2026 August 29/ 08:45: 33am

धुलिखेल/नागरिकता विक्री गर्ने कार्यमा संलग्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका नागरिकता फाँटमा कार्यरत सुब्बा रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनीसँगै सोहि प्रकरणमा संलग्न भएको अभियोगमा अधिकृत झपेन्द्रराज खरेललाई भने प्रहरीले खोजिरहेको छ । उनी उपचारका लागि छिमेकी देश गएको प्रहरीले सूचना प्राप्त गरेको छ । 
    सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा अर्याललाई प्रहरीले पक्राउ गरेको हो । छानविन प्रतिवेदनले सोहि अवधीमा अर्याल सहितको समुहले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ३ सय ५० वटा नागरिकता विक्री भएका छन् । अर्याल हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत थिए । नागरिकता विक्री गरेको सूचना पाए पछि उनलाई कारवाही स्वरुप अन्य जिल्लामा सरुवा गरिएको थियो ।  विक्री भएका वा हराएका अनुसुचीहरु खोजेको बेला उपस्थित गराउने गरी कागज गरी उनलाई रमना दिईएको थियो । तर अहिले जिल्ला प्रशासन कार्यालय काभ्रेमा उक्त कागजात र उनि सरुवा हुँदा गराईएको रमना पनि छैन । काभ्रेबाट उनी नुवाकोट हुँदै यातायात कार्यालय काठमाडौं, ठूलो भ¥याङमा थिए । त्यहाँबाट सरुवा भएर अर्याल बागमती प्रदेशसभा सचिवालयमा आएका थिए ।
    गृह मन्त्रालयले गठन गरेको छानविन उपसमितिले अर्याल सहित अधिकृत झपेन्द्रराज खरेल दोषि देखिएकाले आवश्यक कारवाही गर्ने सिफारिस गरेको थियो । काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई फागुन २३ गते बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरी मकवानपुर प्रहरीले काभ्रे प्रहरीलाई जिम्मा लगाएको थियो । उनले नागरिकताको अभिलेखमा आफै औठा छाप लगाएको खुलेको छ । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको छ । काभ्रे प्रशासनबाट २० पुस २०७४ मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावा जिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अर्याल २०७५ सम्म काभ्रे प्रशासनमा रहेका थिए ।
    सिआईबीको अनुसन्धानबाट काभ्रे प्रशासनले विदेशी नागरिकलाई नागरिकता दिलाउन नयाँ नागरिकता जारी र राहदानीसम्बन्धी फाँटमा झपेन्द्रराज खरेलसँगै अर्याललाई पनि पठाएको खुलेको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा थिए । दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो । गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरेको थियो ।