2026 August 29/ 06:41: 42am

धुलिखेल/योमरी पुन्हिको अवसर पारेर धुलिखेलमा योमरी जात्रा मनाइएको छ । 
धुलिखेल नारायणस्थान लाछी डबलीमा सम्पन्न जात्रामा विभिन्न प्रकारका योमरीका परिकारहरुको स्टल तथा नेवारी सँस्कृति झल्काउने झाँकी, नाचहरु प्रदर्शन गरिएको थियो । लाछी महिला समुहको आयोजना तथा धुलिखेल नगरपालिकाको सहयोगमा योमरी जात्रा आयोजना गरिएको हो । उक्त अवसरमा पुर्वसञ्चार तथा सुचना प्रविधि मन्त्री एवं प्रतिनिधिसभा सांसद गोकुल बास्कोटा, धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु लगायतले शुभकामना व्यक्त गरेका थिए । पूर्वमन्त्री बास्कोटाले जात्रा पर्वले नेपालीको पहिचानको रुपमा रहेको सँस्कृति संरक्षणमा सघाउने विश्वास व्यक्त गरेका छन् । 
यस्तै धुलिखेल नगरपालिकाका प्रमुख व्याञ्जुले पर्यटकीय र साँस्कृतिक शहर धुलिखेलको संस्कृति र सम्पदा जगेर्नाका लागि काम गरिरहेको बताएका छन ।  नेवारी सँस्कृति झल्काउने झाँकी, नाचहरु प्रदर्शन गरी मनोरञ्जन एवं खानाको स्वाद चखाउने उद्देश्यले योमरी जात्रा आयोजना गरिएको लाछि महिला समुहकी अध्यक्ष दिवा श्रेष्ठले जानकारी दिइन । योमरी पुन्ही धान्य पुर्णिमाको दिन नेवार समुदायले विशेष प्रकारको परिकार बनाएर खाने गर्दछन् । नेपाल भाषामा यः भनेको मनपर्ने र मरि भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्दछ । योमरीलाई पञ्चतत्वको रुपमा पनि लिइन्छ । योमरीको धार्मिक र साँस्कृतिक महत्व छ । नेवार समुदायमा यस पर्वले विशेष महत्व राख्दछ ।