2026 August 26/ 07:04: 47pm

बनेपा/बनेपा नगरपालिका वडा नम्वर १० मा रहेको गरुड सहकारीबाट १८ करोड अपचलन गर्ने संस्थाका अध्यक्ष बासुदेव खड्कालाई प्रहरीले ठगी अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । बचतकर्ताहरुको २५ करोड भन्दा धेरै रकम डुबेको सदस्यहरुले बताएका छन् । 
    सहकारीमा बचतकर्ताहरुले रकम फिर्ता माग्न थाले पछि बासुदेव खड्का शुरुमा फरार भए । फरारकै बीचमा श्रीमती प्रतिमा आचार्यसँग सम्वन्ध विच्छेद गरे । त्यसअघि उनिहरुको अंश विवादको मुद्दा अदालतमा विचाराधिन थियो । सबै सम्पति रोक्का हुँदा हुँदै फेरी मुद्दा फिर्ता लिएर रोक्का सम्पति फुकवा गरेर बासुदेवले श्रीमती आचार्यलाई सम्पति दिएको कागज तयार गरिएको छ । बासुदेवका दाजुको दुई परिवार भएकाले एक परिवारले अंश मुद्दा दर्ता गरेको थियो । परिवारका सदस्यको सम्पति समेत सरकारले विक्री गरेर बचत कर्ताहरुको रकम फिर्ता गर्ने घोषणा गरे पछि बासुदेवले एउटै ओछ्यानमा सुत्ने श्रीमतीसँग पनि सम्वन्ध विच्छेदको कागजात तयार गराए । परिवारमा पनि अलग्गै भएको कागजात बनाए । २०७९ फागुन ३० गते जिल्ला अदालत भक्तपुरमा बासुदेव खड्का र श्रीमती प्रतिमा आचार्यको ५ करोडको सम्पति लिएर अलग भएको उल्लेख छ । प्रहरी हिरासतमा श्रीमती प्रतिमा र ससुरालीको तर्फबाट मासु र भात लैजाने गरिएको छ । बचतकर्ताहरुले रकम फिर्ता मागे पछि फरार भएका अध्यक्ष खड्काले त्यहि अवधीमा श्रीमतिसँग सम्वन्ध विच्छेद गरेर ५ करोड रकम दिएको खुलासा भएको छ । सम्वन्ध विच्छेद गरेकी श्रीमती अहिले प्रहरी हिरासतमा श्रीमान खड्कालाई मासु र भातको कोसेली लिएर भेट्न जाने गरेकी छिन् । ५२ जना बचतकर्ताहरुले दिएको उजुरीका आधारमा खड्का पक्राउ परेका जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए । 
    बनेपा नगरपालिका वडा नम्वर १० मा रहेको गरुड बचत तथा ऋण सहकारी संस्था लिमिटेड डिभिजन सहकारी कार्यालयमा २१८७ नम्वरमा दर्ता छ । उक्त सहकारीमा बचत गरेको रकम समयमा फिर्ता नभएको भन्दै केहि महिना अघि देखि बचतकर्ताहरु आन्दोलित थिए । नगरपालिका, जिल्ला प्रहरी, जिल्ला प्रशासन, प्रदेश र संघको सहकारी विभागमा समेत उनिहरुले उजुरी गरेका थिए । ५२ जना बचतकर्ताको लिखित उजुरी पछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान शुरु गरेको थियो । त्यतिबेला संस्थाका अध्यक्ष बासुदेव खड्का फरार थिए । उजुरी गर्ने बचकर्ताहरुको ४ करोड ९२ लाख ४ हजार २ सय ६८ रुपैयाँ फिर्ता नगरेको उल्लेख छ । श्यामकृष्ण सिलवाल सहितले अध्यक्ष बासुदेव खड्का सहितले ठगी गरेकाले निजलाई पक्राउ गरी ठगी मुद्दामा कानून बमोजिम कारवाही गर्न माग गरेका थिए । 
