धुलिखेल/मण्डनदेउपुर नगरपालिका वडा नम्वर ९ काभ्रेपलाञ्चोकका विपिन नेपाल अनुज्ञापत्र नलिई खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा ५० हजार धरौटीमा छुटेका छन् । काभ्रेपलाञ्चोक जिल्ला अदालतका जिल्ला न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले २०८० मंसिर ४ गते मुद्दा पुर्पक्षको लागि धरौटी माग गर्ने आदेश गरेको हो ।
काभ्रे मण्डनका विपिनले मेलम्ची १२ सिन्धुपाल्चोकमा रहेको ब्ल्याक वी प्रालीले उत्पादन गरेको मह काठमाडौ महानगरपालिका वडा नम्वर ६ स्थित तामाङ मार्ट प्रालीमा विक्री गरिएको थियो । सोहि मार्ट लगायतका राजधानी र विभिन्न जिल्लामा विक्री गरिएको मह खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौको अनुगमन टोलीले २०७८ माघ १८ गते अनुगमन गरेको थियो । अनुगमनका क्रममा बरामद गरिएको महको नमुना परिक्षणमा तोकिएको न्यूनतम अनिवार्य गुणस्तर मापदण्ड अनुसार नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बवरमहल काठमाडौले पुष्टी गरेको छ । विपिनले तामाङ मार्टमा विक्री गर्न राखिएको मह दाङ जिल्लाका किसानबाट संकलन गरी प्याकेजिङ गरी बजारीकरण गर्ने गरेको र त्यो समयमा महको गुणस्तर नाप्ने कुनै ज्ञान र प्रविधि नभएका कारण गल्ती भएको स्विकारेका छन् । तर उक्त गल्ति जानीजानी नभएकाले प्रस्तावित कसुर सजायँ नगर्न अनुरोध गरेका थिए । अदालतमा भएको बहसका क्रममा तथ्य, प्रमाणका आधारमा इजलासले तत्कालका लागि अध्ययन गर्दै जाँदा हुने गरी पुर्पक्षका लागि ५० हजार धरौटीमा छाड्ने आदेश गरेको हो । नेपालले धरौटी बुझाएका छन् । पछिल्लो समय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजारमा विक्री हुने विभिन्न खाद्य पदार्थहरुको अनुगमन गरिरहेको छ । जसमा देखिएका अखाद्य बस्तुहरुको परिक्षण गरिरहेको छ । यस अघि काभ्रेका केहि दुग्ध डेरीहरुको अनुगमन गरेको थियो ।





