मुलुक तस्करहरुको हातमा पुग्यो’–एमाले महासचिव पोखरेल
धुलिखेल/नेकपा एमाले धुलिखेल नगर कमिटीले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । सत्ता गठवन्धनका कारण मुलुकको अर्थतन्त्र तस्करहरुको हातमा पुगेको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।
‘एमाले नेतृत्वमा सरकार हुँदा नेपालको अर्थतन्त्रको बृद्धिदर विश्वका औ स्थानमा पुगेको थियो’–एमाले महासचिव शंकर पोखरेलले भने–‘अहिले मुलुक तस्करहरुको हातमा मात्रै पुगेको छ, दक्षिण एशियामै गरिव मुलुकका रुपमा चिनिएको छ ।’ मुलुकको रकम अबैधानिक क्षेत्रमा लगानी भएकाले आर्थिक तरलता बढिरहेको बताउँदै महासचिव शंकर पोखरेलले अहिलेको अराजकता र मुलुकको संकट टार्ने क्षमता नेकपा एमाले बाहेक अरुसँग नभएको बताए । ‘एमाले देशको पपुलर पार्टी हो तर सरकारमा छैन’–एमाले महासचिव पोखरेलले भने–‘मुलुक निर्माणका लागि बलियो शक्ति निर्माण गर्नुको विकल्प छैन । राज्य सफल हुन सकेन भने जनताको समृद्धी असम्भव छ ।’ सामाजिक सञ्जालमा पपुलिष्ट हुँदैमा मुलुकको विकास सम्भव नभएको बताउँदै एमाले महासचिव पोखरेलले गठवन्धन दल र सरकारले सिर्जना गरेको अराजकताको असफलतामा एमाले संलग्न नरहेको बताए ।
शुभकामना आदान प्रदान कार्यक्रममा सामाजिक सञ्जाल प्रयोगको ब्यवस्थापनमा एमालेले केहि वर्ष अघि नै कानून ल्याउन लागेको समयमा विरोध गरियो –एमाले महासचिव पोखरेलले भने–‘हिजो किन विरोध गरियो ? आज किन ल्याउन खोजियो ?’ एमाले मुलुकको समग्र विकासका लागि नविनतम योजना तथा सोच र राष्ट्रियताका सवालमा एक कदम अघि रहेको महासचिव पोखरेलले बताए । ‘मुलुक यो अवस्थामा कसरी पुग्यो ? यस्तो अवस्तामा राजनीतिक बहस छलफल किन हुन सक्दैन ?’–महासचिव पोखरेलले भने–‘एमाले मुलुक नेतृत्वको द्रस्टा हो ।’ यतिखेर एमालेलाई नयाँ शक्ति भनिनेहरुबाट तथा अन्य क्षेत्रबाट समेत प्रहार भएको बताउँदै महासचिव पोखरेलले त्यसको कारण के हो ? न एमाले सत्तामा छ ? न एमाले अहिले कुनै जिम्मेवारीमा छ ? तर पनि निरन्तर एमाले माथि प्रहार किन गरिदै छ ? त्यसका बारेमा पार्टीले गम्भिर समिक्षा गरेको छ । राष्ट्रमा राजनीतिक अस्थिरता र अराजकता दुईवटा मुख्य कारक रहेकाले त्यसको नियन्त्रणका लागि एमाले जनताको पपुलर पार्टी मात्रै नभई देश हाँक्ने जनमतका लागि तयारी गर्ने गरी लागिरहेको महासचिव पोखरेलले बताए ।
‘हिरोईजमले मात्रै मुलुक चल्दैन’–बास्कोटा
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले नयाँ नयाँ हिरोईजमले मात्रै मुलुक नचल्ने बताएका छन् । धुलिखेलमा आयोजित एमालेको चियापान कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य बास्कोटाले साधारण मान्छेहरुका लागि लोकतन्त्र भएकाले दल खोलेर चुनाव लड्ने बाहेक चिहानमा पुगेको संस्था र ब्यक्तिबाट मुलुकको नेतृत्व असम्भव रहेको बताए । गठवन्धन सरकारले नागरिकहरुका समस्यामा ध्यान नदिएको बताउँदै गठबन्धन सरकार रहँदासम्म मुलुक ओरालो लाग्ने बास्कोटाले बताए । ‘राष्ट्रियताका सवालमा समेत गठवन्धन दल र सरकार बोल्न सक्दैनन’–एमाले पोलिटब्युरो सदस्य बास्कोटाले भने–‘अराजकता फैलाएर उत्तेजित बनाउँदैमा समाज निर्माण हुन सक्दैन । कोहि पनि अराजकताबाट उद्देलित हुनु जरुरी छैन ।’
सामाजिक सञ्जाल ब्यवस्थापनका लागि सरकारले ल्याउन लागेको कानूनका सन्र्दभमा पुर्व संचारमन्त्री समेत रहेका बास्कोटाले हिजो विरोध गर्नेहरुलाई नै आज कानून आवश्यक भएको ब्यगं गरे । ‘हिजो चारहात माथि उफ्रेर विरोध गर्नेहरुलाई नै आज कानून चाहिएको छ’–बास्कोटाले भने–‘कोहि उफ्रदैमा मुलुकमा प्राप्त भएको लोकतन्त्र खतरामा पर्दैन ।’
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं जिल्ला इन्जार्च कर्ण राई, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, नगर अध्यक्ष दयाराम महत र नगर सचिव विष्णु धितालले एमालेले शुरु गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमले एमालेले लिएका विचार र कार्यक्रमहरु कार्यकर्ताको तहसम्म लैजान सहज हुने बताए । कार्यक्रममा विभिन्न तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।





