अभियानको ११ औ दिन काभ्रेमा टोली
धुलिखेल/‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को अवधीमा काभ्रेको कुन्ताबेशी, मण्डनदेउपुरमा हुने संकल्प सभाको तयारीका लागि नेकपा एमाले काभ्रे र सिन्धुपाल्चोकको संयुक्त बैठक, तयारी भेला तथा स्थानीय स्तरको तयारी तिब्र बनाएको छ । सिन्धुपाल्चोक र काभ्रेको संयुक्त सभा सोहि स्थानमा हुनेछ ।
काभ्रेमा आयोजना गरिएको बैठकमा नेकपा एमालेका पोलिट्व्युरो सदस्य गोकुल बास्कोटा, केन्द्रिय सदस्य कृष्ण राई, पुर्व केन्द्रिय सदस्य, प्रदेश कमिटीका पदाधिकारी एवं सदस्य, जिल्ला कमिटी, नगर तथा गाउँ कमिटीका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । बैठकमा जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले छलफलका एजेण्डा प्रस्तुत गरेका थिए । नेकपा एमालेले शुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई काभ्रेमा सभ्य र भव्य कसरी बनाउन सकिन्छ भन्ने बारेमा बैठकमा छलफल भएको थियो । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत मंसिर २४ गते काभ्रेको मण्डनदेउपुरमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । उक्त टोली धुलिखेलमा बास बस्ने व्यवस्था मिलाइएको छ । भोलिपल्ट टोली रामेछापको मन्थली प्रस्थान गर्ने छ । नेकपा एमालेले १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको ११ औ दिन अथार्त मसिंर २४ गते काभ्रे आउने टोलीलाई स्वागत गर्न एमाले काभ्रेले विस्तारित भेला मार्फत विशेष तयारी गर्ने निर्णय गरेको थियो । सोहि तयारी अनुसार स्थानीय स्तरमा भेला, छलफल तथा बैठकहरु भईरहेका छन् । घर घरमा निम्ता वितरण देखि अन्य तयारी भईरहेको एमाले काभ्रेले जानकारी दिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली सहितको अभियानको टोलीलाई धुलिखेलमा बास राखेसँगै जिल्लाको मण्डनदेउपुर नगरपालिका स्थित मध्यपहाडी लोकमार्ग नजिकै विशेष जनसभा गर्ने एमाले काभ्रेले निर्णय गरेको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिए । ‘अभियानमा सहभागि हुने २ सय जनालाई धुलिखेलमा बास राखिनेछ’–एमाले अध्यक्ष अशोक ब्याञ्जुले भने–‘धुलिखेलबाट विशेष स्वागतका साथ पाँचखाल हुँदै मण्डनदेउपुर नगरपालिका पु¥याईनेछ । जहाँ एमालेले १५ हजार भन्दा धेरै जनताहरुको सहभागितामा जनसभा गर्नेछ ।’ विस्तारित भेलालाई एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले सम्बोधन गर्दै जनसभा भब्य बनाउन पार्टीका सबै जनवर्गिय संगठन र कमिटीहरु परिचालन गर्न निर्देशन दिए ।
‘पार्टी संगठन जागरुक बनाउन, संगठन सुदृढीकरण गर्न अभियान महत्वपूर्ण छ’–पोलिटब्युरो सदस्य बाँस्कोटाले भने–‘सम्वन्ध स्थानीय, सन्दर्भ राष्ट्रिय भन्ने अभियानको मर्मलाई सार्थक बनाउन सबै कमिटीहरु र नेता कार्यकर्ता परिचालन गरिनेछ ।’ एमालेको विस्तारित भेलाले सांसदहरुका लागि तीन महिनाको तलब, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुलाई दुई महिना र एक महिनाको तलब अभियानका लागि उपलब्ध गराउने निर्णय गरेको छ । स्वागतद्वार, मञ्च तथा अन्य प्राविधिक तयारीका लागि विशेष तयारी गरिएको एमाले काभ्रेका सचिव राजन भुर्तेलले जानकारी दिए । जनसभाका लागि एमाले काभ्रेले मातहतका कमिटीहरुलाई विशेष जिम्मेवारी सहितको तयारी गर्न निर्देशन दिएको छ । मण्डनदेउपुर नगर कमिटीले सोहि सभाका लागि शुक्रबार विशेष भेला सहितको तयारी बैठक बोलाएको अध्यक्ष शेरबहादुर डोटेलले जानकारी दिए । बैतडीको झुलाघाटमा झण्डोतलोन गरेर अभियानको शुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् । झुलाघाट चिवाभञ्ज्याङ्ग समृद्धीका लागि सकल्प यात्राले सुखी नेपालीको परिकल्पना पुरा हुने बताए ।





