2026 August 29/ 08:54: 08am

बनेपा/जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा काभ्रेपलाञ्चोकमा  माघ २५ गतेबाट शुरु भएको ट्राफिक सप्ताह २०८० हिजो बुधबार सकिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महोत्सवको उद्घाटन गर्दै लार्पवाही गरी चलाएका सवारी साधनबाट हुन सक्ने दुर्घटना न्यूनिकरण गर्न समुदायमा सचेतना गर्नु पर्ने बताईन् । 
    ‘हरेक दिन सवारी दुर्घटनामा नागरिकहरुको ज्यान जाने गरेको छ । जनधनको क्षति रोक्न समुदाय सचेत गराउने अभियानमा ट्राफिक प्रहरी एक्लैले सम्भव छैन’–प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन–‘दुर्घटना न्यूनिकरणका लागि एकले अर्काेलाई दोष दिएर उम्कन सम्भव छैन । सवारी दुर्घटनामा सबै भन्दा धेरै क्षती दुई पांग्रे सवारी साधनबाट हुने गरेको छ ।’ प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्माण भईरहेका सडकमा भएका खाल्डाखुल्डी पुर्ने तथा निर्माणका सामाग्री हटाउन र ब्यवस्थित गर्न निर्देशन दिएको बताईन् । ‘भयावह रुपमा बढिरहेको दुर्घटना न्यूनिकरणका लागि सप्ताहब्यापी सचेतना महत्वपूर्ण हुनेछ’–प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन–‘सडकमा भएको सुशासनले मुलुकको अवस्था बताउँछ । देशको आर्थिक समृद्धी महत्वपूर्ण हुन्छ । कानुन भन्दा ठुलो र महत्वपूर्ण ब्यवहार हुनेछ ।’ 
    प्रदेश प्रहरी कार्यालय बनेपाका प्रमुख एसएसपी किसन सिं थापाले प्रहरी एक्लैले दुर्घटना न्युनिकरण सम्भव नभएकाले सबै क्षेत्रको समन्वय आवश्यक रहेको बताए । जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकालले जिल्लाका हरेक क्षेत्रमा हुने दुर्घटनाबाट हुने जनधनको न्युनिकरण र समुदायको सचेतना कार्यक्रम आवश्यक रहेको बताए । प्रहरी एक्लैले चाहेर दुर्घटना न्यूनिकरण गर्न सम्भव नभएको बताउँदै एसपी ढकालले विद्यालय तहबाटै ट्राफिक सचेतना दिनुपर्ने बताए । 
    बागमती टिपर ब्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले टिपर ब्यवसायी संघ सबैसँग हातेमालो गर्दै दुर्घटना न्युनिकरण सचेतना अभियानमा सक्रिय रहेको बताए । ‘संघ आफैले पनि दुर्घटना न्यूनिकरण सचेतनाका कार्यक्रम गरिरहेको छ’– अध्यक्ष खत्रीले भने–‘कानूनका सबै नियमहरु पालना गर्दै दुर्घटना सचेतना र न्युनिकरणका लागि हामी प्रतिवद्ध छौं ।’ सप्ताहको उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल, कालीजंग गणका गणपती प्रमुख सेनानी प्रकाशबहादुर सिंह, सशस्त्र प्रहरी बलका एसपी अच्युतप्रसाद मजगैया, यातायात ब्यवसायीहरु, विभिन्न विद्यालयका प्रिन्सिपल तथा विद्यार्थीहरु, संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक जनार्दन घिमिरेले बताए । 

यस्तो थियो सप्ताब्हब्यापी अभियान
    ‘ट्राफिक प्रहरीको आब्हान, सुरक्षित र सहज आवागमन’, ‘ट्रफिक नियमको पालना गरौ, सभ्य नागरिकको परिचय दिऔं’ भन्ने नाराका विहिबार २०८० माघ २५ गतेबाट शुरु भएको ट्राफिक सप्ताहको पहिलो दिन प्रभातफेरी सहित लामो दुरीका सवारी साधनहरुमा ब्यानर तथा स्टिकर टाँस गरिएको थियो । चारदोबाटो चोकबाट शुरु भएको प्रभातफेरी बनेपा पार्टी भेन्युमा समापन गरिएको थियो । सप्ताहको उद्घाटन कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । 
    शुक्रबार माघ २६ गते स्वंय सेवक परिचालक गरी सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाउने, सचेतना स्टिकर टाँस गर्ने, पर्चा पम्लेट वितरण गर्ने कार्यक्रम छ । तेश्रो दिन शनिबार अर्थात माघ २७ गते ग्रामिण सडक लक्षित कार्यक्रम, बढि भाडा अनुगमन, माक्स वितरण र सिट क्षमता भन्दा बढि यात्रु अनुगमन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक जनार्दन घिमिरेले बताए । 
    माघ २८ गते आईतबार सवारी चालकहरुसँग ५ मिनेटको कार्यक्रम तथा ओभरटेक गर्नेको विधिको प्रशिक्षण, तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई प्रशिक्षण दिइएको थियो । माघ २९ गते सोमबार  विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम, गाउँगाउँमा आमा समुह टोल सुधार समिति र युवा क्लवहरुलाई समेत ट्राफिक सचेतना गराईएको थियो । फागुन १ गते मंगलबार चालक तथा सह चालकहरुको सामान्य स्वास्थ्य परीक्षण कार्यक्रम तथा सवारी साधनहरुको यान्त्रीक परीक्षण गरिएको थियो । अन्तिम दिन अथार्त सप्ताहको सातौ दिन फागुन २ गते बुधबार ट्राफिक सप्ताहको उपलब्धी र प्रभावकारिताको बारेमा संचारकर्मी लगायत सरोकारवालाहरुसँग अन्र्तक्रिया गरिएको थियो ।