2026 August 26/ 07:04: 47pm

लम्पि स्किन प्रभावित किसानलाई ५ हजार राहत, २८ जना उत्कृष्ट किसान सम्मानित
    बनेपा/गौरीशंकर साना किसान कृषि सहकारीले लम्पी स्किन रोगका कारण मृत्यु भएका पशुहरुको क्षतिपूर्ति स्वरुप आफ्ना शेयर सदस्यलाई ५÷५ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ । 
    संस्थाको १२ औं वार्षिक साधारण सभाको अवसर पारेर ३३ जना कृषकलाई राहत उपलब्ध गराएको गौरीशंकर साना किसान कृषि सहकारीका अध्यक्ष सिताराम भट्टराईले जानकारी दिनुभयो । यस्तै व्यवसायिक कृषि गर्ने २८ जना कृषकलाई कृषक सम्मान कार्यक्रम अन्तर्गत सम्मान गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम र संस्थाका अध्यक्ष सिताराम भट्टराईले उहाँहरुलाई सम्मान गर्नुभएको हो । २० भन्दा बढी बाख्रा पालन गर्ने, कम्तीमा ५ वटा दुहुनो गाई भैसी भएको, ३ रोपनी क्षेत्रफल भन्दा बढीमा व्यवसायीक तरकारी खेती गर्ने तथा कम्तीमा ५ सय कुखुरा पाल्ने कृषकबाट उत्कृष्ट कृषक छनौट गरिएको हो । २०६८ सालमा स्थापित पाटीचौर साना किसान सहकारी र २०५७ सालमा स्थापना भएको श्री गौरीशंकर बहुउद्देश्यीय सहकारीबीच २०७८ चैत २२ गते एकीकरण भएको थियो । गौरीशंकर साना किसान कृषि सहकारीमा अहिले १ हजार ६ सय ५० जना शेयर सदस्य रहेका छन । जसमध्ये पुरुष ६३२ जना र महिला १ हजार १८ जना रहेका छन् भने बाल बचत कर्ता ५ सय ३ जना रहेका छन । १३ वटा अन्तरसमुह रहेका छन । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले किसानको सम्मान नभएसम्म देशको उन्नति नहुने बताउनुभयो । नेपालमा ६२ प्रतिशत भन्दा बढी जनता कृषि पेशामा आबद्ध भएपनि अरुको मुलुकबाट सामान आयात नभएको दिनमा भोकै बस्नुपर्ने अवस्था रहेको उहाँको भनाई थियो । कृषि पेशालाई सम्मानित पेशाको रुपमा गर्व गर्ने वातावरण नबनेसम्म किसान खुसी हुन नसक्ने उहाँको तर्क थियो । जुन दिनसम्म किसानलाई अपहेलना गर्दै दोस्रो दर्जाको नागरिकको रुपमा हेरिन्छ त्यो दिनसम्म नेपालको प्रगति असम्भव रहेको उहाँको ठोकुवा छ । कृषकको समस्यामा कसैले ध्यान नदिएको गुनासो गर्दै समन्वय समिति प्रमुख गौतमले जनप्रतिनिधिको रुपमा किसानको समस्यामा केहि गर्न नसकेकोमा आफु पनि लज्जित रहेको बताउनुभयो । कार्यक्रममा काभ्रे जिल्ला कृषि सहकारी संघका अध्यक्ष सुमन नेपालले रासायनिक मल अभाव, बाली बीमामा समस्या, प्रिमियम अनुदान प्राप्तीमा कठिनाई जस्ता समस्या किसानले भोग्नु परेको गुनासो गर्नुभएको छ । उहाँले ऋणको सदुपयोग गर्दै उद्यमी बन्न पनि आग्रह गर्नुभयो । 
    कार्यक्रममा धुलिखेल नगरपालिकाका उप–प्रमुख निराजन जंगम, वडा नम्बर १२ का वडा अध्यक्ष मोहनप्रसाद लामिछाने, कृषि ज्ञान केन्द्र काभ्रेका प्रमु्ख कुल प्रसाद दवाडी, काभ्रे जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, संस्थाका उपाध्यक्ष सुवर्ण श्रेष्ठले लगायतले कषि सहकारीको भुमिका र चुनौतीको बारेमा धारणा राख्नुभएको थियो । १२ औं साधारण सभाको अवसरमा उत्कृष्ट ऋणी माया तामाङ, उत्कृष्ट बचतकर्ता सुमन तामाङ, उत्कृष्ट समुह कुरगाउँ सौरा, उत्कृष्ट अन्तरसमुहको रुपमा जाकीडोललाई सम्मान गरिएको छ । सभामा आर्थिक वर्ष २०७९÷८० को लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन राधाकृष्ण फैजु, ऋण उपसमितिको प्रतिवेदन संयोजक चन्द्रमान तामाङ, पशु बिमा उपसमितिको प्रतिवेदन हर्कजित तामाङ, प्रबन्धकको तर्फबाट प्रकाश कुमार श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाको कुल वासलात ११ करोड ९९ लाख ८३ हजार २ सय ७४ रुपैयाँ रहेको छ । जसमध्ये कुल बचत ८ करोड ३६ लाख ७९ हजार ९ सय ३६, कुल शेयर ८३ लाख ८७ हजार २ सय र कर्जा जोखिम कोष ४४ लाख ४६ हजार ३ सय २९ रुपैयाँ रहेको छ ।