2026 August 26/ 07:04: 33pm

बनेपा/सरकार निर्माण व्यवसायीको पिडामा मुकदर्शक बनेको व्यवसायीहरुले गुनासो गरेका छन । निर्माण व्यवसायी संघ काभ्रेको १३ औं वार्षिक साधारण सभामा बोल्दै निर्माण व्यवसायीहरुलेले राज्यले आफुहरुको समस्या नवुझेको बताएका हुन् ।
    निर्माणजन्य सामाग्रीको अस्वभाविक मुल्यवृद्धिको मारमा व्यवसायी परेको उनीहरुको गुनासो छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिं ले आफुहरु बाध्य भएर सडकमा आउनुपरेको बताउनुभयो । उहाँले सरकारलाई वुझाइएको ९ बुँदे माग कार्यान्वयन हुने विश्सास व्यक्त गर्नुभएको छ । खानी तथा क्रसर बन्दको असर, वन, विद्युत प्राधिकरणले समयमा काम नगर्दाको दोष समेत निर्माण व्यवसायीलाई लगाएर बदनाम गर्ने प्रयास भइरहेको उहाँको आरोप छ । निर्माण सम्पन्न भएको कामको समेत राज्यले व्यवसायीलाई भुक्तानी नदिएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले व्यवसायीले उठाएका जायज माग पुरा गर्नका लागि समन्वय गर्न आफु तयार रहेको भन्दै लापरबाही भने स्विकार्य नभएको बताउनुभयो । 
    जिल्लामा रहेका क्रसर तथा खानीलाई मापदण्ड अनुसार सञ्चालन गर्नका लागि पटक–पटक निर्देशन दिइएको उहाँको भनाई थियो । यस्तै निर्माण व्यवसायी संघ काभ्रेका निवर्तमान अध्यक्ष एवं केन्द्रिय सदस्य उपेन्द्र घिसिङले निर्माण उद्योग चलाएमान नभए देश विकासले गति लिन नसक्ने बताउनुभयो । निर्माण क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ३०÷३५ लाख व्यक्तिलाई रोजगारी दिइरहेको उहाँको भनाई छ । पछिल्लो समय व्यवसायीहरु उद्योग बन्द गरेर लाइसेन्स हातमा लिएर बस्नुपर्ने अवस्थामा रहेको उहाँको गुनासो थियो । नेकपा माओवादी केन्द्र काभ्रेका संयोजक भोला अर्यालले आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा पनि व्यवसायीको पक्षमा काम गर्न नसकिएको स्विकार गर्नुभएको थियो । निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष विजय लामाले निर्माण क्षेत्रलाई सहज बनाउनका लागि विभिन्न निकायसँग सहजीकरणका लागि समन्वय र खबरदारी गरिरहेको बताउनुभयो । जिल्लाका स्थानीय तहले करोडौं बजेट विनियोजन गरे पनि फर्म नविकरणमा एकरुपता नभएको अध्यक्ष लामाको भनाई छ । सबै स्थानीय तहमा नविकरण शुल्क एउटै कायम गर्न समेत उहाँले माग गर्नुभएको छ । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारी, प्रदेश महासंघ कार्य समितिका पदाधिकारी एवं सदस्य, विभिन्न जिल्लाका अध्यक्ष, काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके लगायतले मन्तव्य राख्नुभएको थियो ।