2026 August 28/ 05:08: 06am

मोतीराम तिमल्सिना
खानीखोला

    २०८० पौष ५ गते विहीबार खानीखोला र महाभारत गाउँपालिकाका विभिन्न क्षेत्रमा पुगेका वागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले जनयुद्ध सम्झिए । उक्त क्षेत्रमा युद्धको कमाण्ड गरेका माओवादी नेता दुलालले महाभारतको सोलाभञ्ज्याङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्त क्षेत्रमा आफुले जीवन मरणको संघर्ष गरेको बताए । २०५२ फागुन १ गतेबाट सुरु भएको १० वर्षे जनयुद्धको क्रममा महाभारतको घर्तिछापमा भएको लडाँइको कमाण्डर थिए उनी । घर्तिछापमा भएको भिडन्तमा सेनाले नाईट भिजन हेलिकप्टरबाट फायर गरेको थियो । 
    महाभारत, खानीखोलाका अलावा काभ्रेको पनौतीमा भएको भिडन्तका बारेमा पनि मन्त्री दुलालले स्मरण गरे । मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक जिल्ला माओवादी जनमुक्ति सेनाका लागि परेड खेल्ने र सुरक्षित ठाउँ मानिन्थ्यो दुलालले सम्झिए । महाभारत ठुलो आधार दिएको ठाउँ, यति धेरै विश्वास जितेको ठाउँ र तपाइहरुले यति ठुलो योगदान गर्नुभएको ठाउँ हो महाभारत । महाभारत गाउँपालिकाका घर–घर, पाखा–पखेरा, वस्तीहरुमा परिवर्तनगामी आन्दोलनका क्रममा यात्रा गरिसकेको स्मरण गरे । २०७४ र २०७९ मा निर्वाचित भएका सिन्धुपाल्चोक जिल्लाका युवराज दुलाल बागमती प्रदेशमा पटक–पटक मन्त्री भए । कहिले स्वास्थ्य, कहिले अर्थ कहिले भौतिक पूर्वाधार मन्त्री भएका दुलाल काभ्रेका विकट पालिका खानीखोला र महाभारतमा अलिक धेरै जाने आउने गरिरहे । हुन त उनी बामगती प्रदेशका सबै स्थानीय तहमा पुगेको दाबी गर्छन । जनयुद्ध सकिएको १५ वर्ष पछि दुलालले भिडन्तका सबै घटना सम्झन पुगे । जनयुद्धलाई स्मरण गर्दै उनले भने, मलाई एउटा ठुलो लडाईको सम्झना छ । जनयुद्धको क्रममा तत्कालीन शाही सेनासँग नार्केमा एउटा लडाँइ परेको थियो । त्यहाँ हामीले आंशिक रुपमा लडाँई जित्यौं । त्यहाँबाट हाम्रो आधार क्षेत्र महाभारतको घर्तिछाप, बनखु, छोटेसानमा बस्न भनेर फर्कदै गर्दा यहि घर्तिछापमा तत्कालीन शाही सेनाले हेलिकोप्टरबाट आएर बाटो छेक्यो । त्यसपछि, घर्तिछापमा हाम्रो दोहोरो भिडन्त भयो । त्यहाँ केहि हताहती भयो, हामीले केहि थान हतियारहरु कब्जा ग¥र्यांै । यहाँबाट फेरि केहि अगाडी बढेर सिन्धुली पुग्यौं । सिराहाको बन्दीपुरमा करिब करिब मिति बिर्सिएँ चैत÷बैशाखको समयमा ठुलो लडाँई थियो र त्यहाँबाट फर्कने क्रममा हामी सुनकोशीको किनारै किनार आउँदाखेरी सान्नानी भन्ने ठाउँमा पनि लडाई भएको थियो । हामी त्यहाँबाट लडाई लड्दै लड्दै फर्कियौं । ठुलो लडाँई लडेपछि आराम गर्नुपर्ने हुन्छ, फेरि अर्को तयारी गर्नुपर्ने हुन्छ । त्यो तयारी र आरामको लागि सिराहाको बन्दीपुरदेखी आफ्नो आधार क्षेत्र ठानेर हामी महाभारत आइपुगेका थियौं । महाभारत ठुलो आधार दिएको ठाउँ, यति धेरै विश्वास जितेको ठाउँ र तपाईहरुले यति ठुलो योगदान गर्नुभएको ठाउँ हो महाभारत । 
