चालक र सह–चालकलाई पुरस्कार नै पुरस्कार
बनेपा/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोक, ईलाका प्रहरी कार्यालय बनेपा तथा बागमती टिपर ब्यवसायी संघ काभ्रेपलाञ्चोकको संयुक्त आयोजना तथा हिमालयन एभरेष्ट इन्सुरेन्स कम्पनी लिमिटेडको सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सडक दुर्घटना न्युनिकरण, चालक सहचालकलाई प्रशिक्षण तथा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
दुर्भटना न्यूनीकरण गर्ने अभियानका क्रममा गोला प्रथाबाट दुर्घटना नगराउने चालकहरुमध्ये मोहनकुमार थापालाई वासिङ्ग मेशिन प्रदान गरिएको थियो । त्यस्तै तुलबहादुर श्रेष्ठ, टेकराज बास्तोला, बुद्धरत्न उदास, कृष्ण तामाङ, शम्भु मोक्तान, इमा बहादुर तामाङ र अनिल तामाङलाई हट वाटर जग परेको छ भने विरेन्द्र गिरीलाई ईलेक्ट्रिक राईस कुकर, नरबहादुर महतलाई इलेक्ट्रिक एयर फायर परेको छ । पुर्व अध्यक्ष शेरबहादुर कुँवरले तीन जना चालकलाई गाडीको ट्युव उपहार दिए । उपहार पाउनेहरुमा गोला प्रथाबाट छानिएकाहरु निर्मलकुमार माझी, दिपेन्द्रकाजी श्रेष्ठ र प्रकाश अधिकारी छन् । सोहि क्रममा विरामी भई उपचार गराएका चालक राजन श्रेष्ठलाई ५० हजारको चेक प्रदान गरिएको थियो । बागमती टिपर ब्यवसायी संघले जिल्लामा रहेका ५२ वटा उद्योगलाई टिपरमा ओभरलोड नभरिदिन पत्राचार गरेको छ । वासिङ्ग मेशिन प्राप्त गरेका चालक श्रेष्ठले २०७७ सालदेखि चलाउन शुरु गरेको टिपर एक दिन पनि दुर्घटनामा नपरेको तथा गोलामा पनि वासिङ्ग मेशिन नै प्राप्त गरेकोमा खुशी लागेको बताए । संघले टिपरबाट भएको दुर्घटनाका कारण अपाङ्गता भएका ब्यक्तिहरुलाई भत्ता दिने तथा उनका परिवारलाई समेत सहयोग गर्ने योजना बनाएको अध्यक्ष खत्रीले बताए । सवारी धनीहरुलाई समेत संघले विभिन्न खालका सहयोग गर्दै आएको छ ।
‘दुर्घटना हुनै नदिनुस्, दुर्घटना भई हालेमा नभाग्नुस्, मानवीय संवेदना राखेर तत्काल उपचारका लागि सहयोग पु¥याउनुस, तिब्र गति रोक्नुस्, ओभरलोड नबोक्नुस्’–प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्–‘मर्यादित र अनुशासित भएर तनाव रहित अवस्थामा मात्रै सवारी साधन संचालन गर्नुस् । सवारी साधनको अवस्था हेर्नुस् । तपाई आफ्नै स्वास्थ्य अवस्था हेर्नुस् । घर परिवार र आफन्तलाई पनि सम्झनुस् । म कहिल्यै दुर्घटना हुने गरी सवारी साधन चलाउँदिन भनेर सपथ लिनुस् ।’ प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चालक स्वंयम तनाव रहित अवस्थामा हुनु पर्ने बताउनुभयो । दुईसय भन्दा धेरै चालकहरुलाई प्रशिक्षण दिदै प्रमुख जिल्ला अधिकारी शर्माले ट्राफिक नियम अनिवार्य पालना गर्न, मर्यादित पोशाक लगाउन, सवारी साधन चलाउँदा मादक पदार्थ र लागु औषध सेवन नगर्न अनुरोध गरिन् । राती मात्रै सवारी चलाउँदा चुनौती र समस्या धेरै भएको बताउँदै प्रमुख जिल्ला अधिकारी शर्माले यस्तो अवस्थामा पनि मुलुक, राष्ट्र निर्माणका लागि हेभि सवारी साधन आवश्यक भएकाले सडक हरेक क्षेत्रमा प्रयोग हुने भएकाले त्यसको ख्याल गर्न अनुरोध गरिन् ।
