2026 August 28/ 04:10: 00am

– संचालकलाई ५० हजार धरौटी
    पनौती/पनौती नगरपालिका वडा नम्वर ४ मा रहेको दुर्गा दुध डेरी विरुद्ध जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मुद्दा दर्ता भएको छ । डेरीबाट उत्पादित ‘दहि’ तोकेको न्युनतम गुणस्तर मापदण्ड अनुसार नभएको भन्दै खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौको अनुगमन टोलीले गरेको अनुगमनका क्रममा दहि मापदण्ड विपरीत रहेको फेला पारेको थियो । 
    खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौका खाद्य निरीक्षक अतिस घिमिरेको प्रतिवेदनका आधारमा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएको अनुज्ञापत्र नलिई खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा दुर्गा दुध डेरीका संचालक पनौती नगरपालिका ४ का ५८ बर्षीय एकानिधि घिमिरे विरुद्ध मुद्दा दर्ता गरिएको हो । २०७९ भदौ ११ भएको अनुगमनका क्रममा लिएको दहिको नमुना र त्यसको ल्याब परिक्षणले दहि न्युनतम् तोकेको गुणस्तरको नभएको वा मापदण्ड अनुसार नभएको पाईएको प्रतिवेदनमा उल्लेख छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले एकनिधि घिमिरेका नाममा २०८० असोज २३ गते ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो । 
    प्राप्त प्रमाण र तथ्यका आधारमा उक्त उद्योग र उद्योगका संचालकलाई खाद्य ऐन २०२३ को दफा ३ र ४ बमोजिमको कसुरमा खाद्य ऐनको दफा ५ (१) बमोजिम पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयासम्म जरिवाना वा दुबै सजाँय माग गरिएको छ । उक्त डेरीले अनुज्ञापत्र समेत लिएको थिएन । डेरी संचालक एकनिधि घिमिरेले उद्योग दर्ता गर्नु अघि कच्चा दुध मात्र विक्री वितरण गरी ब्यवसाय गरेको बयान दिएका छन् । बंैकबाट ऋण लिने प्रकृयामा भएकाले अनुज्ञापत्र नलिएको बताउँर्दै घिमिरेले दुधमा इनारको पानी मिसाएका कारण दहिमा कोलिफर्म देखिएको हुन सक्ने बताए । नियतवश नभएकाले उक्त अभियोगमा एक पटकलाई कानून अनुसार कम सजायँको अनुरोध गरिएको घिमिरेले बताए । डेरीमा प्रयोग गरिने पानी इनारबाट लिईन्छ । प्रशोधन नगरी प्रत्यक्ष इनारबाट निकालिएको पानीमा भएको कोलिफर्म दहिमा देखिएको हुन सक्ने उनले बताए । पक्राउ परेका घिमिरेलाई अदालतले ५० हजार धरौटीमा छाड्ने आदेश दिएको छ । धरौटीमा राखेर थप अनुसन्धानका लागि खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयलाई निर्देशन दिएको छ । सरकारी वकिल कार्यालय मार्फत उक्त मुद्दा अदालतमा दर्ता भएको हो ।