2026 August 29/ 07:56: 11am

बनेपा/‘जित्नु भन्दा सहभागिता महत्वपुर्ण छ’ भन्ने मुख्य उदेश्य सहित माघ २७ गते शनिबार बनेपाको पोलिटेक्निकल स्कुलको फुटबल मैदानमा दोश्रो पटक काभ्रे एकता समुहको आयोजनामा ‘किन्डर ओलम्पिक २०८०’ आयोजना हुँदैछ । बनेपाका फाईभ स्टार किन्डर विद्यालयका नेतृत्वकर्ता सविना कारंजित प्रजापति, अनिता प्रजापति, दिपा शिल्पकार, जुनु मानन्धर र नविना श्रेष्ठले किन्डर ओलम्पिकको निरन्तरता दिएका हुन् । 
    २०६८ साल देखि अर्लिचाइल्डहुड एडुकेशन टिचर्स एशोसिएसनले राजधानीमा निरन्तर ओलम्पिक आयोजना गरिरहेको छ । उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा गत वर्षदेखि शुरु भएको ओलम्पिकमा यो वर्ष १९ विद्यालयका ५ सय ७२ जना विद्यार्थीहरुले सहभागिता जनाउनेछन् भने १ हजार ५ सय अभिभावकहरुले सहभागिता जनाउनेछन् । सहभागि विद्यार्थीहरु सबैलाई ओलम्पिक टिर्सट, प्रमाणपत्र, मेडल, ट्रफि प्रदान गरिनेछ । बनेपामा आयोजित पत्रकार सम्मेलनमा ओलम्पिक आयोजक काभ्रे एकता समुहकी सदस्य सविना कारंजित प्रजापतिले सानै उमेरमा नानीबाबुहरुलाई खेलकुद प्रति उत्प्रेरणा प्रदान गर्ने, विभिन्न विद्यालयका साथीहरुसँग एकै ठाउँमा खेल्नका लागि खेल मैदान उपलध गराउन, बाबु नानीहरुको शारीरिक र सामाजिक विकासको लागि अवसर प्रदान गर्न तथा आर्थिक सामाजिक रुपमा पछि परेका तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरुका लागि कोष जम्मा गर्ने बताईन् ।     
    ओलम्पिकमा नर्सरी कक्षाबाट १० जना, एलकेजी कक्षाबाट १४ जना र युकेजीबाट १६ जना गरी ४० जना एउटा विद्यालयबाट सहभागि हुनेछन् । ओलम्पिकमा सहभागि विद्यार्थीहरु मध्ये एउटा स्कुलका एक जना विद्यार्थीले उमेर समुह अनुसार पिक एण्ड ड्रप, ट्राभल रेस, नृत्य, पिटी, तेक्वान्दो, परेड तथा विभिन्न विद्यामा सहभागिता जनाउनेछन् । बालबालिकाहरुले खेलको माध्यमबाट एक अर्कामा थाहा नपाउँदो तरिकाले प्रतिस्पर्धा गर्नेछन् । सानैबाट खेलकुदको महत्व र समुह कार्यमा सहभागि हुने अवसर पाउनेछन् । प्रतियोगितामा ७ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । अन्य समयमा गरिने ब्यवसायीक प्रयोजनका कार्यक्रमहरु भन्दा किन्डर ओलम्पिक विशुद्ध बालबालिकाहरुको क्षमता अभिबृद्धि गर्न महत्वपूर्ण हुने आयोजक दिपा शिल्पकारले बताईन् । ओलम्पिकमा जिल्लाका अर्किड, बेलर किड्स क्यास्टल, काभ्रे सेकेण्डरी स्कुल, इशा मेमोरियल, प्रगति प्रभात, ज्ञानज्योती अंग्रेजी सेकेन्डरी स्कुल, पालिस्ताm नाईटिङ्गेल र स्प्रिङ्ग हिल विद्यालयका विद्यार्थीहरु समुह ‘ए’ मा छन् भने समुह ‘वि’ मा डिस्कभरी मन्टेश्वरी, किडजोन मन्टेश्वरी, आरएमएस किन्डरगार्टेन, बेलर इन्टरनेशनल, इनोभेटिभ एकेडेमी, ग्रेसल्याण्ड, ज्ञानकुन्ज, मिराकल मन्टेश्वरी, काभ्रे सेकेन्डरी स्कुल ‘वि’ र वे टु विईज्डम विद्यालयका विद्यार्थीहरु सहभागि हुनेछन् ।