६ महिनाको अवधीमा काभ्रेपलाञ्चोक जिल्ला अदालतमा ९९ वटा मुद्दा सहकारीसँग सम्वन्धित छन् । सहकारीहरु विरुद्ध १३ वटा मुद्दा दर्ता भएका छन् भने सहकारीले ऋण नउठेको भन्दै दर्ता गरेका मुद्दा ८४ थान छन् । बैकिङ्ग कसुर सम्वन्धी ३१ वटा मुद्दा दर्ता भएका छन् । पछिल्ला केहि महिना ऋण असुल्न र बचत फिर्ता गर्न सहकारी र बचतकर्ता दुबैले मुद्दाका सहारा लिन थालेका छन् । प्रहरी कार्यालयमा ५७ वटा उजुरी बैकिङ्ग कसुरका छन् ।
मोतीराम तिमल्सिना
धुलिखेल
‘हातले दियो खुट्टालाई सास्ति’ त्यहि उखान अहिले सहकारी र बंैकहरुमा लागु हुन थालेको छ । तोकिएको अवधी भित्र ऋण नतिरेकै कारण सहकारीहरु अदालत धाउन बाध्य हुन थालेका छन् । सहकारीहरुले बचत फिर्ता नगरेको भन्दै बचतकर्ताहरु पनि अदालत पुग्न थालेका छन् । समुदायमा आधारित सहकारीहरुमा समुदायकै विश्वास हुनु पर्नेमा पछिल्ला केहि वर्ष समुदाय र सहकारी बीच टकराव देखिन थालेको छ ।
धितो, धितो जमानी, ब्यक्ति जमानी तथा ब्यक्तिगत ऋण लिएकाहरुले नतिरे पछि सहकारीहरु कानूनी प्रकृयाका लागि अदालत धाउन ब्यस्त भएका छन् । सहकारीहरुले यतिखेर एक जना कर्मचारी र एक जना कानून ब्यवसायीलाई सहकारीको ऋण असुली, चेक अनादार, बैकिङ्ग कसुर तथा अन्य विषयका मुद्दा हेर्न जिम्मेवारी नै तोकेका छन् । पछिल्ला समय सहकारी प्रति नागरिकको र नागरिकहरु प्रति सहकारीको विश्वासको खाडल बढिरहेका बेला जिल्ला अदालत काभ्रेपलाञ्चोकको पछिल्ला ६ महिनाको तथ्याङ्क मात्रै हेर्ने हो भने पनि ९७ वटा मुद्दा सहकारी सम्बन्धी छन् ।
६ महिनाको अवधीमा काभ्रेपलाञ्चोक जिल्ला अदालतमा ९९ वटा मुद्दा सहकारीसँग सम्वन्धित छन् । सहकारीहरु विरुद्ध १३ वटा मुद्दा दर्ता भएका छन् भने सहकारीले ऋण नउठेको भन्दै दर्ता गरेका मुद्दा ८४ थान छन् । बैकिङ्ग कसुर सम्बन्धी ३१ वटा मुद्दा दर्ता भएका छन् । पछिल्ला केहि महिना ऋण असुल्न र बचत फिर्ता गर्न सहकारी र बचतकर्ता दुबैले मुद्दाका सहारा लिन थालेका छन् । दर्जन भन्दा धेरै सहकारीका संचालकहरु फरार भएका छन् भने ५० भन्दा धेरै सहकारी बनेपा क्षेत्रमा मात्रै संकटमा छन् । हजारौ बचतकर्ताहरुले धेरै ब्याज पाउने आशमा जम्मा गरेको रकम जोखिममा परेको भए पनि बचत फिर्ता हुने र ऋण असुल हुने गरी तीन तहकै सरकार सक्रिय हुन सकेका छैनन् ।
बनेपामा रहेका रिलायन्स, सत्कार, जनमैत्री, पुण्यश्वर, द्रौपदा, अलगपुरी बचत लगायतका १३ सहकारी विरुद्ध बचत फिर्ता गर्न सकेका छैनन । बचतकर्ताहरुले ति सहकारीका संचालकहरु विरुद्ध मुद्दा दर्ता गरेका छन् । त्यस्तै बैकिङ्ग कसुरका १३ वटा मुद्दा पनि त्यस्तै प्रकृतिका छन् । हिमाल बचत, आभाष, चण्डेश्वरी, मोडल, स्वर्गद्वारी, सक्रिय, विन्धबासिनी, बनेपा, शुलभ, स्वर्ण लक्ष्मी, गोर्खा विकास, ज्योती बचत, माकादुम, ओम शान्ति, आर्थिक विकास मित्र बचत, भक्तेश्वर बहुउद्देश्यीय, माछापुच्छ्रे, हाम्रो सहायता, आईकोनिक, बज्रबाराही, प्रिमियर, भिजन, शक्ति बचत लगायतले सहकारीको ऋण नतिरेको भन्दै ऋणी विरुद्ध मुद्दा दायर गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा भने अनुचित लेनदेन तथा मिटर ब्याज सम्बन्धी ३६ वटा निवेदन दर्ता भएका छन् । ११ वटा मिलापत्र भएका छन् भने १५ वटामा सहमति भएको छ । ८ वटा छलफलको क्रममा रहेको र २ वटा सम्पर्कमा नआएको डिएस्पी राजकुमार श्रेष्ठले जानकारी दिए । सहकारी ठगी सम्वन्धी ३ वटा मुद्दा दर्ता भएका छन् । सहकारीले बचत फिर्ता नदिएको भन्दै १४ वटा निवेदन दर्ता भएका छन् । ठगीमा एउटा मुद्दा पेन्डिङमा छ । एउटा चालु छ भने अर्काे अदालतमा छ । बैकिङ्ग कसुर सम्वन्धी ५७ वटा मुद्दा फर्छाैट हुन बाँक छ । प्रहरीले ४२ वटा फर्छाैट गरेको छ । ६२ वटा जाहेरी दरखास्तका मुद्दा दर्ता गर्न बाँकी छ ।









