धुलिखेल/सरकारले खरका छाना मुक्त बनाउने अभियान घोषणा गरेको बर्षाै भई सकेको छ । भुकम्प पछि काभ्रेपलाञ्चोक जिल्लामा खरका छाना भएका घरहरुको संख्या शुन्य हुने अपेक्षा गरिएको थियो । तर पनि अझै जिल्लाका १३ वटै पालिकाहरुमा २ सय ३० वटा परिवारका घरहरुमा खरको छानो रहेको तथ्याङ्क सार्वजनिक भएको छ । अधिकांश घर परिवारले भुकम्पबाट घर क्षति भएको विवरण पेश गरेर सरकारले उपलब्ध गराएको पुनर्निमाणको अनुदान लिएका छन् ।
जिल्लाका १३ वटा पालिकाहरु मध्ये महाभारत गाउँपालिकामा सबैभन्दा धेरै ३८ वटा घरमा खरको छानो रहेको छ । उक्त पालिकामा ३ हजार १ सय ७४ घरपरिवार छन् । जसमध्ये ३ हजार ३५ घर परिवारमा जस्ताको छानो छ । ३४ वटा घर सिमेन्टबाट बनेर ढलान भएका छन् । टायलको छानो भएका ५ वटा, ढुंगाको छानो भएका ६० वटा र काठको फल्याक भएको एउटा घर छ । एउटा घरमा स्याउलाको छानो छ । डाँडापारीकै अर्काे पालिका खानीखोलामा भने २२ वटा ढलानका घर बनेका छन् । १२ वटा घर परिवारको खरका छाना छन् । ६ वटामा टायल, ९ वटामा ढुंगा, १ वटा काठको र २ वटा स्याउलाको छानो छ । जसमा २ हजार ३ सय ४६ वटा घर जस्ताका बनेका छन् । २ हजार ३ सय ९८ घर परिवार खानीखोलामा रहेका छन् ।
जिल्लामा सबैभन्दा धेरै घरधुरी बनेपामा छन् । १६ हजार ६ सय ९८ घर परिवार संख्या रहेको बनेपामा ३३ वटा घर अझै खरको छानोको छन् । चौरीदेउरालीमा १६ वटा, भुम्लुमा ४ वटा, मण्डनदेउपुरमा १२ वटा, बनेपामा ३३, धुलिखेलमा १५, पाँचखालमा २१, तेमालमा २२, नमोबुद्धमा ६, रोशीमा २५, महाभारतमा ३४ र खानीखोलामा २२ गरी २ सय ३० वटा घर परिवार काभ्रेमा अझै पनि खरको छानोमा रहेका छन् । काठको फल्याक राखेका घर परिवार ६६, ढुंगाको छानो भएका घर ५ सय २ वटा र टायल तथा झिंगटी भएका घर परिवारको संख्या १ हजार २ सय ७७ छन् । ३८ वटा घर परिवारले त्रिपाल, स्याउला तथा विभिन्न किसिमबाट छानो ढाकेका छन् । ९१ हजार ३ सय ३० घर परिवार मध्ये ५२ हजार १ सय ५९ वटा घरमा जस्ताको छानो रहेको छ । ३७ हजार ५८ घर परिवारले ढलान घर बनाएका छन् ।
प्रतिशतका आधारमा उक्त संख्यालाई राष्ट्रिय जनगणना २०७८ काभ्रेपलाञ्चोक जिल्लामा परिवारले प्रयोग गरिरहेको आवासीय एकाईहरुको अवस्था मध्ये ५७.११ प्रतिशत घर परिवारको छाना जस्ता/टिन/च्यादरबाट, ४०.५८ प्रतिशत घर परिवारको छाना सिमेन्ट/ढलालबाट, ०.२५ प्रतिशत खर/पराल/छ्वालीबाट, १.४० प्रतिशत घरपरिवरको छाना टायल/खपडा/झिँगटीबाट, ०.५५ प्रतिशत घर परिवारको छाना ढुंगा/स्लेटबाट, ०.०७ प्रतिशत घर परिवारको छाना काठ÷फल्याकबाट, ०.०४ प्रतिशत घर परिवारको छाना अन्य सामाग्रीको प्रयोगबाट बनेका छन् ।









