शंखु/नेपाल टेलिकमको अत्याधुनिक सेवा शंखुबाट शुरु गरिएको छ । धुलिखेल नगरपालिका वडा नम्बर १२ र पनौती नगरपालिका वडा नम्बर १० मा नेपाल टेलिकमको उच्च गतिको एफटीटीएच सेवा सुरु गरिएको हो । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले ७ हजार सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने उद्देश्यका साथ सेवा शुरु गरिएको जानकारी दिइन ।
नेपाल सरकारको सुचना प्रविधिको नीतलाई अघि बढाउने नीति अनुसार सेवा विस्तार गरिएको उनको भनाई छ । विगत १० वर्षअघि हात–हातमा मोबाइल भन्ने नारा लिएर अघि बढेको नेपाल टेलिकम अहिले एउटा मात्रै होइन दुई हातमा मोबाइल पुर्याउन सफल भएको उनको दाबी छ । शहरदेखी गाउँसम्म सेवा विस्तारमा लागिरहेको प्रबन्ध निर्देशक डंगोलको भनाई छ । ३ लाखभन्दा बढी जनतामा उच्च गतिको सेवा पुगेको जानकारी दिँदै उनले १५ लाखभन्दा बढी जनतामा उच्च गतिको इन्टरनेट पुर्याउनको लागि पुर्वाधार तयार भइसकेको बताइन् ।
नेपाल टेलिकम बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डंगोलले गुणस्तरीय सेवा प्रवाहका लागि प्रतिवद्ध रहेको बताइन् । प्रकृयागत कारण सबै ठाउँमा उच्च गतिको इन्टरनेट पुर्याउन नसकेको भन्दै उनले थप कार्य तिव्र रुपमा अघि बढाउने पनि बताइन् । कार्यक्रममा नेपाल टेलिकम बनेपा कार्यालय प्रमुख जगदिश लेखकले सेवा शुरु गरेको अबसरमा ५ सय वटा सिमकार्ड निःशुल्क वितरण गरिएको बताए । पुराना ग्राहकलाई एक महिनाका लागि निःशुल्क इन्टरनेट सेवा दिइरहेको समेत लेखक बताए । १५ वटा सरकारी विद्यालयलाई निःशुल्क इन्टनेट दिइने कार्यालय प्रमुख लेखकले बताएका छन ।
कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष मोहनप्रसाद लामिछाने, पनौती नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मोहनबहादुर भण्डारी, नेपाल टेलिकमका सन्चालन अधिकृत झविन्द्रनाथ उपाध्याय, प्रबन्धक विमल आचार्य, हरिशरण महर्जन, नारायण काफ्ले स्थानीय माधव थापा, माधव श्रेष्ठ लगायत स्थानीयको उपस्थिती रहेको थियो । एफटीटीएच इन्टरनेट, टेलिफोन र टेलिभिजन एउटै लाइनबाट चल्न सक्ने आधुनिक प्रविधि हो । यसले छिटो सेवा प्रवाह र बजारीकरणमा महत्वपुर्ण योगदान गर्ने नेपाल टेलिकमको विश्वास छ ।





