2026 August 26/ 06:59: 42pm

सूचनाको दुई वर्ष पछि खारेजीको तयारी
    
मोतीराम तिमल्सिना
धुलिखेल

    सुन तस्करीमा संलग्न भई पक्राउ परेका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिारिङले निमा तामाङका नामबाट नेपालको नागरिकता प्राप्त गरेको विषयमा ‘निमा तामाङको नागरिकता छानविन गठित समितिको प्रतिवेदन २०८०’ ले दिएको निर्देशन अनुरुप जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निजको नागरिकता खारेजी प्रकृया शुरु गरेको छ । २०७८ सालमा निमा तामाङ विदेशी नागरिक भएको र झुठा विवरण पेश गरी नागरिकता लिएको पुष्टी भएको थियो । 
    २०८० भदौ १८ गते सोमबार हाजिर भएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा शुक्रबार भाद्र २२ गते जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट, सहायक प्रमुख जिल्ला अधिकारीको निर्णयका साथ गृह मन्त्रालयमा नागरिकता र राहदानी खारेजी तथा संलग्न कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकी हुन् । निरन्तर समाचार प्रकाशन पछि गृह मन्त्रालयले मन्त्रालयका उप सचिवको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । 
    छानविन समितिले नागरिकता जस्तो विषयमा गहिरो अध्ययन अनुसन्धान तथा छानविन नगरी पर्याप्त प्रमाण एव अनुसुची १ रहेको वा नरहेको यकिन नगरी मिति २०७४ पुष २० गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट प्रदान गरिएको नागरिकता प्रमाण पत्र नम्वर ३०–०१–७४–११८६८ को निमा तामाङको नागरिकता प्रमाणपत्र प्राप्त गर्ने प्रकृयामा सनाखत गर्ने तत्कालिन नायब सुब्बा रामचन्द्र अर्याल (हाल अधिकृत छ्रैटौं पदमा यातायात ब्यवस्था कार्यालय सानो भ¥याङ्गमा कार्यरत) र नागरिकतामा हस्ताक्षर गर्ने तत्कालिन प्रशासकीय अधिकृत हाल मेलम्ची नगरपालिकाको कार्यालय सिन्धुपाल्चोकमा प्रशासकीय अधिकृत पदमा कार्यरत झपेन्द्रराज खरेललाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काभ्रे मार्फत लेखी पठाउन सुझाव दिएको थियो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त प्रकरणमा संलग्न सम्पूर्ण कर्मचारीहरुलाई आवश्यक कारवाहीका लागि मन्त्रालयमा सिफारिस गरेकी हुन् । 
    छानविन समितिको निश्कर्षका आधारमा निज निमा तामाङलाई नेपालको प्रचलित कानुन बमोजिम नेपालको नागरिकता र नेपालको राहदानीबाट हटाउनेतर्फ आवश्यक कारवाही र नेपालमा निजले गरेका अन्य कसुरका सम्वन्धमा समेत प्रचलित कानुन वमोजिम आवश्यक कारवाही अगाडी बढाउन उपयुक्त हुने देखिन्छ भन्ने प्रतिवेदन छानविन समितिले गृह मन्त्रालयमा दिएको थियो । ‘प्रतिवेदनका आधारमा निजको नेपालको नागरिकता र राहदानीबाट हटाउन जिल्लाबाट आवश्यक निर्णय सहित मन्त्रालय पठाएका हौ’–प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन–‘उनी पक्राउ परेर सिआईवीले समेत अन्य विषयमा अनुसन्धान गरिरहेकाले उनिसँग जोडिएका अन्यको हकमा पनि कानून अनुसार हुने छ ।’ विदेशी नागरिकको हकमा नेपाल सरकारले मात्रै निर्णय गर्न सक्ने ब्यवस्था अनुसार जिल्ला प्रशासन कार्यालयले निमाको नागरिकता र राहदानी खारेजीका लागि मन्त्रालय पठाउने निर्णय गरेको हो । 