    व्यवस्था परिवर्तनका लागि धेरै रगत, पसिना बगेको छ । जनताको धेरै ठुलो त्याग तपस्या छ । त्यसै रातारात व्यवस्था परिवर्तन भएको छैन । यो व्यवस्था आएको थिएन भने आज हामी यसरी सोलाभञ्ज्याङमा बसेर यति ठुला–ठुला करोडौं करोडका बाटो, पुल शिलान्यास गर्ने र महाभारतमा पक्किबाटो बनाउने कुराको सपना देख्न पनि सक्ने थिएनौं । त्यो व्यवस्थादेखी यो व्यवस्थासम्म आइपुग्दा हामीले धेरै दुःख गरेका छौं । मेहनत गरेका छौं । त्यसैले आज विकासको भागेदार तपाईहरु बन्नुभएको छ । तपाईहरुलाई म बधाई दिन चाहन्छु । त्यसअघि खानीखोलामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले खानीखोला क्षेत्रपनि व्यवस्था परिवर्तनको क्रममा आहोरदोहोर गर्ने क्षेत्र भएको बताए । उनले भने, पनौतीको लडाँइमा घाइते भएर म कामीडाँडा–तालढुंगा हुँदै उपचार गर्नको लागि छिमेकी देशसम्म यहि बाटो हुँदै गएको थिएँ । नार्के घर्तिछापको लडाँइमा म आफैंले कमाण्ड गरेको थिँए । मकवानपुरको वागमती गाउँपालिकाको झुर्झुरेको लडाँईमा पनि म घाइते भएको थिएँ । डाँडापारी बनखुदेखी तालढुंगासम्मको यो भुगोल त्यतिबेला छापामारहरु, जनमुक्तिसेनाहरु धेरै बस्ने क्षेत्र हो । हामीले पनि ठाउँठाउँमा तालिम नै गरेका थियौं । व्यवस्था परिवर्तनका लागि जसरी हामी यहाँ बस्यौं त्यसैगरी यहाँका जनताको पनि ठुलो योगदान छ । हामी बसेको मात्रै होइन यो भुगोलले हामीलाई राखेको हो । यो भुगोलले परिवर्तनलाई सहयोग गरेको हो । त्यसैले काभ्रेको रोशी गाउँपालिकामा पर्ने विपी राजमार्ग देखि महाभारत, खानीखोला हुँदै मकवानपुरको झुरझुरे स्थित मदन भण्डारी राजमार्ग जोड्ने प्रमुख राजमार्ग जनमुक्ती मार्ग राखिएको हो । खानीखोला र महाभारतमा माओवादीले विकासका नयाँ आयामहरु ल्याउन लागेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । 

के भएको थियो पनौतीमा ? 
    संयुक्त राष्ट्रसङ्घ नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र सरकारी सुरक्षाफौज बीच भएका आक्रमण र भिडन्तहरूको सन्दर्भमा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घनबारे गरिएका अनुसन्धानहरू निष्कर्ष तथा सिफारिसहरू ( जनवरी—मार्च २००६) ले पनौतीमा नेकपा माओवादी र शाहि नेपाली सेना बीच भएको भिडन्तका बारेमा सार्वजनिक गरेको प्रतिवेदनमा उक्त घटना उल्लेख गरिएको छ । 
    २०६२ माघ २४ गते सोमबार । पनौती नगरपालिका, काभ्रे जिल्ला सन् २००६ फेब्रुअरी ६ मा, राति ८ः३० बजे, जनमुक्ति सेनाले पनौती नगरपालिका भवनको वरपर बस्ती भएको क्षेत्रमा, पनौतीस्थित सेनाको क्याप्म र काभ्रेकै धुलिखेलस्थित सेनाको गण नं. ९ मा आक्रमण ग¥यो । जनमुक्ति सेनाको फौजमा ठूलो सङ्ख्यामा बालबालिकाहरू रहेका बयानहरू उच्चायोगले फेला पा¥यो । कारबाहीका क्रममा कतिपय सर्वसाधारणका घरहरू जनमुक्ति सेनाका सदस्यहरूले लड्नका लागि आफ्नो कब्जामा लिएको र त्यहिँबाट नगरपालिका भवनमा रहेका सुरक्षाकर्मीहरूमाथि आक्रमण गरेको कुरा उच्चायोगले पुष्टि ग¥यो । गोली हानाहानमा एक सर्वसाधारणको मृत्यु हुनुका साथै नगरपालिका