बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सल्लाहकार, पुर्व अध्यक्ष तथा चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक, नेपाल समाचारपत्र दैनिकका जिल्ला संवाददाता, प्राईम एफएम १०४.५ मेगाहर्ज, जनआस्था साप्ताहिक लगायतका विभिन्न संचारमाध्यममा आवद्द कृयाशिल संचारकर्मी मोतीराम तिमल्सिनालाई मलद्वारमा सून लुकाई तस्करी गरेको सन्र्दभको समाचार प्रकाशन गरेको भन्दै नेपाली काँग्रेस काभ्रेका नेता कार्यकर्ताहरुले गोली ठोक्ने धम्की दिएका छन् ।
प्रेस चौतारी नेपाल केन्द्रिय समिति, जिल्ला समिति लगायतका विभिन्न संघ संगठनहरुले धम्कीका विरुद्ध विज्ञप्ती प्रकाशित गर्दै भत्र्सना गरेका छन् । चौतारीका केन्द्रिय महासचिव हिरामान लामा, जिल्ला अध्यक्ष भुवन रायमाझीले जारी गरेको विज्ञप्तीमा धम्कि दिनेहरु विरुद्ध कारवाहीको माग गर्दै स्वतन्त्र प्रेसको संरक्षण गर्न माग गरिएको छ । सुन तस्करीमा काँग्रेसका नेता तथा कार्यकर्ताहरु संलग्न रहेको समाचार प्रकाशन भए लगत्तै काँग्रेका नेता कार्यकर्ताहरुले पत्रकार तिमल्सिनालाई सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की दिएका हुन् । ‘समाचार किन लेखेको ? समाचारमा किन हाम्रो नेताको नाम जोडेको भन्दै गोली ठोक्ने र तरबारले छिमोल्ने धम्की दिईएको छ’–पत्रकार तिमल्सिनाले भने–‘धम्की दिनेमा नेपाली काँग्रेस निकट तरुण दलका जिल्ला सभापति सुजन लामा, नेविसंघका जिल्ला नेता सुरज तिमल्सिना, बाबु राज लगायतका दर्जनौ नेता कार्यकर्ताहरुले चरित्र हत्या हुने गरी तथ्यहिन कपोलकल्पित र भ्रामक स्टाटस समेत पोस्ट गरेका छन् ।’ तर समाचारमा उल्लेख भएका विषयमा खण्डन गरिएको छैन । सून तस्करीमा काभ्रेका तीन जना नेपाली काँग्रेसका कार्यकर्ता पक्राउ परेका छन् भने मुख्य योजनाकार विकास योञ्जन फरार छन् । अर्का लगानीकर्ता नविन दोङ्ग छन् । पक्राउ परेकाहरुको साथबाट चेक समेत बरामद भएको छ । लगानीकर्ता र संगठित तस्करका विषयमा अनुसन्धान भईरहेको छ । त्यहि अनुसन्धान प्रभावित बनाउन थप समाचार प्रकाशन नहोस् भन्ने हेतुले पत्रकार तिमल्सिनालाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले धम्कि दिएका हुन् । चेष्टा साप्ताहिकमा कार्यरत कार्यकारी सम्पादक तिमल्सिना प्रतिको धम्कि प्रति निन्दा ब्यक्त गरेको छ । यस्ता घटनाबाट पत्रिका र कार्यकारी सम्पादक तिमल्सिनालाई नआतिलन, सत्य र तथ्य निश्पक्षताका लागि निरन्तर कृयाशिल रहन समेत विभिन्न संघ संस्था र ब्यक्तिले अनुरोध गरेका छन् ।
तर नेपाल पत्रकार महासंघ काभ्रे शाखाले घटनाका बारेमा मुख खोल्न सकेको छैन । एकजना संचारकर्मीलाई गोली ठोक्ने धम्कि दिँदा महासंघ नबोली मौन रहनुमा रहस्य हुन सक्ने आंकलन पाठकहरुले गरेका छन् । ‘पत्रकारलाई संकट पर्दा पत्रकार महासंघ बोल्न सक्दैन भने त्यसले पत्रकारहरुको हितका लागि के काम गर्न सक्छ ?’–पत्रकार महासंघ काभ्रेका दुई पटक निर्वाचित पुर्व सभापति भोजराज तिमल्सिनाले भने ।





