2026 August 26/ 07:04: 49pm

    धुलिखेल/नेपाली सेना कालीजंग गण धुलिखेलको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागितामा गौखुरेश्वर महादेव मन्दिरमा सरसफाई गरिएको छ । श्रावण, माघ तथा तीज लगायतका अन्य पर्वमा लाग्ने मेलाका कारण गौखुरेश्वर मन्दिरमा हरेक समय भिड हुने गरेको छ । स्वस्थानीमा समेत उल्लेख भएको गौखुरेश्वर महादेव मन्दिरको सरसफाईमा तीन तहकै सुरक्षा निकायको सहभागिता रहेको हो । 
    ‘गौखुरेश्वर महादेव मन्दिरमा तीजमा लाग्ने मेलाका सहभागिलाई पनि दर्शन गर्न सहज होस भन्ने उदेश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको हो’–कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भने । सरसफाई कार्यक्रममा नेपाली सेना कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंह, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकाल लगायतको सहभागिता रहेको थियो । नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीले गौखुरेश्व मन्दिर र आसपासका क्षेत्रमा बाबुको मुख हेर्ने दिन अर्थात कुशै औशीको अवसरमा सरसफाई गरिएको हो । 
    त्यसैगरी नेपाली सेना कालीजंग गण धुलिखेल, स्वास्थ्य कार्यालय काभ्रे र धुलिखेल नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा धुलिखेल स्थित गौखुरेश्वर महादेव मन्दिरमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा शिविर आयोजना गरएको हो । 
    गौखुरेश्वर महादेव मन्दिर परिसरमा आएका भत्तालुहरुको स्वास्थ्यमा आउन सक्ने र अन्य स्वास्थ्य समस्याका बारेमा शिविरमा परिक्षण गरिएको थियो । शिविरमा महिला, पुरुष, बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । यस अघि नेपाली सेना काली जंग गण, नेपाल प्रहरी, शशस्त्र प्रहरी काभ्रेले सोहि क्षेत्रमा सरसफाई गरेका थिए । शिविरबाट भक्तालुहरु लाभान्वित भएको कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले बताए ।