भवनमा आंशिक रूपले क्षति पुग्यो । पनौतीस्थित सैनिक क्याम्पमा भएको आक्रमणमा जनमुक्ति सेनाका सदस्यहरूले आक्रमणका लागि गोरखनाथ प्राथमिक विद्यालयको एक भाग प्रयोग गरेको र गोली हानाहानमा सर्वसाधारणलाई क्षति पुग्ने गरी खतरामा पारेर सोही ठाउँबाट बस्ती भएको क्षेत्रमा आक्रमण सञ्चालन गरेको थियो । थप हताहती हुन नदिन शाहि नेपाली सेनाले गरेका प्रयासहरूलाई ओएचसीएचआरले पुष्टि ग¥यो । सेनाको एउटा हेलिकप्टर सो क्षेत्रमा रहेको र यसले त्यहाँ बमबारी गर्ने हो कि भनेर त्रस्त भएको सर्वसाधारणले उच्चायोगलाई बताए । सन् २००६ फेब्रुअरी ११ मा शाही सेनाको पनौतीस्थित गुल्मका एक वरिष्ठ अधिकारी र धुलिखेलस्थित सैनिक गणका अर्का वरिष्ठ अधिकारीले उक्त क्षेत्रमा बस्ती भएको र धेरै मानिस हताहत तथा निकै विनास हुने खतरा भएकाले हेलिकप्टरभित्र रहेका सुरक्षाकर्मीहरूलाई सो क्षेत्रमा बम नखसाउन निर्देशन दिइएको उच्चायोगलाई बताएका थिए । बस्ती भएका क्षेत्रमा लडाइँ सञ्चालन गरेर नेकपा (माओवादी) ले सर्वसाधारणलाई जोखिममा पु¥याएको हुनाले उच्चायुक्तको कार्यालय सोबारे चिन्तित छ । पनौती नगरपालिकामा आक्रमण भएको केही दिनपछि जनमुक्ति सेनाका फौजले आक्रमणपश्चात वरपरका क्षेत्रमा छोडेर गएका नपड्केको घरेलु विस्फोटक पदार्थ खेलाउँदा तीन बालबालिका सख्त घाइते भएका थिए । आक्रमणपश्चात, सन् २००६ फेब्रुअरी २४ मा, मध्यराततिर, साधा पोसाकमा १०–११ जना शाही सेनाका सुरक्षाकर्मीहरू माओवादी भएको बहाना गर्दै पनौतीको तिपचोक गाउँमा पुगे र सात सर्वसाधारणलाई नेकपा (माओवादी)सँग उनीहरूको संलग्नताबारे र नगरपालिकामा भएको आक्रमणमा मृतक तथा घाइते माओवादीहरूलाई बोक्ने कार्यमा उनीहरूको शङ्कास्पद सहयोगबारे साधे । सोधपुछको क्रममा एक जनालाई गम्भीर रूपमा कुटपिट गरियो भने अन्य ६ जनालाई मौखिक धम्की दिइयो । पिटिएको व्यक्ति नाबालक थिए भन्ने प्रारम्भिक रिपोर्टहरूको उच्चायोगले पुष्टि गर्न सकेन । मार्च २, २००६ मा धुलिखेलस्थित गणका एक वरिष्ठ सैनिक अधिकारीले सेनाको एउटा टोली गाउँमा गस्ती गर्न गएको र पिटाइ खाने व्यक्तिलाई औषधोपचारका लागि पछि पैसा दिइएको पुष्टि गरे । शानेसेको यो सुत्रका अनुसार गणपतिले गरेको आन्तरिक छानबिनले एक सिपाही (जसको नाम उच्चायोगलाई भनिएन) लाई अशिष्ट आचरण गरेकोमा दोषी पाइयो र निजलाई जागिरबाट ७ दिनका लागि निलम्बन गरियो । गस्ती टोलीका इन्चार्ज सेनानी विरुद्ध कुनै कारबाही भएन । 
    माओवादीतर्फ सेनाले कम फायरिङ्ग गर्दा पनि धेरै क्षती भएको थियो । तर माओवादीले सबै घाईते बोकेर कामीडाँडा तर्फ लगेको थियो । केहिको निधन भएको थियो । त्यहि घटनामा पनि मन्त्री दुलाल सहभागि थिए । महाभारत पुगेर उनै दुलालले पनौती भिडन्त र जनमुक्ति सेनाको योगदान सम्झेर सडकको शिलान्यास गरेका हुन् । शशस्त्र द्वन्द्वका क्रममा काभ्रेको घर्तिछाप, पनौती लगायतका स्थानमा दोहोरो भिडन्त भएको छ भने केहि स्थानमा गम्भिर प्रकृतिका घटना भएका छन् । केहि बेपत्ता छन् । केहि अङ्गभङ्ग छन् ।