2026 August 27/ 11:02: 04pm

धुलिखेल/जिल्ला प्रशासन कार्यालयमा नागरिकताको अभिलेख भद्रगोल छ । आफ्नै स्थायी संरचना नभएका कारण प्रशासन कार्यालय भाडामा बसिरहेको छ । भवन निर्माण गर्ने उद्देश्यले भाडामा सारिएको प्रशासन कार्यालय मुद्दै मुद्दाको अलमलमा छ । त्यहि अलमल र असरल्ल अवस्थाको फाईदा उठाउँदै कर्मचारीको सेटिङ्गमा विदेशीहरुलाई नागरिकता विक्री भएको तथ्य बाहिरिएको छ । 
    पटक–पटक नागरिकताको अनसुची ब्यवस्थित बनाउन स्थानीय सरकारको सहयोगमा समेत अभिलेखीकरण गरिएको छ । अभिलेख प्रशासन कार्यालयको नयाँ भवनको भुई तल्लामा राखिएको छ । चिसोका कारण अभिलेख मक्किएको छ भने च्यातिएर चिन्न नसकिने अवस्थामा पुगेको छ । प्रशासन कार्यालयबाट प्राप्त हुनु पर्ने महत्वपूर्ण फाईल तथा निर्णयका प्रमाणित कपिहरु पनि पाउन कठिन छ । भुकम्प पछि मु–आब्जाको निर्णय गरेको माईन्युट एक महिना खोज्दा पनि फेला नपरे पछि राय सहितको निर्णय मन्त्रालयमा माग गरिएको छ । एकै दिनको एउटा माईन्युट छ अर्काे छैन । नागरिकताका केहि विवरणहरु अहिले अनलाईनमा सुचिकृत गरिएको छ । तर पुराना सुचिकृत नभएका फाईलहरु प्रशासनमा भेटिन सम्भव छैन । कार्यालय सार्दा ब्यवस्थित नगरिएका अभिलेखका कारण नागरिकहरुले हरेक दिन दुःख पाउन थालेका छन् । राहदानी, नागरिकता, सिफारिस तथा अन्य महत्वपूर्ण सूचनाहरु प्रशासन कार्यालयमा हराएको भए पनि थप सुरक्षाका लागि नयाँ रणनीति केहि बनेको छैन । 
    जिल्ला समन्वय समितिले प्रदान गरेको अस्थायी टहरामा बसिरहेको प्रशासन कार्यालयको निर्माणाधीन भवनको मुद्दा अझै टुङ्गिएको छैन । अस्थायी टहरामा कागजात सुरक्षित गर्न हम्मेहम्मे परेको प्रशासनका कर्मचारीहरुले बताएका छन् । स्थान अभाव छ । भएको स्थानलाई ब्यवस्थित गर्ने र नागरिकलाई सेवा प्रदान गर्ने बाहेक अर्काे कुनै उपायका बारेमा प्रशासनले सोच्न सकेको छैन । भद्रगोल कागजात र संरचनालाई ब्यवस्थित गर्ने एउटै उपाय आफ्नै भवनबाट सेवा प्रदान गर्नु बाहेक अर्काे विकल्प नभएको कर्मचारीले बताए । तर हराएका कागजात भेट्टाउने, नष्ट हुन लागेको अभिलेखहरुलाई जोगाउने, सेवाग्राहीहरुलाई छिटो सेवा प्रदान गर्ने तर्फ प्रशासनको नयाँ योजना बन्नुपर्ने सेवाग्राहिहरुको सुझाव छ ।