2026 August 28/ 05:19: 17am

    धुलिखेल/काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोह (पहिलो चरण) हिजो बुधबार काठमाडौं विश्वविद्यालयको केन्द्रीय परिसर सम्पन्न भएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता रहेको थियो । 
    शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोक कुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको सहभागिता रहेको थियो । समारोहमा भाईस चान्सलर स्वर्ण पदक विराट मेडिकल कलेज, विराटनगरका सनम ढकालले प्राप्त गरेका छन् । त्यस्तै जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक स्कुल अफ मेनेजमेन्टका विनायक घिमिरेले प्राप्त गरेका छन् भने रणबहादुर शाख स्वर्ण पदक अंकित सुवेदीले प्राप्त गरेका छन् । न्हुछेरत्न तुलाधार स्वर्ण पदक संस्कृति ढकालले प्राप्त गरेका छन् भने प्रेमराज पन्त स्वर्ण पदक सौगात बाँस्तोलाले पाउने भएका छन् । 
    काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पिजिडी तहका ५२ जना, र स्नातक तहका १ हजार ४ सय १६ जना सहित जम्मा १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित हुनेछन् । तीमध्ये आर्टस्का २०९ जना, एजुकेसनका २२५ जना, इन्जिनियरिङका ३९ जना, लका ३९ जना, मेनेजमेन्टका ४४८ जना, मेडिकल साइन्सेजका ७७७ जना र साइन्सका १०१ जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ४६.०३ (६ सय ४६ जना) तथा महिलाको प्रतिशत ५३.९७ (९ सय ९२ जना) रहनेछ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू ६.१५ प्रतिशत रहेका र तीमध्ये भारत, श्रीलङ्का र माल्दिभ्स गरी ३ देशका ११३ जना विदेशी विद्यार्थी रहनेछन् ।     काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत मास्र्टस अफ टेक्नोलोजी ईन आर्टिफिसियल इन्टेलिजेन्स १ जनालाई, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत मास्टर अफ साईन्स ईन मिडवाईफेरी नर्सिङ्गमा ८ जनालाई र स्कुल अफ एजुकेसन अन्तर्गत मास्टर ईन हाईएर एजुकेसनमा ९ जनालाई उपाधि प्रदान गर्नेछ । उनन्तीसौं दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४३ हजार १ सय २३ जना उत्तीर्ण भएको विश्वविद्यालयका प्रवक्ता तथा स्कुल अफ आर्टसकी सह प्राध्यापक, एक्कुमाया पुनले जानकारी दिईन् । 

काठमाडौं विश्वविद्यालयको ३२ औ स्थापना दिवस
    काठमाडौं विश्वविद्यालयले आज ३२ औ स्थापना दिवस मनाउँदै छ । विश्वविद्यालयले ३२ औं स्थापना दिवसको अवसर पारेर विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरेको छ ।  
    स्थापना दिवस समारोहमा तीन विशिष्ट विद्वानहरुको अभिनन्दन गरिएको उपकुलपति प्रा.डा भोला थापाले बताए । अभिनन्दित हुनेमा काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्र विभागका संस्थापक डीन डा.नरेन्द्र बहादुर राणा, जर्मन कला साधक तथा काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसको सङ्गीत विभागका संस्थापक विभागाध्यक्ष प्राध्यापक गर्ट माथियास वेग्नर र पूर्व सभामुख दमननाथ ढुुङ्गाना छन् । समारोहमा डा.न्हुछेरत्न तुलाधरको पुस्तक विमोचन गरिएको छ ।