2026 August 28/ 04:10: 55am

विकास तिमल्सिना
बनेपा

    गाउँका सिंहदरवार भाडामा छन् । नागरिकका घर सिंहदरवार बनाउने कसम खाएका स्थानीय सरकार निर्वाचनको साँढे ६ वर्षसम्म भाडामा बसिरहेका छन् । नागरिकहरुले आफ्नै घर बनाउन नसक्ने सिंहदरवार भनिएका गाउँका सरकारले आफ्नै घर बनाउन नसक्दा प्रश्न उठाउन थालेका छन् । गाउँगाउँमा सिंहदरबार बनाउने नारा सहित निर्वाचन भएको साँढे ६ वर्ष बितिसक्दा पनि जिल्लाका आधा स्थानीय तहहरु भने भाडाकै घरबाट सेवा प्रवाह गरिरहेका छन । यो विचमा जनप्रतिनिधिहरुले ५ वर्षे कार्यकाल पुरा गरेर दोस्रो निर्वाचन सम्पन्न भएको पनि १८ महिना पुरा भइसकेको छ । हालसम्म जिल्लाका १३ वटा पालिका मध्ये ६ वटाले अस्थायी प्रशासनिक भवनबाट सेवा दिईरहेका छन । त्यसमध्ये २ वटा पालिका भाडाको घरबाट सञ्चालन भइरहेका छन । काभ्रेको विकट क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका र बेथानचोक गाउँपालिकाले भाडाको घरबाट नागरिकलाई सेवा दिइरहेका छन । यस्तै जिल्लाको विकट क्षेत्रमा पर्ने महाभारत गाउँपालिका, चौरीदेउराली गाउँपालिका र रोशी गाउँपालिकाले अस्थायी रुपमा खडा गरिएका कार्यालयबाट सेवा दिइरहेका छन भने भुम्लु गाउँपालिकाले वडा कार्यालयको भवनबाट सेवा दिइरहेको छ । 
    बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर, नमोवुद्ध नगरपालिका र तेमाल गाउँपालिकाले मात्रै आफ्नै स्थायी प्रशासनिक भवनबाट सेवा प्रवाह गरिरहेका छन ।  १३ स्थानीय तहका १ सय ३५ वडा मध्ये ११ वटा वडा कार्यालय अझैसम्म पनि भाडाका घरबाट सञ्चालनमा छन । राज्य पुनर्संरचनापछि ८२ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न÷निर्माणाधीन छन । ४२ वटा वडा कार्यालय भने साविकका भवनलाई व्यवस्थापन गरेर सेवा दिँदै आइरहेका छन ।

कुन पालिकामा कस्तो छ अवस्था ?
खानीखोला गाउँपालिका

    काभ्रेको विकट क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको आफ्नै प्रशासनिक भवन छैन । खानीखोला पुग्न जति सकस छ भवन अभावले सेवा प्रवाह पनि त्यति नै कठिन बनेको छ । गाउँपालिकाले वर्षमा १० लाखभन्दा बढी भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाले जानकारी दिए । उनका अनुसार सामुदायिक भवनबाट केहि सेवा प्रवाह गरिरहेपनि सबै शाखाहरु भाडाकै घरबाट सञ्चालन भइरहेको छ । वडा नम्बर १, २, ६ र ७ को कार्यालय पनि भाडा तिरेर सञ्चालन भइरहेको छ । वडा नम्बर ३,४,र ५ मा भने नयाँ भवन निर्माण भइसकेको छ । 

महाभारत गाउँपालिका
    खानीखोला गाउँपालिकाको छिमेकी पालिका महाभारतले भने पालिकाको अस्थायी भवन मार्फत सेवा दिइरहेको छ । पालिकाको स्थायी भवन निर्माणको क्रममा रहेको गाउँपालिकाका सुचना अधिकारी दिनेश बस्नेतले जानकारी दिए । पालिकाका ८ वटै वडाको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेको छ । विकट भएर पनि महाभारत गाउँपालिका पूर्वाधार सम्पन्न हुँदै गएको छ । 

बेथानचोक गाउँपालिका
    बेथानचोक गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै वडा कार्यालय भवन सुविधा सम्पन्न बनाईसक्दा पनि पालिकाको स्थायी प्रशासनिक भवनको भने अझै टुंगो लगाउन सकेको छैन । गाउँपालिका कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिइन । पालिकाको स्थायी प्रशासनिक भवन निर्माणका लागि प्रकृयामै रहेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए । जग्गा खोज्ने विषयमा कुरा नमिल्दा भवन निर्माण कार्य सुरु हुन नसकेको उपाध्यक्ष तिमल्सिनाले बताइन् । पालिकाको आफ्नै भवन नहुँदा वार्षिक ५ लाखभन्दा बढी घर भाडामा खर्च गर्दै आएको छ । 

चौरीदेउराली गाउँपालिका
    चौरीदेउराली गाउँपालिकाले पनि प्रशासनिक भवन निर्माण गरेको छैन । यसअघि निर्माण भएको भवनलाई व्यवस्थापन गरेर अस्थायी रुपमा कार्यालय सञ्चालन गरिएको छ । प्रशासनिक भवन सञ्चालनका लागि भाडा भने तिर्नु परेको छैन । नयाँ भवन निर्माण गर्ने योजनामा पालिका रहेको उपाध्यक्ष शेरबहादुर लामाले बताए । पालिका अन्तर्गत वडा नम्बर १ को वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । वडा नम्बर २ को वडा कार्यालय निर्माधिन छ भने वडा नम्बर ३ ले पुरानो भवनलाई व्यवस्थापन गरेर वडा कार्यालय सञ्चालन गर्दै आएको छ । वडा नम्बर ४, ६ र ७ ले पनि भइरहेको भवनलाई व्यवस्थापन गरेर सेवा प्रवाह गरिरहेका छन । वडा नम्बर ५, ८ र ९ मा भने नयाँ भवन निर्माण गरिएको प्रवक्ता धन बहादुर तामाङले जानकारी दिएका छन । 

