खानिखोला/खानिखोला गाउँपालिका वडा नम्वर ७ का वडा सदस्य सुरेश पुलामी नै नक्कली नोटको कारोबारमा संलग्न रहेको खुलासा भएके छ । आईतबार राति अर्थात मसिंर २४ गते सोहि वडाको महांकल स्थित पशुपतिमा बालाचर्तुदशीको मेलामा सुरेश सहितका केहि ब्यक्तिहरुले नक्कली नोट दिएर कारोवार गरेको खुलासा भएको हो ।
‘वडा सदस्य समेत रहेका सुरेश पुलामीले नक्कली नोटको दोब्बर रकम फिर्ता गरे’–स्थानीय ब्यवसायीले भने– ‘मंगलबार विहान वडा सदस्य सुरेश पुलामी, क्षेत्रमान घ्यावा, सन्तलाल सिंतान लगायतले नक्कली हजारका नोटको प्रति हजार दुई हजारका दर फिर्ता गर्दै उक्त नोट फिर्ता लिएर गए ।’ स्थानीय जात्रामा सुन्तला, बदाम, चिया चाउचाउ, चुरोट, चना चटपट, पानी पुरी लगायतको ब्यापार गरिएको थियो । अण्डा र चिया विक्री गरेर रातभर कुर्दा केहि रकम कमाउन सकिने आशमा चिसोको सिरेटोमा बसेका स्थानीयहरुलाई सुरेश पुलामी, सन्तलाल सिंतान सहितका ब्यक्तिहरुले ल्याएको नक्कली नोट उपलब्ध गराईएको थियो । उनिहरुले कहाँबाट त्यति धेरै परिणाममा नक्कली नोट ल्याए खुल्न सकेको छैन । घटना सामसुम पार्न स्थानीय वडाका जनप्रतिनिधिहरु, भद्रभलादमीहरुको मंगलबार भेला आयोजना गरिएको थियो । वडा अध्यक्ष रामबहादुर मोक्तानले नक्कली नोटको कारोबारमा छलफल नहुने भन्दै उठेर हिडेपछि पुर्व वडा अध्यक्ष समेत रहेका क्षेत्रमान घ्यावा, वडा सदस्य सुरेश पुलामी र सन्तलाल सिंतानले मसिंर २४ गते राति कारोवार भएको नक्कली नोट फिर्ता लिने र सोहि रकम बराबर दोब्बर रकम दिने निर्णय गरेका थिए ।
सोहि निर्णय बमोजिम मंगलबार नै स्थानीय भरत दलार्मी र उनकी बहिनी चनमती दर्लामीलाई ३ हजारको ६ हजार उपलब्ध गराईएको छ भने च्यासे मगरको अण्डा र चिया पसलमा १ हजारको नोटको दुई हजार फिर्ता गरिएको छ । केहिले भने आफ्नो साँवा बाहेक थप रकम लिन चाहेनन् । आफन्तले नै नक्कली नोटको कारोबार गरेर ठगी गरेको सूचना पछि मध्यरातमा खैलाबैला भएको थियो । स्थानीयले उनिहरुलाई नियन्त्रणमा लिए पनि भाग्न सफल भएका थिए । रत्नबहादुर मोक्तानले एक हजारको दुई हजार पाएका छन् । नक्कली नोटको कारोवारमा गिरोह नै संलग्नको आंशका गरिएको छ । करिव २५ हजार भन्दा धेरै नक्कली नोट कारोवार भएको आशंका गरिएको छ । गिरोहका सदस्यहरुले शुरुमा आफै र पछि बच्चाहरु मार्फत उक्त नोटको कारोवार गराएका थिए । थोरैको सामान किनेर हजारको नोट दिएर सामान पनि पैसा पनि ठगेर हिडेको चार घण्टा पछि मात्रै स्थानीयले थाहा पाएका थिए । स्थानीय ब्यवसायीहरुले हजारको नोट (ठुलो नोट) भन्दै अलग्गै राखेकाले कसले दिएको हो सहजै पहिचान भएको बताईएको छ ।
उनिहरुले यस अघि पनि यस्तै नोटको कारोवार गर्दै आएको सर्वसाधारणले बताएका छन् । ताल्ढुंगा प्रहरी चौकीले घटनाका बारेमा जानकारी नभएको बताए पनि जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले घटनाका बारेमा तत्काल छानविन गरी नक्कली नोटको कारोबार गर्नेहरुलाई कारवाही गर्ने बताए । खानिखोलाका विभिन्न वडाका युवाहरुको एउटा समुहले नक्कली नोट ल्याएर विक्री गरेको स्थानीयहरुले जानकारी दिएका छन् । सोहि वडामा केहि समय देखि चोरीका मोटरसाईकल अत्याधिक रुपमा प्रयोग हुन थालेका छन् ।





