहरीको भ्यान सहितको टोली आयो । सञ्जय त्यसमै थिए । सविनको मोवाईल पसलमा धमाधम पैसा छाप्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बनेपाको टोलीको सहयोगमा सविन मोवाईल पसलबाटै पैसा छाप्दै गरेको अवस्थामा मेशिन सहित पक्राउ परे ।
पक्राउ परेका तीनै जनालाई ललितपुर प्रहरीले चैत्र ४ गते आईतबार सार्वजनिक गरेको थियो । उनिहरुको माध्यमबाट नक्कली नोटको कारोवारमा संलग्नलाई खोजविन गरिरहेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए । नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीको टोलीले चैत १ गते गोदावरीमा हिँडिरहेको अवस्थामा करण पक्राउ गरेको थियो । उनको साथबाट १ हजार दरका २० थान नक्कली नोट, १ हजार दरकै सक्कली नोट १२ थान, अमेरिकन ५ डलरको नोट २ थान, अमेरिकी १ डलरको नोट ३ थान र आइफोन बरामद गरेको थियो । त्यसैगरी सञ्जयको साथबाट १ हजार दरका १ सय १५ थान नक्कली नोट प्रहरीले बरामद गरेको थियो । एचएम मोबाइलका सञ्चालक सबिनको मोबाइल पसलबाट नक्कली नोट बरामद गरिएको एसएसपी खनालले बताए । सविनको पसलबाट १ हजार दरका ६९ थान नक्कली नोट र ५ सय दरका १ थान नक्कली नोट बरामद भएको थियो । नक्कली नोट छाप्न प्रयोग भएको प्रिन्टर, ल्यापटप, नक्कली नोट छाप्ने सादा पेपर चार सय थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
कहाँ पुग्यो पैसा छाप्ने निर्णय ?
तत्कालिन संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले काभ्रेपलाञ्चोक जिल्लामा रहेको साविकको आईटी पार्कलाई सुरक्षण मुद्रण प्रेस संचालन गरी त्यहिँबाट मुलुकका लागि आवश्यक पर्ने अन्त शुल्कका स्टिकर, राहदानी तथा अन्य महत्वपूर्ण कागजातका साथ पैसा छाप्ने मेशिन राख्ने निर्णय गरेका थिए । बजेटमा गरिएको ब्यवस्था पछि उक्त क्षेत्रमा अहिले धमाधम प्रिन्टिङ्ग प्रेसका लागि निर्माण कार्य भए पनि सरकारले रकम समयमा भुक्तानी नगरेका कारण समयमा हुन सकेको छैन । गोकुलप्रसाद बास्कोटाले पैसा छाप्ने प्रेस नेपालमा नै राख्न सकिन्छ भन्ने कानूनी र त्यसका लागि आवश्यक पर्ने पूर्वाधार सहितको बजेट ब्यवस्थापन गरे । पछिल्ला सरकारका मन्त्रीहरुले त्यसलाई निरन्तरता दिए पनि कार्य अघि बढ्न सकेन । अहिले पनि भुक्तानीका लागि निर्माण ब्यवसायीहरुले माग गरेको भए पनि हुन नसकेको बताएका छन् । एकातिर अघिल्लो गठवन्धन सरकारले उक्त क्षेत्रमा आवश्यक भन्दा धेरै अनुत्पादक र अनुपयुक्त क्षेत्रमा निर्माण कार्य गरेर रकम भुक्तानी गराएको छ भने अर्काे तिर आवश्यक पर्ने क्षेत्रमा बजेट उपलब्ध गराएको छैन । नयाँ गठवन्धनमा पनि रेखा शर्मा संचारमन्त्री छिन् । तर पनि पैसा लगायतका अन्य महत्वपूर्ण कागजात छाप्ने बनेपामा निर्माण भईरहेको सुरक्षण मुद्रण प्रेस प्राथमिकतामा परेको छैन । यसले गर्दा राज्यको अरबौं रकम विदेशिएको छ ।









