– आँखा अस्पतालमा लिफ्ट’
गोमाथापा
बनेपा
काठमाडौं विश्वविद्यालय र रेयुकाई एईको मासुनागा आँखा अस्पतालबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्वन्धी सम्झौता भएको छ । काठमाडौ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा.डा.मनोज हुमागाई र अस्पतालका तर्फबाट अध्यक्ष मधु आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा साक्षीका रुपमा काठमाडौ विश्वविद्यालयका तर्फबाट स्कूलअफ मेडिकल साइन्सेजका एसोसिएट डीन प्रा.डा दीपक कुँवर र अस्पतालका तर्फबाट महासचिव हिरामणी शर्माले हस्ताक्षर गरेका छन् । मंगलबार गरिएको सम्झौतापत्रमा काठमाडौं विश्वविद्यालय धुलिखेल, काभ्रेमा इन्जिनियरिङ, कला, कानून, विज्ञान, व्यवस्थापन, चिकित्सा सम्बन्धी विद्यालयहरू मार्फत विभिन्न विषयहरूमा उच्च शिक्षा र अनुसन्धानप्रदान गर्न स्थापना भएकाले चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा आपसी चासो र सहयोग अभिवृद्धिमा योगदान पु¥याउँदै ‘काठमाडौं विश्वविद्यालय, धुलिखेल र रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपाबीच समझदारी भएको उल्लेख छ । चिकित्सा र सम्बन्धित विषयहरूमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउने उद्देश्यले संयुक्त पहलहरूमा सहकार्य गर्न दुबै पक्ष सहमत भएको सम्झौतामा उल्लेख छ ।
पक्षहरूले संयुक्त अनुसन्धान परियोजनाहरू सञ्चालन गर्नेछन् । एक अर्काको शैक्षिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुनेछन । ज्ञान र विशेषज्ञताको आदान प्रदानलाई प्रवद्र्धन गर्ने सहयोगी वातावरणलाई बढावा दिनेछन् । चिकित्सा र स्वास्थ्यको वर्तमान र भविष्यका आवश्यकताहरूलाई सम्बोधन गर्न शैक्षिक कार्यक्रमहरूको विकास र कार्यान्वयनका सम्भावनाहरू अन्वेषण गर्नेछन् । देशको विज्ञान क्षेत्रमा समेत सहयोग पु¥याउने उल्लेख गरिएको छ । दुबै पक्षहरू आपसीहितका क्षेत्रमा विद्यार्थी, शैक्षिक र प्राविधिक कर्मचारीहरूको सीप र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आ–आफ्ना संकायहरूका लागि संयुक्त प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्न प्रतिबद्ध छन् ।
त्यस्तै दुबै पक्षहरू अनुसन्धान निष्कर्षहरू, प्रकाशनहरू, र शैक्षिक सामग्रीहरू सहित शैक्षिक जानकारी साझा गर्न सहमत छन । उनीहरूको विशेषज्ञताको सम्बन्धित क्षेत्रहरूको थप व्यापक समझलाई सुविधा दिन तयार भएका छन् । संयुक्त अनुसन्धान र शैक्षिक प्रयासहरूको परिणाम हो कि संयुक्त शैक्षिक प्रकाशनहरू, शैक्षिक सामग्रीको विकास, र अन्य उत्पादनहरू प्रवद्र्धन गर्न दुवै पक्षहरू मिलेर काम गर्नेछन् । अनुसन्धान र शिक्षाको गुणस्तर बढाउन प्रयोगशाला सुविधाहरू, उपकरण र विधिहरूमा मात्र सीमित नभएर प्राविधिक विशेषज्ञताको साझेदारीलाई दुवै पक्षले सक्रिय रूपमा प्रवद्र्धन गर्नेछन । सम्झौता बमोजिम कुनै पनि संयुक्त परियोजना गतिविधिहरू वा शैक्षिक कार्यक्रमहरूको प्रारम्भको लागि, कुनै पनि सहयोगी उपक्रमहरू सञ्चालन गर्न छुट्टै परियोजना (विशेष सम्झौता कार्यान्वयन गरिनेछ ।) क्रियाकलापहरु संचालन सम्बन्धी आर्थिक मामिलाहरु आपसी सहमतिबाट तय गरिनेछ । सहमति हस्ताक्षर भएको मितिदेखि लागू हुनेछ र ५ वर्षको अवधिका लागि लागू हुनेछ । कुनै पनि पक्षले अर्काे पक्षलाई छ महिनाको लिखित सूचना दिएर यो सम्झौता रद्द गर्न सक्छ ।
सम्झौता कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले विश्वविद्यालयको उदेश्य अनुरुपको गुणस्तरीय शिक्षाप्रदान मात्रै नभई सिप, ब्यवहारीक ज्ञान र प्रविधि तथा अनुसन्धानमा समेत ध्यान दिएको बताए । अन्तराष्ट्रिय स्तरमा काठमाडौ विश्वविद्यालयले आफ्नो छवीलाई उचो बनाउँदै शिक्षा र स्वास्थ्यका क्षेत्रमा थप नयाँ कार्य प्रारम्भ गर्न लागेको बताए । ‘रेयुकाई आँखा अस्पतालले ज्योती देखाउने र जोगाउने कार्य गरेको छ’– प्रा.डा थापाले भने– ‘सरल, सहज रुपले नागरिकहरुलाई सेवा प्रदान गर्न काठमाडौ विश्वविद्यालयले शिक्षा र अनुसन्धानमुलक कार्यमा थप सहकार्य गर्ने छ ।’ अन्र्तराष्ट्रिय स्तरमा चिनाउन काठमाडौ विश्वविद्यालयले थप परियोजना संचालन गर्नु पर्ने बताउँदै नेपालको उच्च शिक्षालाई अझै माथी पु¥याउन धेरै कार्य गर्न बाँकी रहेको बताए ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, विश्वविद्यालयका डीनहरु, अस्पतालका कर्मचारीहरु, विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । अस्पतालले बनेपा नगरपालिकाभित्र रहेका विभिन्न विद्यालयका शिक्षकहरुलाई बालबालिकाहरुमा आँखामा लाग्ने रोग र जोखिमका अवस्था, त्यसको न्यूनिकरणलाई शिक्षकहरुको भूमिका सम्वन्धी अभिमुखीकरण दिएको थियो । सोहि अवसरमा अस्पतालले जिल्ला समन्वय समिति र बनेपा नगरपालिकाको आर्थिक र काठमाडौ विश्वविद्यालयको प्राविधिक सहयोगमा निर्माण भएको चार तल्ले लिफ्टको उद्घाटन गरिएको थियो । उक्त लिफ्ट निर्माणका लागि जिल्ला समन्वय समितिको ६० र बनेपा नगरपालिकाको ४० प्रतिशत गरी ४९ लाख २५ हजार खर्च भएको छ । विरामीहरुका लागि लिफ्ट अत्यावश्यक र महत्वपूर्ण रहेको अस्पतालका महासचिव हिरामणी शर्माले बताए ।









