– फागुन ४–७ बनेपाको लायकुमा बृहत कृषि महोत्सवको भब्य तयारी
बनेपा/जिल्लाको ब्यापारीक नगरी बनेपाको लायकु तथा नालादोवाटो देखी विद्युत प्राधिकरणसम्मको सडकमा फागुन ४–७ गतेसम्म बृहत्त काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० को आयोजना गरिएको छ । महोत्सवको तयारी र महोत्सव अवधीभर हुने गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा महोत्सवका उपलब्धी र त्यसले पार्ने प्रभावका बारेमा समेत मुल आयोजक समिति प्रष्ट भएको संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतमले बताए ।
केहि वर्ष देखि काभ्रेपलाञ्चोक जिल्लाका उत्पादन आलु लगायतका तरकारी बाली, दुध तथा अण्डा र कुखुराको मासु निर्यात हुँदै आएको छ । जिल्लाका नागरिकहरुले प्रयोग गरेर धेरै भएका यस्ता कृषि तथा पशुपालनबाट हुने उब्जनीहरुलाई निर्यात गरिरहेको काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो समय नैराश्यता बढिरहेको छ । बैदेशिक रोजगारमा पलायन हुने युवाहरुको संख्या बढिरहेको छ । उत्पादनका लागि कृषकहरुले लागत अनुसारको मुल्य पाउन सकेका छैनन् । दुध र तरकारी विक्री नहुँदा कृषकहरु पेशाबाट पलायन भएका छन् । यस्तो अवस्थामा काभ्रेपलाञ्चोक जिल्लामा आयोजना हुने बृहत्त कृषि महोत्सवले कृषकहरुलाई पेशामा थप आर्कषण गर्ने, कृषि र पशुपालनमा प्रविधी तथा नयाँ यान्त्रिकरणका बारेमा जानकारी गराउने, देखेपछि विश्वास बढ्छ भन्ने सन्देश प्रभाव गर्न २ सय भन्दा धेरै विभिन्न स्टल मार्फत कृषि र पशुपालनका नयाँ आयामहरुका बारेमा जानकारी गराउने लक्ष्य लिएको समन्वय प्रमुख दिपकुमार कुमार गौतमले बताए ।
कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको महोत्सवमा सहभागि गराई कारोवारमा बृद्धि ल्याउने, कृषकहरुलाई आवश्यक पर्ने प्रविधि, उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रर्दशनी मार्फत कृषकहरु विचमा विकसित नयाँ प्रविधि एवं सामाग्री औजार उपकरणहरु प्रति आर्कषण बढाइ उत्पादन लागत घटाउने, दर्शक÷कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधिहरु बारे जानकारी गराउनुका साथै नयाँ प्रविधि अपनाई नसकेका कृषकहरुलाई समेत नयाँ उन्नत प्रविधि अपनाउन प्रोत्साहित गर्ने, जिल्लामा उत्पादन हुने बाली एवं पुशपन्छीहरुको ब्यवसायीक उत्पादन, प्रशोधन एवं बजारीकरणका बारेमा कृषकहरु विच जानकारी प्रवाह गर्ने, कृषकहरुको मनोवल उच्च राख्न ब्यावसायीक कृषकहरुलाई उत्कृटताको आधारमा कदर गर्दै सममान गर्ने योजना रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । जिल्ला समन्वय समिति काभ्रे, बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेको प्राविधिक समन्वयमा तथा काभ्रे उद्योग बाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिलल स्थित सबै स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागितामा महोत्सव संचालन हुनेछ । महोत्सवका लागि मुल समिति, सचिवालय तथा विभिन्न उप समितिहरु गठन गरिएका छन् ।
महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्बन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहनेछन् । महोत्सवका लागि प्रतिस्टल २० हजार शुल्क तोकिएको छ । महोत्सव सम्पन्न पछि एक सयवटा कृषि तथा पशुपंक्षी सम्वन्धी फार्महरुमा कृषकहरु ब्यवसायिक भई उत्पादनमा बृद्धि हुने, जिल्लाका विभिन्न स्थानीय तहमा कृषि एवं पशुजन्य उत्पादन तथा ब्यवसायका लागि उत्कृष्ट गन्तब्य बन्न सक्ने, उपत्यकाका सबै तीन जिल्लामा कृषिजन्य उत्पादनको प्रभावकारी बजारीकरणको लागि आवश्यक आधार तयार गर्ने, युवाहरु विदेशिने क्रमलाई न्युनीकरण गर्ने लगायतका उपलब्धीको अपेक्षा गरिएको छ ।









