धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेले चालु वर्षमा ६ करोड २४ लाख ९७ हजार ९ सय ८० रुपैया राजश्व संकलन गरेको छ । माघ महिनामा मात्रै ७७ लाख ६७ हजार ३ सय रुपैया संकलन भएको छ ।
चालुवर्षको ७ महिनामा ११ हजार ४ सय १५ जनाले राहदानीका लिएका छन् । माघ महिनामा १ हजार ४ सय १ जनाले राहदानीका लागि विवरण भरे । ४३ जनाले विभागबाट राहदानीका लागि चालु वर्षमा सिफारिस लगेका छन् । नाबालक परिचयपत्र भने चालु वर्षमा ४ सय १३ जनाले लिए । माघ महिनामा ४५ जनाले नाबालक परिचयपत्र बनाएका छन् । राहदानी बापत मात्रै जिल्ला प्रशासन कार्यालयले यो अवधीमा ५ करोड ७० लाख ७५ हजार रुपैया संकलन भएको छ । त्यस्तै अपराधिक घटना ३ सय ९४ वटा भएका छन् । माघ महिनामा ५५ वटा भए । ७ महिनाको अवधीमा ३ सय ८ जना अभियुक्त पक्राउ परेका छन् । माघ महिनामा ५१ जना पक्राउ परे । सडक दुर्घटनामा २४ जनाले ज्यान गुमाए । माघ महिनामा २ जनाले ज्यान गुमाए । २ सय ८ जना घाईते भए भने माघ महिनामा ५१ जना घाईते भए । ७ महिनामा ४ जनाको हत्या भयो । ७१ जनाले आत्महत्या गरे । माघ महिनामा मात्रै १३ जनाले आत्महत्या गरे । प्राकृतिक प्रकोपका घटना ५ वटा भए । माघ महिनामा एउटा घटना भयो । लागु औषध नियन्त्रण गर्ने क्रममा १९ जना ब्यक्ति पक्राउ गरी २ सय ९८ केजी गाँजा बरामद गरिएको छ । अन्य केहि लागु औषध पनि बरामद भएको छ । जिल्लामा ७ महिनामा ३ सय २२ जना विशिष्ट ब्यक्तिले भ्रमण गरेका छन् । ४२ जना माघ महिनामा नै जिल्ला भ्रमणमा आए । ३ सय ४३ वटा पसल चालु वर्षको ७ महिनामा अनुगमन गरिएका छन् ।
जिल्ला प्रशासन कार्यालय अर्ध न्यायीक निकाय पनि हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नागरिकहरुलाई छिटो छरितो सेवा दिने उद्देश्यले प्रशासन कार्यालयमा दर्ता भएको मुद्दाहरुमा अनुसन्धान सकेर फछ्र्याैट गर्ने क्रमलाई पनि तिब्रता दिएको बताएकी छिन् । चालु वर्षको यो अवधीमा ४३ वटा मुद्दा दर्ता भए । माघ महिनामा मात्रै ६ वटा मुद्दा दर्ता भए । दर्तासँगै माघ महिनामा ४ वटा फछ्र्याैट हुँदा ७ महिनाको अवधीमा २६ वटा फछ्र्याैट भए । १७ थान मुद्दा मात्रै चालु अवस्थामा रहेका छन् । नयाँ संघ संस्था दर्ता चालु वर्षमा १५ वटा भएका छन् । माघ महिनामा ४ वटा दर्ता भए । नविकरण २ सय १० वटा भए । माघ महिनामा ३७ वटा संस्था नविकरण भएका छन् । ११ वटा हातहतियार नविकरण भएका छन् । दलित जनजाती परिचयपत्र २ सय ४७ वटा भएका छन् । माघ महिनामा ४९ वटा जारी भए । जिल्ला प्रशासन कार्यालयबाट अनुगमन÷निरिक्षण, बैठक तथा अन्य नियमित कार्य भईरहेको छ । चालु वर्षमा जिल्ला प्रशासन कार्यालयबाट ७ लाख ३८ हजार र विपदमा परेकालाई ४ लाख ८१ हजार राहत वितरण गरिएको छ ।
जिल्लामा नागरिकता विक्री गर्ने जिल्लाका रुपमा केहि वर्ष अघि विदेशीहरुले अखडा बनाएको खुलासा भएसँगै प्रशासनले गरेको कडाईका बाबजुत चालु वर्षको ७ महिनामा नयाँ नागरिकता बनाउनेहरु भन्दा प्रतिलिपी लिनेहरुको संख्या धेरै देखिएको छ । ‘प्रतिलिपी धेरै बनाउनुमा राष्ट्रिय परिचयपत्र तथा राहदानी मुख्य कारण हो’–सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले भने–‘राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने क्रममा नागरिकतामा कम बुझिने अक्षरहरुलाई प्रष्ट बुझिने देखाउन अर्थात तथ्य तथ्यांकलाई समेत चुस्त दुरुस्त देखिने गरी राख्ने प्रयोजनका कारण प्रतिलिपी लिनेहरुको संख्या बढेको हो ।’ आर्थिक वर्ष २०८०÷२०८१ को माघ मसान्तसम्म जिल्लामा प्रतिलिपी लिनेहरुको संख्या ५ हजार ८ सय ९५ रहेको छ । जबकी यो अवधीमा ५ हजार ७ सय ४० जनाले मात्रै नयाँ नागरिकता बनाएका छन् । १ सय ५५ जनाले नयाँ भन्दा प्रतिलिपी बढी लिएका छन् । माघ महिनामा मात्रै ९ सय ३९ जनाले नयाँ नागरिकता बनाउँदा ९ सय १३ जनाले प्रतिलिपी नागरिकता लिएका छन् । त्यस्तै ३ जनाले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेहरुको संख्या २१ पुगेको छ । नागरिकता परित्याग गरी गैर आवासिय नागरिकता लिनेहरुको संंख्या माघ महिनामा ३ वटा भए । हालसम्म २६ जनाले गैर आवासिय नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । ९ वटा नागरिकता चालु वर्षमा रद्द गरिएको छ । अगिंकृत नागरिकता ३ जनाले पाएका छन् । त्यस्तै जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण बुझाउने ब्यक्तिहरुको संख्या चालु वर्षको ७ महिनामा ११ हजार १ सय १६ पुगेको छ । माघ महिनामा १ हजार ३ सय ८५ जनाले विवरण भरेका छन् । विवरण बुझाएका मध्ये ७ सय ४३ जनाले परिचयपत्र प्राप्त गरेका छन् । माघ महिनामा ४२ जनाले परिचयपत्र लिएका छन् । पटक पटक सूचना प्रकाशन गर्दा पनि नागरिकहरु परिचयपत्र लिन नआएको प्रशासनले जानकारी दिएको छ । राष्ट्रिय परिचयपत्र सँगै धेरै सेवा लिने संख्या राहदानीमा छ ।









