2026 August 28/ 12:07: 23am

बनेपा/चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुबाको मुख हेर्ने दिनको अवसर पारी बुधबार संस्थामा आवद्ध ७५ बर्ष भन्दा माथी उमेर समुहका ९० जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । ‘जेष्ठ सदस्य ‘पिता’ कार्यक्रम दोश्रो वर्ष आयोजना गरिएको संस्थाका अध्यक्ष नविन बादेले जानकारी दिए । 
    संस्थाले यसै वर्षबाट आमा सम्मान कार्यक्रम पनि शुरु गरेको छ । मातातिर्थको अवसर पारेर आमाहरुलाई सम्मान गरिएको अध्यक्ष नविन बादेले बताए । ‘संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत बार्षिक कार्यक्रम आयोजना गरी बुबा आमा सम्मान, तिर्थाटन कार्यक्रम आयोजना गरिएको छ’–संस्थाका सह सचिव एवं सामाजिक कृयाकलाप कार्यक्रम संयोजक रोशना राजवंशीले भनिन–‘तिर्थाटनमा यो वर्ष संस्थामा आवद्ध ६० वर्ष भन्दा माथी उमेर समुहका ५ सय भन्दा धेरै सदस्य मध्ये ३ सय ९८ जना सहभागि भए । ६० वर्ष देखि ७५ वर्ष उमेर समुहका जेष्ठ सदस्यहरुलाई तिर्थाटन अभिभावक भएको महसुस गराएको छ ।’ संस्थाले सदस्यहरुका लागि सिपमुलक कार्यक्रम, स्वास्थ्य शिविर, रक्तदान लगायतका दर्जनौ कार्यक्रमहरु आयोजना गरिरहेको छ । १० हजार भन्दा धेरै शेयर सदस्य रहेको उक्त सहकारी नेपालकै नमुना सहकारी हो । विश्व स्तरका सहकारीको मापदण्ड अनुसार चण्डेश्वरीले सहकारीका बचत तथा ऋणको कारोवार र ब्यवसाय प्रर्वद्धनका कार्यक्रम गरिरहेको छ ।     कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार एवं पुर्व अध्यक्ष विकास बादेले जेष्ठ सदस्यहरुको आर्शिवादले मात्रै पछिल्लो पुस्ताले गरेका कार्यहरु सफल र सन्तुष्ट हुने बताए । सल्लाहकारहरु बालभक्त प्रधान, इन्द्रनारायण भैल, हेमन्त प्रधान, संस्थाका उपाध्यक्ष रमेशकाजी श्रेष्ठ लगायतले चण्डेश्वरी सहकारी हरेक सदस्यहरुको दुखसुखमा सँगै रहने संस्थाका रुपमा रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, संस्थाका सचिव बुद्धरत्न मानन्धर लगायतले जेष्ठ नागरिकहरुको सम्मानले आगामी पुस्ताका लागि पनि अनुशरण हुने बताए । प्रमुख कार्यकारी अधिकृत झोलेन्द्रप्रसाद दाहालले सहकारीले जेष्ठ सदस्यहरुको सम्मान संस्कृतिको संरक्षण र सन्तानहरुको मायामा इट्टा थप्ने कार्य भएको बताए ।  जेष्ठ सदस्यहरुका लागि ब्लाङ्ककेट, विस्कुट र नेवारी समुदायले दिने सगुन मार्फत सम्मान गरिएको ब्यवस्थापक रविन्द्रभक्त पोटेले जानकारी दिए ।