धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ‘स्मार्ट कन्ट्रोल रुम’ शुरुवात गरिएको छ । प्रविधीसँगै सेवा र प्रहरी आफै स्मार्ट बन्ने छ ।
‘प्रहरीको सहयोग जसलाई चाहिएको छ उसले दिएको सूचनाका आधारमा तत्कालै प्रहरी परिचालन गर्न अर्थात प्रहरी तत् स्थानमा पुग्न एपको प्रयोग महत्वपूर्ण हुनेछ’– प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले भने– ‘१०० नम्वर, सिसिटीभी, एप, रेडियो सेट, प्रहरी कन्ट्रोल रुममा प्राप्त भएका सूचनालाई प्रमुख मानिनेछ ।’ प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्मार्ट कन्ट्रोल रुमको उद्घाटन गर्दै स्मार्ट सेवासँगै प्रविधि र जनशक्ति पनि स्मार्ट बनाउनु पर्ने बताईन् ।
‘स्मार्ट कन्ट्रोल रुम’ ले नागरिहरुले १०० नम्वरबाट दिने सूचनाका साथै कम्युनिकेसन ब्रान्च र प्रहरीको एपबाट आउने सूचनालाई केन्द्रित गरेर प्रभावकारी कार्यान्वयन गर्नेछ । अनुसन्धानमा खटिने प्रहरीलाई सशक्त बनाउन यो एपले थप सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताए । ‘प्रविधी मैत्री कार्यले नागरिकलाई सहज सेवा उपलब्ध गराउन मद्दत पु¥याउँछ’–प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्–‘शान्ति सुरक्षालाई थप मजबुत बनाउन प्रविधी मैत्री सेवा सहयोगी बन्नेछ ।’ थोरै जनशक्तिबाट धेरै कार्य गर्नु पर्ने अवस्थालाई प्रविधीमैत्री सेवाले सहयोग पुग्ने बताउँदै प्रजिअ शर्माले नागरिकहरुले १०० नम्वरको टेलिफोन मार्फत प्रहरीले शुरु गरेको प्रविधीको उपयोग गर्न सकिने बताईन् । ‘नागरिक र प्रहरी बीचको गुनासोको दुरी कम गराउन सहयोग पुग्नेछ’–प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन–‘भौतिक दुरी घटे पनि सेवाको दायित्व प्रहरीको बढेको छ । नागरिकहरुलाई अझै सेवालाई सहज र सरल बनाउन प्रविधी महत्वपूर्ण हुनेछ ।’
तत्काल मातहत इकाईलाई सूचना प्रदान गर्न, सम्वन्धित ईप्रका तथा चौकी इन्चार्जलाई जिम्मेवार बनाउने, डिस्प्याच भएको रेकर्ड दुरुस्त रुपमा राख्न, सूचना समयमा नपाएको गुनासो हुन नदिन, जिपिएस सिस्टमबाट पीडितको लोकेसन ट्रयाक गर्न सहज हुने, परिचालन चुस्त र दुरुस्त हुने, सम्पूर्ण प्रहरी परिचालन अभिलेखीकरण हुने तथा महिला तथा बालबालिका सम्वन्धि घटना गोप्य रुपमा परिचालन गर्न उक्त एप महत्वपूर्ण हुने प्रहरी निरिक्षक राजु केसीले बताए । उक्त एपको निर्माण प्रहरी निरिक्षक राजु केसीले गरेका हुन् । स्मार्ट कन्ट्रोल रुमको प्रयोगका लागि कल ट्रान्सफर र एसएमएसको प्रयोग गर्न सकिनेछ । कन्ट्रोल रुममा प्राप्त भएका सूचनालाई संचार हुँदै सिस्टममा पठाए पछि स्वतः अनुकुलतामा प्रहरी परिचालन हुनेछ भने प्रहरीलाई प्राप्त भएका सबै सूचनाहरुको अभिलेख रहनेछ । सूचना दिनेले पनि आफुले दिएको सूचनाको कार्यान्वयनका बारेमा तीन वर्षसम्मको अभिलेख हेर्न सक्नेछ । उक्त एपमा जिल्लामा हुने महत्वपूर्ण घटना तथा कार्यक्रमका बारेमा नियमित सूचना पनि प्राप्त हुनेछ । सर्वसाधारण र प्रहरी स्वंयमका लागि पनि एप अपराध न्यूनिकरण र प्रहरीको सेवा प्राप्तीका लागि सहज हुने प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताए ।





