2026 August 26/ 07:04: 48pm

    धुलिखेल/प्रहरी कार्यालयमा वित्तिय कारोवार सम्वन्धीका उजुरीहरु दैनिक दर्ता हुन थालेका छन् । मौखिक र लिखित उजुरी बढ्न थाले पछि प्रहरीले अलग्गै शाखा स्थापना गरी समाधानको प्रयास गरेको हो । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले सहकारी तथा वित्तिय क्षेत्रका समस्या समाधानका लागि प्रहरी कार्यालयमा अलग्गै शाखा स्थापना गरिएको बताए । ‘पछिल्लो समय नागरिकहरुका गुनासा बैकिङ कसुर, चेक अनादार, सहकारी सम्बन्धी कारोवार तथा मिटर ब्याज सम्वन्धी विषयमा धेरै हुन थालेकाले अलग्गै शाखा खोलेर समाधानका लागि प्रयत्न गरेका हौं’–एसपी भाग्येन्द्र पुरुष ढकालले भने–‘दोहोरो छलफलबाट आफै मिलापत्र गर्न चाहेको अवस्थामा सहजीकरण गरिदिने तथा कानूनले तोकेअनुसार सहजीकरण र समन्वय गर्ने काम उक्त शाखाले गरिरहेको छ । कानून अनुसार मुद्दा दर्ता गर्ने, अनुसन्धान गर्ने र पक्राउ पछि अदालतमा पेश गर्ने कार्य भईरहेको छ ।’ 
    प्रहरी कार्यालयमा अनुचित लेनदेन तथा मिटरब्याज सम्वन्धी ३५ वटा जाहेरी दर्ता भएका छन् । जसमा ११ वटा मिलापत्र भएका छन् भने छलफलका क्रममा २२ वटा छन् । सम्पर्कमा नरहेका २ वटा छन् । सहकारी ठगी सम्वन्धी २ वटा मुद्दा दर्ता भएका छन् । जसमा ३ जना पक्राउ परेका छन् । बचत फिर्ता नभएको तथा ऋण समयमा नतिरेको सम्बन्धी सहकारीका १२ वटा निवेदन दर्ता भएका छन् । १४ वटा मध्ये चालु १ वटा, पेण्डिङमा एउटा र एउटा निवेदनमा प्रतिवादी पक्राउ परेका छन् । 
    बैकिङ कसुर सम्बन्धी ४१ वटा निवेदन दर्ता भएका छन् । २०८० बैशाख देखि असोज १५ सम्म ४१ वटा निवेदन दर्ता भएका छन् । बैशाखमा ९, जेष्ठमा १२, श्रावणमा ५, भाद्रमा ११ र असोजमा ४ वटा गरी ४१ वटा निवेदन दर्ता भएका छन् । बैकिङ कसुर सम्वन्धी एउटा मुद्दा चालु अवस्थामा छ भने ४० वटा पेण्डिङमा छन् । एकजना प्रतिवादी बैकिङ्ग कसुरमा पक्राउ परेका छन् ।