2026 August 30/ 10:48: 50am

भोली फागुन ४ गते देखि ७ गतेसम्म बनेपा स्थित करुणा मार्गमा आयोजना गरिएको 
बृहत्त बृहत्त कृषि महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् ।

    बनेपा/ब्यापारीक नगरी बनेपाको लायकु तथा नालादोबाटो देखी विद्युत प्राधिकरणसम्मको करुणामार्ग सडकमा भोलि फागुन ४–७ गतेसम्म आयोजना गरिएको बृहत्त काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० को तयारी सकिएको छ । 
    महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन् । महोत्सवको सम्पूर्ण तयारी सकिएको मुल आयोजक समितिका संयोजक दिपककुमार गौतमले जानकार दिए । महोत्सवका लागि आवश्यक स्टल, प्रचार प्रसार तथा सांस्कृतिक कार्यक्रमका लागि कलाकारहरु समेत ब्यवस्थापन गरिएको छ । स्टलमा रहने कृषि सामाग्री र कृषि औजारहरुको समेत ब्यवस्थापन गरिएको छ । महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहनेछन् ।
    काभ्रेपलाञ्चोक जिल्लामा आयोजना हुने बृहत्त कृषि महोत्सवले कृषकहरुलाई पेशामा थप आर्कषण गर्ने, कृषि र पशुपालनमा प्रविधी तथा नयाँ यान्त्रिकरणका बारेमा जानकारी गराउने, देखेपछि विश्वास बढ्छ भन्ने सन्देश प्रभाव गर्न विभिन्न स्टल मार्फत कृषि र पशुपालनका नयाँ आयामहरुका बारेमा जानकारी गराउने लक्ष्य लिएको समन्वय प्रमुख दिपकुमार कुमार गौतमले बताए । कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको महोत्सवमा सहभागि गराई कारोवारमा बृद्धी ल्याउने, कृषकहरुलाई आवश्यक पर्ने प्रविधि, उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रर्दशनी मार्फत कृषकहरु विचमा विकसित नयाँ प्रविधि एवं सामाग्री औजार उपकरणहरु प्रति आर्कषण बढाइ उत्पादन लागत घटाउने, दर्शक÷कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधिहरु बारे जानकारी गराउनुका साथै नयाँ प्रविधि अपनाई नसकेका कृषकहरुलाई समेत नयाँ उन्नत प्रविधि अपनाउन प्रोत्साहित गर्ने, जिल्लामा उत्पादन हुने बाली एवं पशुपन्छीहरुको ब्यवसायीक उत्पादन, प्रशोधन एवं बजारीकरणका बारेमा कृषकहरु विच जानकारी प्रवाह गर्ने, कृषकहरुको मनोवल उच्च राख्न ब्यावसायीक कृषकहरुलाई उत्कृटताको आधारमा कदर गर्दै सम्मान गर्ने योजना रहेको कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए ।
    जिल्ला समन्वय समिति काभ्रे, बनेपा नगरपालिका, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, काभ्रेको प्राविधिक समन्वयमा तथा काभ्रे उद्योग बाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला स्थित सबै स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागितामा महोत्सव संचालन हुनेछ । महोत्सवका लागि मुल समिति, सचिवालय तथा विभिन्न उप–समितिहरु गठन गरिएका छन् । महोत्सवको अवधिमा उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार समेत वितरण गरिनेछ ।