2026 August 28/ 06:04: 49am

    धुलिखेल/लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण गर्न शुरु भएको १६ दिने अभियान सकिएको छ । प्रहरी कार्यालय र अन्य संघ संस्थाहरुको समन्वयमा जिल्लाका विभिन्न स्थानमा लैङ्गिक हिंसा विरुद्धका सचेतना अभियान संचालन भए । अभियानकै क्रममा विभिन्न स्थानमा महिला तथा लिङ्गकै आधारमा हिंसा भएका घटना सार्वजनिक भए । प्रहरीले पुरुष अर्थात् श्रीमान्हरु पनि श्रीमतीबाट पीडित भएको भन्दै उजुरी बोकेर प्रहरीकोमा धाउन थालेको जानकारी दियो । पहिले पहिले अधिकांश घटना श्रीमानहरुबाट मात्रै हुने गरेका थिए भने पछिल्ला दिनहरुमा श्रीमतीहरुबाट पनि श्रीमान् र घरका सदस्यहरु पीडित बन्नु परेको उजुरी आउन थालेको छ । काभ्रेपलाञ्चोकमा ४९ वटा उजुरी श्रीमतीबाट पीडित भएको भन्दै प्रहरीकोमा दर्ता भएका छन् भने श्रीमान्हरुले श्रीमतीसँगै सँगै बस्न नसकेको भन्दै जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढेको छ । 
    जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा तीन वर्ष ५ महिनाको अवधीमा ७ सय १ वटा उजुरी दर्ता भएको देखिन्छ । त्यसमध्ये ६ सय ७६ वटा उजुरीमा मिलापत्र भएको छ । बाँकी २५ वटा उजुरी कार्यान्वयनको चरणमा रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र काभ्रेकी प्रमुख प्रहरी निरीक्षक उमा केसीले बताईन् । ७ सय १ मध्ये ५ सय ४३ वटा उजुरी श्रीमान्बाट श्रीमतीहरु पीडित भएको भन्दै परेका छन् भने सासु ससुराबाट १८ वटा, देवर जेठाजुबाट २३ वटा, छोरानातीबाट २६ वटा, श्रीमतीबाट ४९ वटा र अन्यबाट ४२ वटा हिंसाका उजुरी दर्ता भएका छन् । जिल्लामा सबैभन्दा आत्महत्याका मुद्दा दर्ता भएका छन् । त्यसपछि धेरै जबर्जस्ती करणीका छन् । आत्महत्या सम्बन्धी आर्थिक वर्ष २०७८÷०७९ मा ४९ वटा, २०८०÷०८१ मा ३५ वटा र चालु वर्षको मंसिर १५ गतेसम्म १८ वटा मुद्दा दर्ता भएका छन् । जर्बजस्ती करणीमा क्रमशः २९ वटा ३७ वटा र १६ वटा मुद्दा दर्ता भईसकेका छन् । जर्बजस्ती करणी उद्योगमा ७ वटा, बहुविवाहमा १२ वटा, मानव बेचविखनमा ५ वटा, कर्तब्य ज्यान सम्बन्धी ९ वटा, बाल यौन दुब्र्यवहारमा १९ वटा, जातिय छुृवाछुत सम्बन्धी १ वटा र अप्राकृतिक मैथुन सम्बन्धी २ वटा मुद्दा २९ महिनाको अवधीमा दर्ता भएका छन् । 
    शारीरिक हिंसा, मानसिक हिंसा, यौनजन्य हिंसा र सामाजिक हिंसा, प्रथा+परम्पराजनित हिंसा छन् । हिंसाका कारण शारिरीक तथा स्वास्थ्य सम्बन्धी असर पर्नुका साथै घाउ तथा चोटपटक, स्त्रीजन्य समस्याहरु, गर्भ तुहिनु, अशक्तता, अस्वाभाविक व्यवहार, आफैलाई हानी हुने व्यवहार देखाउँछन् । डर, चिन्ता, कमजोर आत्मबल, हीनताबोध, अरुमाथि अविश्वास, आत्महत्याको सोच विकास हुने, डिप्रेसन तथा ट्रमा हुनेछ । आत्महत्या, हत्या, मृत्युुुसम्म