प्रजिअ नै नक्कली
धुलिखेल/विदेशीहरुलाई घरमै नागरिकता पु-याउने कर्मचारीहरुलाई कारवाहीका लागि सिफारिस भए पनि त्यसअघि पनि काभ्रेबाट किर्ते नागरिकता बनाउने क्रमको निरन्तरता रहेको खुलासा भएको छ । पछिल्लो समय नागरिकता वितरणमा कडाई भए पनि जनप्रतिनिधि निर्वाचित हुनु अघि नागरिकता खरिद विक्री र किर्ते हुने गरेको पछिल्ला घटनाहरुले पुष्टी गरेको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयले दोहोरो नेपाली नागरिकता लिएको कसुर अपराधमा पक्राउ परेकी आशा लामाले काभ्रेबाट किर्ते विवरण पेश गरी नागरिकता लिएको पुष्टी भएको छ । २०६२ साल कार्तिक २४ गते १४४५९१ नम्वरको नेपाली नागरिकता लिँदाको बखत पेश गरेका अनुसुची फाराममा उल्लेख गरेका कागजातहरु नक्कली भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यतिबेलाको नागरिकताको अनुसुची फेला नपरेको प्रशासनले जानकारी दिएको छ । हेटौडा नगरपालिका वडा नम्वर १०, मकवानपुर जन्मस्थान भएकी आशा लामाले कुरुवास चापाखोरी गाविस ९ स्थानीय ठेगाना राखेर २०६३ साल कार्तिक २४ गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नागरिकता लिएकी थिईन् । जोनी तामाङ लामा श्रीमान र कमलबहादुर लामा बाबुको नाम राखेर नागरिकता लिएकी आशाले मकवानपुरबाट अर्काे नागरिकता लिएकी छिन् ।
प्रहरी वृत्त थानकोटले काभ्रेपलाञ्चोक जिल्ला साविक ठुलो पर्सेल गाविस वडा नम्बर ६ घर भई २०७३ साल पुष ६ गते सुजन नेपालीले ४५४९२ नम्वरको नागरिकता बनाएका छन् । उनका बाबु सुकदेव नेपाली र आमा कमला नेपाली उल्लेख छ । प्रहरीले पक्राउ गरेका दिपक थापा मगरको साथमा सुजन नेपालीको नागरिकता फेला परेको छ । यातायात ब्यवस्था कार्यालय ठुलो भ¥याङ काठमाडौको जाहेरीका आधारमा दिपक थापा मगर पक्राउ परेका थिए । सरकारी कागजात किर्ते तथा नेपाली नागरिकता किर्ते (लिखत सम्वन्धी) कसुर मुद्दामा थापा मगर पक्राउ परेका थिए । उनले विभिन्न ब्यक्तिका नाममा नागरिकता किर्ते गरेर बनाएको खुलेको छ । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट २०७३ साल पुष ६ गते जारी भएको भनिएको सुजन नेपालीको ४५४९२ नम्वरको नागरिकता जिल्लाको अभिलेखमा छैन । उक्त नागरिकता जारी भएका बखत प्रमुख जिल्ला अधिकारी हरिशरण आचार्य र प्रतिलिपी दिने प्रमुख जिल्ला अधिकारी हरिबहादुर दाहाल पनि काभ्रेमा कार्यरत छैनन । शुरुको नागरिकतामा हरिशरण आचार्य र प्रतिलिपी नागरिकतामा हरिबहादुर दाहाल नाम राखेर नागरिकता बनाएको खुलेको छ । पछिल्लो प्रतिलिपीको मिति २०७८ कार्तिक २ गते राखिएको छ ।





