2026 August 28/ 05:09: 02am

नाम चलेका होटलहरुमा पनि बासी खाना खुवाउँदै
    धुलिखेल/धुलिखेल नगरपालिका भित्र संचालित होटल तथा खाद्यान्न पसलहरु अनुगमन गरिएको छ । आइतबार धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, सहायक प्रमुख जिल्ला अधिकारी सुवास  पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यज्ञ ओली, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख मनिषा चापागाई लगायतको टोलीले बजारका होटल तथा खाद्यन्न पसलहरुमा अनुगमन गरेको हो ।
    अनुगमनको क्रममा धुलिखेलमा रहेका केहि होटल तथा रेस्टुरेन्टहरुमा गुणस्तर नभएको पाईएको छ । चर्चित होटल छाप्रोमा समेत बासी खाना खुवाउने गरेको अनुगमनका क्रममा फेला परेको हो ।  घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख तथा बजार अनुगमन समितिका सदस्य सचिव यज्ञ ओलीले छाप्रो होटलमा अनुगमनका क्रममा बेलुकाको खानामा नयाँ चामल थपेर पकाउन लागेको अवस्थामा बासी खाना खुवाउने गरेको फेला परेको बताए । त्यस्तै धुलिखेलको सारथी मार्टमा म्याद नाघेको केहि खान्द्यान्न जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यक्ष वलीले जानकारी दिनुभयो । सँगैको बर्गर हाउसको किचन सफा नभएको र बिना मापदण्ड रङ्ग प्रयोग गर्ने गरेको भेटिएको खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख मनिषा चापागाईले बताईन् । धुलिखेल बजारका केहि होटल तथा खाद्यन्न पसलमा अनुगमनका क्रममा अधिकांश होटलहरुका भान्सा फोहोर भएको पाइएको छ । प्रायःहोटलका बाहिर सफा हुन्छन तर भित्र भान्सा हेर्दा राम्रा भनिएका,चल्ने होटलहरुका भान्साहरु फोहोर भेटिए,’ चापागाईले भनिन ‘हामीले एकपटकलाई सफा राख्न सल्लाह दिएका छौँ र फेरि त्यस्तै भेटिए कारबाही गर्छौं ।’