हुने गरेको छ । काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो ४० महिनाको अवधीमा १ सय ४१ जना महिलाले आत्महत्या गरेका छन् । बालक ७ जना, बालिका १२ गरी १ सय ६० जनाले यो अवधीमा आत्महत्या गरे । आत्महत्यासँगै हरेक दिन ब्यक्तिहरु हराउने गरेका छन् । अझै २ जना जेष्ठ नागरिक फेला पर्न सकेका छैनन् । हराएका मध्ये २ महिलाले सुसाईड नोट लेखेर मरेको फेला परेको छ भने २ बालिका पनि अझै फेला परेका छैनन् । ४० महिनामा २ सय ५४ महिला हराएका छन् । २७ जना बालक, १ सय ३२ बालिका र १८ जना जेष्ठ नागरिक हराए । हिंसाका परेका ब्यक्तिहरुलाई तत्काल उपचार, पुनस्र्थापना र दीर्घकालीन रुपमा रोजगार तथा सिपमूलक तालिम उपलब्ध हुन नसके हिंसा न्यूनिकरणमा कमी नआउने सरोकारवालाहरुले बताएका छन् । प्रहरीले हराएका मध्ये १ सय ३० जनाको उद्दार गरेको बताएको छ । 
    प्रहरीले आफू माथी भएको दुब्र्यवहार अपराध हो भन्ने जानकारी नहुनु, सम्वन्धित निकाय र समयमा अपराधको जानकारी प्राप्त नहुनु, लैंगिक हिंसा मानव जीवनको हरेक तह–तप्कामा हुन्छ भन्ने जानकारी नपाउनु, घरेलु हिंसामा पीडकलाई थुनामा राख्ने व्यवस्था नगरी तारेखमा राखी कारवाही गर्नुपर्ने भएकोले उपस्थित हुन अटेर गर्नु, विपक्षीलाई उपस्थित गराउन अप्ठ्यारो पर्नु, पीडितसँग उजुरी लेख्ने आर्थिक स्रोत समेत नहुने र गम्भीर प्रकृतिका मुद्दाहरुमा प्रहरी आफंैले जाहेरी लेखिंदिदा पछि विवादमा पर्न सक्ने अवस्था आउनु, झुट्टा जाहेरी, मिडिया ट्रायल लगायत सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रवृत्ति गोपनीयताको ख्याल नगर्ने जस्ता कारणबाट हिंसाका घटनामा कमी नआएको निष्कर्ष निकालेको छ । 

१६ दिनमा १२ घटना
    लैङ्गिक हिंसा विरुद्धको दिवस मनाईरहँदा १६ दिनको अभियानमा जिल्लामा १२ वटा घटना भएका छन् । जसमध्ये ६ वटा घरेलु हिंसाका छन् । 
    श्रीमानबाट पीडित भएको उजुरी बोकेर ६ जना महिलाहरु जिल्ला प्रहरी कार्यालय काभ्रे आएको प्रहरी निरीक्षक उमा केसीले बताईन् । त्यस्तै जर्बजस्ति करणी सम्बन्धी ३ वटा घटना भए । १६ बर्षिय बालिका बलात्कृत भएको जाहेरी २०८० मंसिर १० गते दर्ता भयो भने मंसिर १४ गते २६ बर्षिया महिला र १९ गते २२ बर्षीया युवती बलात्कृतमा परेको भन्दै जाहेरी दर्ता भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीमा दर्ता नभएका मध्ये केहि घटनाहरु स्थानीय तहमा मिलापत्र भएका छन् । 
    त्यस्तै मंसिर १३ गते अभियानकै क्रममा २९ बर्षीया महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । मंसिर २४ गते ५५ बर्षीया र ५२ बर्षीया महिलाले आत्महत्या गरेका छन् । अभियान चलिरहँदा भएका १२ वटा घटनाले पनि जिल्लामा लैङ्गिक हिंसामा पनि महिला हिंसा र घरेलु हिंसा धेरै हुने गरेका छन् ।