– तीन विधेयक स्विकृत
धुलिखेल/धुलिखेल धुलिखेल नगरपालिकाको नगर सभाको चौधौं अधिवेशन सम्पन्न भएको छ । विधेयक अधिबेशनका रुपमा रहेको नगर सभाले तीनवटा नयाँ विधेयक सर्वसम्वतले पास गरेको छ भने एउटा विधेयक शंशोधन गरेको छ ।
नगरपालिकाका प्रमुख तथा सभा अध्यक्ष अशोक ब्यान्जुको अध्यक्षतामा सम्पन्न सभमा धुलिखेल नगरपालिकाको भवनमा उर्जा प्रभावकारिता कायम गर्ने सम्बन्धी मापदण्ड २०८० विधेयक, नगरपालिकाको भवन निर्माण मापदण्ड २०८० विधेयक अध्यक्ष अर्जुन न्यौपानेले पेश गरेका थिए । त्यस्तै नगरपालिकाको वित्तिय साक्षरता रणनीति २०८०–२०८५ विधेयक वडा अध्यक्ष नारायणप्रसाद वडालले प्रस्तुत गरेका थिए । नगरपालिकाको संस्था दर्ता सम्बन्धी ऐन, २०७५ प्रथम संशोधनका लागि बनेको विधेयक २०८० वडा अध्यक्ष विनोद गौतमले प्रस्तुत गरेका थिए । तीनवटा नयाँ र एउटा संशोधित विधेयक सर्वसम्मतले पास भएको सभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए ।
सभाको शुन्य समयमा सदस्यहरुले उठाएका विकास निर्माण तथा जनजीविकाका सवालका सन्दर्भमा नगर सभा अध्यक्ष अशोक ब्याञ्जुले जवाफ दिएका थिए । धुलिखेल नगरपालिकाले दिगो विकास लक्ष्यका लागि गरेको योगदान तथा नागरिकमैत्री सेवालाई प्रभावकारी बनाउन खेलेको भूमिकाका बारेमा जानकारी गराउँदै नगर प्रमुख तथा सभा अध्यक्ष अशोक ब्याञ्जुले नागरिकहरुका हरेक आवश्यकता पुरा गर्ने गरी स्थानीय सरकारका कार्यक्रमहरु केन्द्रित गरिनु पर्ने बताए । संघ र प्रदेश सरकारका दायित्व र जिम्मेवारी समयमै पुरा नहुँदा स्थानीय सरकार प्रति नागरिकहरुले हेर्ने दृष्टिकोण फरक भएको बताउँदै नगर प्रमुख ब्याञ्जुले अधिकार क्षेत्र हस्तक्षेप गर्न पनि कठिन हुने दायित्व पनि पुरा नगर्ने अवस्थाका कारण नगरबासिहरुले केहि केहि विषयमा असहजता महसुस गरेको बताए । सभामा उपप्रमुख निराजन जंगमले अर्ध वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।