    सोहि उजुरीका आधारमा अध्यक्ष वासुदेव खड्कालाई प्रहरीले असोज १ गते पक्राउ गरेको हो । भक्तपुर जिल्ला दधिकोट गाविस ४ घर भई हाल सुर्यविनायक नगरपालिका वडा नम्वर ४ घर भएका खड्का ४० वर्षका छन् । उनले खोलेको गरुड सहकारीमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई कर्मचारीका रुपमा नियुक्ति गरेका थिए । त्यहि क्रममा नियुक्ति गरिएका बनेपा १३ भैसेपाटीका राजिव विष्टलाई केहि समय पछि बासुदेवको श्रीमती पवित्रा आचार्यलाई अध्यक्ष राखेर खोलिएको छायाँश्वेरी सहकारीको ब्यवस्थापक बनाए । केहि समय छायाँश्वरी संचालन गरे । छायाँश्वरी सहकारीको दर्ता नम्वर २३९४ थियो । बनेपा १० मा रहेको गरुड र सोहि ठेगानामा रहेको छायाँश्वरी सहकारी बीच २०७७ माघ ८ गते एकिकरण घोषणा गरिएको थियो । कार्यरत राजिवलाई त्यहि समय देखि बासुदेव खड्काले हटाएका थिए । यता ब्यवस्थापकका रुपमा भक्तपुर सुर्यविनायक १० घर भएका रामगोपाल थापालाई नियुक्ति गरेका थिए । गरुडको कार्यकारी अधिकृतमा बासुदेव खड्काकै श्रीमती प्रतिमा आचार्यलाई नियुक्ति गरिएको थियो । कार्यालयमा नआए पनि उनका नाममा हरेक महिना पारिश्रमीक उपलब्ध गराउने गरिएको थियो । 
    एकीकरणका क्रममा भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशले संस्था एकीकरणका २१ बुँदे शर्त राखेर गरुड बचतका नाममा पत्र काटेको थियो । २०७७ माघ ८ गते जारी भएको उक्त पत्रमा उल्लेख भएको बुँदा नम्वर ७ मा गरुड र छायाँश्वरीको चुक्ता गर्नु पर्ने दायित्व एकीकरण पश्चात एकीकृत संस्था गरुडले दायित्व बहनको जिम्मेवारी रहने उल्लेख छ । त्यो बुँदा नहुँदा पनि ब्यवस्थापक भनिएका राजिव कुनै कारोवारमा संलग्न थिएनन र छैनन । विक्रमप्रसाद पाण्डेय रजिस्ट्रारद्वारा जारी गरिएको पत्रमा दुबै संस्थाका नाममा भएका कारोवारलाई गरुडका नाममा एकीकृत गर्ने उल्लेख छ । गरुड बचत तथा ऋण सहकारी संस्थाले २०८० साउन २४ गते बनेपा निवासी राजिव विष्ट आर्थिक कारोवार तथा संस्थामा कुनै पनि हिसाबले संलग्न नभएकाले चरित्रहत्या नगर्न अपिल गर्दै विज्ञप्ती जारी गरेको थियो । उपाध्यक्ष बेदप्रसाद सिग्देल, सचिव सलिना थापा र सदस्य बच्चुराम विष्ट, प्रवन्धक रामगोपाल थापाले राजिव विष्टलाई उक्त पत्र लेखेर दिएका छन् । विष्टको कुनै गतिविधीमा संलग्न नभए पनि प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । गरुड सहकारीको अध्यक्ष तथा छायाँश्वरी सहकारीको समेत गरेर बासुदेव खड्का आफैले विभिन्न ब्यक्तिका नाममा विना धितो १८ करोड ६२ लाख ५२ हजार रकम अपचलन गरेका छन् । बचकर्ताहरुलाई २५ करोड भन्दा धेरै फिर्ता दिन बाँकी छ । उनले विभिन्न ब्यक्तिका नाममा ऋण लिएर चलाएका हुन् । 
    राजकुमार लामगाने ९५ लाख, सुजन खेन १ लाख ५२ हजार, बासुदेव खड्का १३ लाख (गाडी कर्जा),  बासुदेव खड्का ६ करोड ५० लाख (जग्गा खरिद), रुसन श्रेष्ठ ७ करोड, सुबास सापकोटा ४ लाख, नारायणप्रसाद विक ४५ लाख, राजु श्रेष्ठ ४८ लाख, डम्बरबहादुर बस्नेत २९ लाख, नवराज अधिकारी ८ लाख, रामशरण भुजेल ९३ लाख, सुजित राणा ८५ लाख, कुमार गौतम २३ लाख, लक्ष्मी थापा ३ लाख ३० हजार, रविन्द्रप्रसाद लामा २८ लाख, सुरेश विक ५० लाख, मानकाजी लामागादी १८ लाख, राजकुमार तामाङ १७ लाख, माकुरी विक ३२ लाख, राजु रिजाल २६ लाख, राजु खड्का लाख (यो धितो श्रीमती प्रतिमा आचार्यको नाममा पास गरिएको छ ।), कृष्ण विक ५४ लाख, कुमार सुनार ३३ लाख, प्रेमबहादुर बराईली ३८ लाख, राधा मोक्तान ५ लाख ५० हजार, सविन थापा १२ लाख रुपैया समेत जम्मा १८ करोड ६२ लाख ५२ हजार रुपैया आफै चलाएका छन् ।