पनौती/पनौती नगरपालिका वडा नम्बर ४ मा एक घर, एक धारा कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ । पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, वडा अध्यक्ष दिपक दाहाल लगायत स्थानीयको उपस्थितिमा ज्यालापाटी स्थित वडा कार्यालयसँगै खानेपानी ट्यांकी शिल्यान्यास गरेर कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रम शुरु गर्दै नगर प्रमुख भण्डारीले सम्पुर्ण नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्ने दायित्व आफुहरुमा रहेको बताउनुभयो । आवश्यक संरचना तयार भई नसकेकाले एकीकृत खानेपानी मार्फत नगरवासीलाई खानेपानी उपलब्ध गराउने योजना तत्काललाई सफल नभएको समेत उहाँले स्विकार गर्नुभएको छ । नगरपालिकाकै आग्रहमा प्रदेश सरकाले नगरका विभिन्न वडामा खानेपानीको योजना सञ्चालन गर्न लागेको उहाँको भनाई थियो । प्रदेश अन्तर्गतका खानेपानी आयोजना कार्यान्वयनको सुरुवात ४ नम्बर वडाबाट भएको उहाँले बताउनुभयो । पनौती नगरपालिकाका वडामध्ये ४ नम्बरमा खानेपानकिो समस्या धेरै रहेकोबारे आफु जानकार रहेको भन्दै नगर प्रमुख भण्डारीले प्रकृयागत कारण केहि ढिलाइ भएपनि सबैले सहज रुपमा खानेपानी प्राप्त गर्ने अवस्था सिर्जना गर्ने विश्वास दिलाउनुभएको छ ।
वडा अध्यक्ष दिपक दाहालले वडाभित्र रहेका पानीको स्रोत संरक्षण गर्दै वडाका सबै घरधुरीमा स्वच्छ खानेपानी पु¥याउने बताउनुभयो । पानीको सदुपयोग गर्दै भण्डारणका लागि आवश्यक ट्यांकी निर्माण पहिलो चरणमा गर्ने वडाको योजना रहेको उहाँले बताउनुभएको छ । एकैपटक सबै ठाउँमा काम सुरुवात गर्न नसकेको बताउँदै अन्य ठाउँमा क्रमैसँग काम गर्ने बताउनुभयो । जिम्मेवारीको काम गुणस्तरीयता कायम गर्दै समयमै सम्पन्न गर्न उहाँले उपभोक्ता समितिलाई निर्देशन दिनुभएको छ । असल सुरुवातनै कामको सफलता भएको भन्दै उहाँले हालसम्मको कामको गतिले खुसी लागेको बताउनुभयो । प्रदेश सरकार र उपभोक्तको संयुक्त लागतमा ८२ हजार लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण कार्य सुरु भएको हो । ट्यांकी निर्माणका लागि १२ लाख ७२ हजार ८ सय ३० रुपैयाँ रकम विनियोजन भएको छ । जसमा प्रदेश सरकारको तर्फबाट ११ लाख ४५ हजार ७ सय ७२ रुयैयाँ र उपभोक्ता समितिको तर्फबाट १ लाख २७ हजार ५८ रुपैयाँ रहेको ज्यालचिटी खानेपानी उपभोक्ता समिति अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो ।
असोज ९ गतेबाट सुरु भएको ट्यांकी निर्माण कार्य माघ १० गते भित्र सम्पन्न गर्नुपर्नेछ । आयोजनाबाट ३ सय घरधुरी लाभान्वित हुने अक्कल थापाले जानकारी दिनुभयो । कार्यक्रममा पुर्व वडा अध्यक्ष वुद्धसिं थापा, वडा सदस्य प्रकाश बञ्जारा, उपभोक्ता समितिका पदाधिकारी एवं सदस्य लगायत स्थानीयको उपस्थिती रहेको थियो ।