    ‘छानविन समितिले दिएको निर्देशन अनुसार जिल्लाले गर्नु पर्ने आवश्यक प्रकृया पुरा गरी संलग्न कर्मचारीलाई कारवाही, नागरिकता र राहदानी खारेजीका लागि शुक्रबार मन्त्रालय पठाएका छौं’–प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन–‘जिल्लाको नागरिकको हकमा नागरिकता रद्द गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने भए पनि विदेशी नागरिकको हकमा मन्त्रालय स्तरबाट निर्णय गर्नु पर्ने भएकाले आवश्यक प्रकृया सहित मन्त्रालय पठाएको छु ।’ निमा तामाङको हकमा मन्त्रालयस्तरबाटै छानविन समिति गठन भएकाले मन्त्रालयले नै यसका बारेमा निर्णय गर्नेछ । छानविन समितिले नेपाल प्रहरी विधिविज्ञान प्रयोगशालाको परिक्षण प्रतिवेदन अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका निमा तामाङ भन्ने ब्यक्तिको नेपालको राहदानी प्राप्त प्रयोजनार्थ राहदानी विभागमा रहेको औंठाछाप र बेल्जियमका राहदानी बाहक दावा छिरिङ्गको औंठाछाप मेल खानुले निमा तामाङ र दावा छिरिङ्ग दुई फरक ब्यक्ति नभई एकै ब्यक्ति भएको पुष्टि भएको साथै निजले झुठा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी प्राप्त गरेको कुरामा कुनै द्धविधा रहेन भन्ने निश्कर्ष निकालेको छ । 
    निमासँगै नागरिकता प्राप्त गरेका पासाङ तामाङ तथा अन्य विदेशीहरुले जिल्लाबाट नागरिकता लिएका सन्र्दभमा गृहमन्त्रालय मौन छ । त्यसमा संलग्न कर्मचारी र विदेशीहरुका सन्र्दभमा सिआईबीले पनि अनुसन्धान गरिरहेकाले मन्त्रालय मौन रहेको श्रोतले बतायो । पासाङ तामाङ र निमा तामाङका बाबुको नाम पेमा तामाङ राखिएको छ । एकै दिन एकै ठेगानाबाट एउटै बाबु राखेर नेपाली नागरिकता लिएका नागरिकता प्रमाण पत्र नम्वर ३०–०१–७४–११८६५ का पासाङ तामाङलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न गृह मन्त्रालयले सुझाव दिएको थियो । यो विषयमा भने प्रशासन कार्यालय अझै मौन छ । त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाबाट हालसम्म निमा र पासाङ बाहेक राम लामा, सोनाम लामा र सोनाम छिरिङ लामा, तेन्जिङ गुरुङले नेपाली राहदानी लिएको प्रमाणीत भएको छ । 
    २०८० भदौ ११ गते छानविन समितिले गृह सचिवलाई १ सय ६८ पृष्ठको प्रतिवेदनको बुझाएको छ । उप सचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा बनेको समितिले १० वटा विषयमा अध्ययन गरेर प्रतिवेदन तयार गरेको छ । छानविन समितिमा काभ्रेमा कार्यरत डिएस्पी ढुण्डीराज न्यौपाने, काभ्रे प्रशासनमा कार्यरत अधिकृत मिनराज थापा, अध्यागमन विभागमा कार्यरत खेमराज सापकोटा र गृह मन्त्रालयमा कार्यरत प्रमोद विक सदस्य थिए । संचारमाध्यममा प्रकाशित समाचार पछि गठित छानविन समितिले गरेको अध्ययनका आधारमा तत्कालिन समयमा नागरिकता वितरणमा संलग्न तत्कालिन अधिकृत झपेन्द्रराज खरेल, सुब्बा रामचन्द्र अर्याल, वडा अध्यक्ष भनिएकी सरस्वती पण्डित कार्की, वडा अध्यक्ष कृष्णबहादुर लामा र तत्कालिन प्रमुख जिल्ला अधिकारी शिव शिंखडा समेतलाई बयान लिएको थियो ।     राहदानी विभागबाट लिएको राहदानीमा प्रयोग भएको औठा छाप र नागरिकता अभिलेखमा उल्लेख भएको औठा छाप फरक परेको छ । समितिले २०७४ पुष २० गते ३०–०१–७४–११८६८ नम्वरको निमा तामाङको नागरिकता फोटो सहितको ढड्डा र सिएमआईएस अभिलेख रहेको तर अनुसुची १ फारम अभिलेख नभेटिएको तथा मौकामा गरिएको सर्जमिन मुचुल्का तथा छानविन तहकिकतामा प्राप्त प्रमाणका आधारमा नागरिकता प्रमाणपत्र किर्ते जालसाझी गरी लिएकोले उक्त कार्यमा संलग्नलाई आवश्यक कानूनी कारवाही गर्न सुझाव दिएको थियो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा तत्कालिन अवस्थामा र हाल कार्यरत सम्वन्धित शाखाका कर्मचारीहरुसँग नभेटिएको अनुसुची फारमको विषयमा अनुसन्धान गरिँदा फेला नपरेकाले कारवाहीका लागि काभ्रेपलाञ्चोकलाई लेखी पठाउन निर्देशन दिएको छ । 

