2026 August 29/ 06:40: 57am

धरान/काभ्रे बस प्राईभेट लिमिटेडमा आबद्ध ब्यवसायीहरुको दोश्रो भेला होटल धरान किचेन धरान सुनसरीमा भएको छ । पर्यटकीय क्षेत्र सुनसरी तथा आसपासका क्षेत्रको अवलोकन भ्रमण तथा कोशी प्रदेशमा भएको यातायात क्षेत्रको अवस्थाका बारेमा जानकारी लिदै काभ्रे प्रालीको भेला सम्पन्न भएको अध्यक्ष बर्ण शाक्यले बताए । 
    बदलिँदो चुनौती तथा आगामी योजनाका सन्र्दभमा ब्यवसायीहरु बीच छलफल भएको अध्यक्ष शाक्यले बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले देशभरका यातायात ब्यवसायीका अलावा अन्य क्षेत्रको उद्योग ब्यवसायमा संकट उत्पन्न भएको बताए । ब्यवसायी मैत्री कानून निर्माण नहुनु, भएका कानूनहरु कार्यान्वयनमा ध्यान नदिनु र ब्यवसायमा शुरु भएको अस्वस्थ प्रतिस्पर्धाका कारण ब्यवसायी र यात्रुहरु दुवै संकटमा परेको बताए । कार्यक्रममा नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका पुर्ब अध्यक्ष हिरा उदासले यातायात ब्यवसायीहरु कम्पनी मार्फत संचालन हुँदा भएका संकटहरु समाधान गर्न सरकार तत्पर नभएको बताए । 
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश प्रमुख सरोज श्रेष्ठले तीन तहका सरकारको अलग अलग कानून निर्माण गरेर ब्यवसायीलाई संकट उत्पन्न गराएको बताए । कोशी प्रदेशमा भएका कानूनहरु नेपालकै नमुना कानून भएकाले संघ र स्थानीय सरकारले त्यसलाई अनुसरण गर्नु पर्ने बताए । भएका कानूनहरुको ब्यवस्थापन तथा कार्यान्वनका लागि ब्यवसायीहरुको एकता आवश्यक रहेको बताएका थिए । कार्यक्रममा धरान उधोग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, नेपाल यातायात व्यवसायी संघका जिल्ला समन्वय समितिका अध्यक्ष तथा सिन्धु हेलम्बु यातायात प्रालिका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बागमती टिपर व्यवसायी संघका अध्यक्ष सुरेश खत्री, गणेश हिमाल तराई यातायात सेवा प्रालिका अध्यक्ष आत्माराम थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे पुण्यवती प्रालीका नरेन्द हल्लुवाई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट ईकाईका अध्यक्ष अर्जुन लामा लगायतले पछिल्लो समय यातायात क्षेत्रले भोगिरहेका समस्याका बारेमा धारणा राखेका थिए ।
    सभामा विभिन्न समितिका प्रतिनिधिहरु, कार्यालय प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । प्रालीमा आबद्ध १ सय २५ भन्दा धेरै ब्यवसायी भेलामा सहभागी भएका थिए । भेलामा काभ्रे बस प्रालीमा आवद्ध ब्यवसायीहरुका अलावा जिल्लामा संचालन हुने विभिन्न बस, टिपर तथा अन्य सवारी साधनका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलाको उद्घाटन नेपाल उधोग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैधले गरेका थिए । काभ्रे बस प्रालिका अध्यक्ष वर्ण शाक्यको अध्यक्षतामा संचालित कार्यक्रममा कम्पनीका तर्फबाट भएका आर्थिक, प्रगति तथा बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । काभ्रे बस प्रालीले जिल्लाको धुलिखेलबाट काठमाडौसम्म नियमित सेवा उपलब्ध गराउँदै आएको छ भने ग्रामिण भेगमा पनि यातायात सेवा संचालन गरिरहेको छ । सिन्धुली बर्दिवास अन्तरगत काभ्रेपलाञ्चोक लगायतका अन्य जिल्लाहरुमा समेत सेवा उपलब्ध गराएको प्रालिले विकट क्षेत्र महाभारत, खानीखोला, तेमाल, रोशी लगायतका क्षेत्रमा सेवा सूचारु गरेको छ ।