– सबै घरमा डिजिटल घर नम्बर प्रणाली
विकास तिमल्सिना
धुलिखेल
धुलिखेल नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली सुरु भएको छ । नेपालमा नै पहिलोपटक धुलिखेल नगरपालिका वडा नम्बर ४ बाट डिजिटल घर नम्बर प्रणाली सुरु गरिएको थियो । स्मार्ट शहर कार्यान्वयन गर्ने अभियानमा रहेको धुलिखेलले नागरिकहरुलाई घरमै बसेर सबै सेवा लिन सकिने प्रणालीहरु कार्यान्वयनमा ल्याएको छ ।
स्थानीय तहहरुको वित्तीय सुशासन जोखिम मुल्यांकनमा ८३ नम्वर ल्याएर जिल्लाकै पहिलो पालिका बनेको धुलिखेले योजना बजेट तथा कार्यक्रम ब्यवस्थापन, कार्यान्वयन क्षमता तथा ब्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मुल्यांकन तथा लेखापरीक्षण र रावश्व ब्यवस्थापनमा समेत सबै पालिकाहरुलाई उछिनेको छ । राजश्व तथा अन्य सेवाहरुमा समेत डिजिटल सेवा शुरु गरेको धुलिखेलले पछिल्लो समय डिजिटल घर नम्वरलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख अशोक ब्याञ्जुले बताए ।
डिजिटल घर नम्बर प्रणालीमा रहने क्युआर कोडमा सम्बन्धित घर कहाँ छ, घर के बाट बनेको छ, कति तल्लाको छ भन्ने लगायतका सम्पुर्ण विवरण उपलब्ध हुन्छ । यसले आगलागी हुँदा, चोरी हुँदा र मानिस विरामी परेको समयमा दमकल, प्रहरी, एम्बुलेन्सलाई लोकेशनका लागि पटक–पटक सोधिरहनु पर्दैन । यस्तै नगरपालिकामा कति घर बनेका छन, कस्तो प्रकारको घर बनेको छ, राजश्व तिरे÷नतिरेको समेत थाहा पाउन सकिन्छ । डिजिटल घर नम्बर प्रणालीले नागरिकले घरमा नै बसेर सहज रुपमा सेवा प्राप्त गर्नेछन् । यसले समयको समेत बचत हुनेछ ।
धुलिखेल नगरपालिकाका ८ वटा वडामा क्युआर कोड सहितको घर नम्बर प्रणाली जडान थालिएको छ । वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ र १० मा सम्पुर्ण कार्य सकिएको छ । ड्रोन सर्भे गरेर घर नम्बर उपलब्ध गराईएको छ । यी वडामा घर नम्बर प्रणाली कार्यान्वयनको अन्तिम चरणमा रहेको धुलिखेल नगरपालिकामा कार्यरत रोजिना थापा मगरले बताईन् । बाँकी रहेका ४ वटा वडामा पनि आगामी आर्थिक वर्षभित्र काम सक्ने नगरपालिकाको योजना छ ।
के हो डिजिटल घर नम्बर प्रणाली ?
धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष उत्तम तिमल्सिनाले काठमाण्डौं विश्वविद्यालय, भूमि व्यवस्थापन कार्यालय लगायत वडामा रहेका सरकारी कार्यालय पुग्न, वडावासीको विवरण थाहा पाउन तथा सहज रुपमा सेवा प्रवाह गर्न घर नम्बर प्रणाली प्रभावकारी हुने बताए । वडावासीको दैनिक कार्यमा समेत यो प्रणाली महत्वपुर्ण हुने वडा अध्यक्ष तिमल्सिनाको भनाई छ । नेपालमा नै धुलिखेल नगरपालिका र त्यसमा पनि आफ्नै वडामा पाईलट प्रोजेक्टका रुपमा घर नम्बर प्रणाली सुरु गरिएको भन्दै उनले खुसी व्यक्त गरेका छन । अन्यत्र ठाउँमा समेत यो प्रणाली आवश्यक रहेको उनले बताए ।
धुलिखेल नगरपालिका वडा नम्बर ४ की वडा सचिव संगीता चौलागाँईले घर नम्बर प्रणाली सहित प्रविधिमैत्री सेवा प्रवाह गरिरहेको बताइन् । व्यक्तिगत घटना तथा पञ्जीकरण सम्बन्धी सम्पुर्ण काम अनलाइनबाट भइरहेको उनले जानकारी दिइन । नक्सापास गर्ने, सम्पति कर तिर्ने लगायतका काम समेत अनलाइनबाट नै भइरहेको छ । उनका अनुसार वडाबाट प्रवाह हुने सेवाको भौचर अनलाइनबाट काट्ने व्यवस्था छ भने एककिृत नगर सेवा प्रणाली पनि सुचारु हुँदै छ । यसले नागरिकलाई घरमा नै बसेर आफुलाई आवश्यक सेवा प्राप्त गर्न सक्नेछन । सिक्ने सिकाउने क्रममा वडा कार्यालय रहेको वडा सचिव चौंलागाँईले बताइन् । सिक्नका लागि केहि कठिन भएपनि त्यसपछि भने सहज सेवा प्राप्त गर्नका लागि कोसेढुङगा सावित हुने विश्वास लिइएको छ । जीआइएस प्रणाली अन्तर्गत रहने यो प्रणाली आफैं अपडेट हुने छ ।
धुलिखेल वातावरण संरक्षण, भवन निर्माण संहितामा उर्जा दक्षता लगायतका कार्यहरुमा समेत अब्बल र पहिलो हुँदै आएको छ भने स्वस्थ शहर अभियान, गुणस्तरीय खानेपानी र दिगो विकासका चार वटा लक्ष्य पुरा गरेर नेपालकै नमुना पालिकाहरुमा चिनिएको छ ।









