2026 August 29/ 08:54: 18am

    बनेपा/जिल्लामै एक मात्र विद्यालय रहेको काभ्रे बहिरा माध्यमिक विद्यालयको २८ औ वार्षिक उत्सव तथा अभिभाबक दिवस बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी शाक्यले नगरमा छुट्टै किसिमको विद्यालय रहेको हुँदा विशेष रुपमा हेरिएको बताए । ‘बहिरा बालबालिकाहरुको उज्ज्वल भविष्यको लागि सबैले क्षेत्रबाट सहयोग गर्नुपर्छ’– नगर प्रमुख शाक्यले भने–‘बहिराहरुको विचार भावना बुझ्न सकियोस भनेर नगरपालिकाले सांकेतिक भाषाको तालिम, उनिहरुको सिप विकास र आत्मनिर्भरका विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ ।’ बहिरा विद्यार्थीहरुको क्षमता र दक्षता बृद्धि गर्न तथा विभिन्न किसिमका तालिम क्षमता अनुसार प्रदान गरेको र उनिहरुले उत्पादन गरेका सामाग्रीहरु नगरपालिकाले खरिद गर्ने बताए । बालबालिकाहरु कान नसुन्ने भएको हुँद उनिहरुको शिक्षाका लागी नगरपालिकाबाट गर्नुपर्ने सम्पुर्ण सहयोग रहने नगर प्रमुख शाक्यले प्रतिबद्धता ब्यक्त गरे । 
    कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रधानाध्यापक कृष्णप्यारी नकर्मीले प्रस्तुत गरेकी थिईन् । नर्कर्मीले सात जनाबाट शुरु भएको विद्यालयमा जिल्लाभर र अन्य जिल्लाका समेत गरी शैक्षिक सत्र २०८० सम्म आईपुग्दा ८७ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको बताईन् । उनले शुरुमा बहिरा बालबालिकाहरुलाई पढाउन धेरै दुःख कष्ट ब्यहोर्नु परेको बताईन् । निरन्तरको अभ्यास र प्रयास पछि अहिले धेरै सहज तरिकाले उनिहरुलाई अध्यापन गराईरहेको उनले बताईन् । 
कार्यक्रममा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल, शिक्षा समन्वय ईकाई प्रमुख देवका ढकाल, लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यालयले आयोजना गरेको खेलकूद सप्ताहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई र विद्यालय स्थापना गर्दा सहयोग गर्ने धु्रर्व तखाँंछेलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालयका शिक्षक अभिभावक सघंका अध्यक्ष राजकुमार चौलागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।