प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले दुघर्टना कसैले चाहेर नहुने भएकाले त्यसको न्यूनीकरणका लागि सबै पक्ष चनाखो हुनुपर्ने बताए । ‘दुर्घटना पछिको अवस्था गम्भीर र कहालीलाग्दो छ, परिवारको विचल्ली भएको छ, बाँचेकाहरु पनि अपाङ्ग, अशक्त भएका छन्’– एसपी भाग्येन्द्र पुरुष ढकालले भने–‘चालकहरुको अवस्थालाई ध्यान दिदै सवारी साधन समेत नियमित परिक्षण गरेर तोकिएको गति र नियम अनुसार संचालन गर्दा दुर्घटना कम गराउन सकिन्छ ।’ बामगती टिपर ब्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले ओभरलोड नबोक्न, तिब्र गतिमा सवारी साधन नचलाउन, आफ्नो कारण दुर्घटना नै हुन नदिन चालकहरुलाई निर्देशन दिए । ‘तपाईका कारण तपाईहरुले चलाईरहेको सवारी साधन दुर्घटनामा नपरोस्’–अध्यक्ष खत्रीले भने– ‘दुर्घटना पछिका अवस्था कहालीलाग्दा छन् । भयावह अवस्था रोक्न दुर्घटना न्युनीकरणको विकल्प छैन । दुर्घटना न्युनीकरण हुन सके ब्यक्ति र परिवारको खुशी नचुडिने भएकाले चालकहरुलाई ध्यानपूर्वक सवारी साधन संचालन गर्न अध्यक्ष खत्रीले अनुरोध गरे । ‘तपाईहरुले लार्पवाही रुपमा सवारी साधन संचालन गरेर भएको दुर्घटनामा संघ अभिभावक बन्न सक्दैन’–अध्यक्ष खत्रीले भने–‘तपाईहरुले गल्ति नगर्दा नगर्दै भएको दुर्घटनामा संघ अभिभावक बनिरहेको छ ।’ संघले चालकहरु विरामी हुँदा उपचारका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ भने अन्य सुविधाहरु पनि राखेको छ । नियमित नविकरण गराउने चालकहरुका लागि मात्रै उक्त सुविधा छ ।
दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रममा ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी लालध्वज सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक जनार्दन घिमीरे, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना, बागमती टिपर ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष नविन बैद्य, सचिव राजेश खत्री लगायतले बामगती टिपर ब्यवसायी संघले दुर्घटना न्यूनीकरणका लागि खेलेको भूमिकाको चर्चा गरेका थिए । हिमालयन एभरेष्ट इन्सुरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयबाबु बादेले दुर्घटना न्यूनिकरण हुँदा ब्यक्तिको जीवन र सम्पती समेत क्षति नहुने भएकाले सचेत र सजग भएर संचालन गर्न अनुरोध गरे ।
काभ्रेपलाञ्चोक जिल्लाबाट दैनिक करिव एक हजार भन्दा धेरै टिपरहरु राजधानी उपत्यका प्रवेश गर्ने गरेका छन् । जिल्लामा केहि महत्वपूर्ण आयोजनाहरु संचालन भईरहँदा दिउँसो संचालन हुने सवारी साधनको तुलनामा टिपरबाट हुने दुर्घटनामा ९० प्रतिशत कमी आएको छ । तर पनि बामगती टिपर ब्यवसायी संघले चालक, सहचालकका कारण हुने दुर्घटना न्यूनीकरण गर्न तीन तीन महिनामा दुर्घटना नगराउने चालक सहचालकहरुलाई पुरस्कृत गर्दै दुर्घटना नगराउने प्रतिबद्धता सहितको सपथ गराएको हो ।