भुम्लु गाउँपालिका
    भुम्लु गाउँपालिकाले पनि अझै आफ्नो प्रशासनिक भवन निर्माण गर्न सकेको छैन । वडा नम्बर ५ को वडा कार्यालय भवनमार्फत गाउँपालिका सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले जानकारी दिए ।  जग्गा प्राप्तिको प्रकृयामा आफुहरु रहेको उनको भनाई छ । पालिका अन्तर्गत वडा नम्बर १, २, ३, ८, ९, १० ले आफ्नै भवन मार्फत सेवा दिइरहेका छन । वडा नम्बर ४ र ६ को कार्यालय यस अघिकै भवनमा व्यवस्थापन गरिएको छ भने वडा नम्बर ७ को वडा कार्यालय भवन निर्माणाधिन छ । 

रोशी गाउँपालिका
    रोशी गाउँपालिकाको आफ्नै स्थायी प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फागुन÷चैतदेखि नयाँ भवनबाट सेवा प्रवाह गर्ने गरी पालिकाले तयारी गरिरहेको उपाध्यक्ष मिमबहादुर वाइबाले बताएका छन । पालिका अन्तर्गत वडा नम्बर १२ बाहेक सबै वडाले आफ्नै भवनबाट सेवा उपलब्ध गराइरहेका छन । 

तेमाल गाउँपालिका
    तेमाल गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । पालिका अन्तर्गतका वडा कार्यालयले पनि आफ्नै भवनबाट सेवा दिइरहेको प्रवक्ता इन्द्रलाल तामाङले जानकारी दिए । 
मण्डनदेउपुर नगरपालिका
    मण्डनदेउपुर नगरपालिकाले भर्खरै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ । भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको नगरपालिकाले झण्डै २४ करोडको लागतमा निर्मित नयाँ भवनबाट सेवा प्रवाह थालेको हो । पालिकाको प्रशासनिक भवन सुविधासम्पन्न बने पनि वडा कार्यालय भने केहि भाडामा र केहि पुरानै भवनलाई व्यवस्थापन गरि सेवा प्रवाह गर्न बाध्य छन् । वडा नम्बर ९ र १२ को वडा कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको उप–प्रमुख विष्णुमणी नेपालले बताए । वडा नम्बर १, ४ र ६ बाहेक अन्य वडा कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छैन ।

पाँचखाल नगरपालिका
    पाँचखाल नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा दिइरहेको छ । पालिका अन्तर्गतका वडा कार्यालय भवन निर्माण भने अपेक्षा अनुसार हुन सकेको छैन । वडा नम्बर १, २, ५, ७, ८, १०, १२ को नयाँ वडा कार्यालय भवन निर्माण भएको उप–प्रमुख सुर्यमाया दनुवारले जानकारी दिइन । वडा नम्बर ६ को वडा कार्यालय नगरपालिकाको पुरानो कार्यालयबाट सञ्चालन भइरहेको छ भने वडा नम्बर ९, ११ र १३ ले वडामा रहेको भवनलाई व्यवस्थापन गरेर सेवा दिइरहेका छन । वडा नम्बर ३ र ४ को आफ्नै वडा कार्यालय भवन छैन । दुइवटै वडा कार्यालयले स्वाथ्य केन्द्रको पुरानो भवनबाट सेवा दिइरहेका छन ।
  
बनेपा, धुलिखेल र पनौती नगरपालिका 
    शहरी क्षेत्रमा पर्ने धुलिखेल, बनेपा पनौती नगरपालिकाको भने आफ्नै प्रशासनिक भवन छन् । यद्यपी वडा कार्यालय भवन भने अझै व्यवस्थित भइसकेका छैनन् । बनेपा नगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १२ र १४ को मात्रै नयाँ भवन बनेको छ । बाँकी वडा कार्यालय यसअघि नै निर्माण भएका सामुदायिक भवनलाई लगायतका विभिन्न भवनलाइ व्यवस्थित गरेर सञ्चालन भएका छन । यस्तै धुलिखेल नगरपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन भए पनि नगरपालिकाका ४ वटा वडा कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेका छन । वडा नम्बर ३, ७, ८ र ९ ले भाडाको घरबाट सेवा दिइरहेका छन । वडा नम्बर १ को मात्रै नयाँ वडा कार्यालय भवन निर्माण भएको छ भने बाँकी वडाले विभिन्न प्रयोजनका लागि यसअघि निर्माण भएका भवन मार्फत सेवा प्रवाह गरिरहेका छन । यस्तै पनौती नगरपालिकाको पनि आफ्नै प्रशासनिक भवन छ । २०७४ पछि वडा नम्बर ३ र ४ को सुविधासम्पन्न भवन निर्माण भएको छ भने वडा नम्बर ५ र ८ को वडा कार्यालय भवन निर्माणाधिन छ । बाँकी वडा कार्यालयहरुले भने साबिका कार्यालयलाई व्यवस्थित गर्दै सेवा दिइरहेका छन । 

नमोवुद्ध नगरपालिका
    नमोबुद्ध नगरपालिकाले भने सरकारी भवन निर्माणमा उल्लेख्य प्रगती गरेको छ । नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ भने वडा नम्बर १ को वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको उप–प्रमुख रत्न बहादुर लामाले बताए । बाँकी वडा कार्यालयहरुले नयाँ भवनबाट सेवा प्रवाह गरिरहेका छन ।