राजनीतिक सेटिङ्ग     
    सुन तस्करमा संलग्न दावा भियना होटेलका सञ्चालक हुन् । श्रीमती अमला रोक्काको नाममा होटल छ । सोही होटलमा सुनको बिषयमा छलफल हुने गरेको अनुसन्धाबाट खुलेको छ । ठमेलमा रहेको भियना होटलमा राजस्व अुनसन्धन विभागको टोलीले छापा मारेको थियो । त्यसपछि दावा समातिएका हुन् । चिनियाँ मूलका बेल्जियमका नागरिक हुन् दावा । उनी लामो समयदेखि नेपाल बस्दै आएका थिए । तस्करीसँग दावाको पुरानो कनेक्सन भए पनि राजनीतिक व्यक्तिको छत्रछाँयामा सुरक्षित थिए । विभागले त्यस अघि पक्राउ गरेका व्यक्तिहरुको बयान र थप लिंकलाई पछ्याउँदै जाँदा अनुसन्धान टोली दावासम्म पुगेको थियो । नेपालमा अपराधसँग दावाको कनेक्सन देखिएको पहिलो हैन । विभिन्न घटनामा उनी जोडिएका छन् । ठगीदेखि सुन तस्करीसम्म उनको कनेक्सन देखिएको छ । तर उनी पटक–पटक प्रहरीको अपरेसनमा भने जोगिँदै आएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र चीनको एनसीबी बेइजिङको संयुक्त अपरेसनमा २०७६ पुस ७ गते १२२ जनालाई नियन्त्रणमा लिइएको थियो । त्यसमा पनि दावा थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई अभद्र व्यवहारमा समेत जनही एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने आदेश गरेको थियो । त्यसपछि भिषा सकिएको भन्दै उनीहरुलाई चीन नै फर्काइएको थियो । उनीहरुलाई चीनबाट नेपाल ल्याएर आपराधिक कार्यमा संलग्न गराउने मुख्य योजनाकारमा दावाको नाम थियो । तर उनी अनुसन्धानको घेराभन्दा बाहिर नै रहे ।
    श्रीमती अमला रोक्का मार्फत नेपालका राजनीतिक दलका नेतादेखि प्रहरीसँग दावाको कनेक्सन देखिएको छ । रोल्पामा जन्मिएकी अमलाको माओवादी नेता वर्षमान पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्तीलगायतसँग सम्पर्क छ । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरासँग पनि दावाको राम्रो बसउठ देखिएको छ । दावा पत्नी रोक्का एकै पार्टीको सहयोद्धा रहेकोले पारिवारिक भेटमा उक्त तस्विर खिचिएको पुनको दाबी छ । चिनियाँ नागरिकको संलग्नतामा सुन ल्याएर काठमाडौंको सोह्रखुट्टे, बालुवाटरमा गोदाम लिएर राखिएको खुलासा भएको छ । त्यस्तै टोखामा रहेको फ्याक्ट्रीमा लगेर सुन गालेर भारततर्फ तस्करी गर्ने गरेको पनि प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीको खोजी सूचीमा रहेकी अमला अहिले फरार छिन् । अमला रोक्काका दुईवटा श्रीमान रहेको खुलासा भएको छ । 

कर्मचारीको हावी 
    नागरिकता विक्री गर्ने कार्यमा खरेल, तत्कालिन अधिकृत भुपेन्द्र पाण्डेय, सुब्बा रामचन्द्र अर्याल, कम्प्युटर अधिकृत हिराकाजी तामाङ, कार्यालय सहयोगी विष्णु गौतम संलग्न थिए । अर्याल सरुवा हुने क्रममा २०७५ साउन ३ गते हराएका नागरिकताका अनुसुची सबै उपलब्ध गराउने शर्तमा कागज गराईएको थियो । तत्कालिन समयमा प्रमुख जिल्ला अधिकारी शिव सिंखडा थिए । राहदानी विक्री गर्ने कार्यमा संलग्नलाई पनि सिआईबीले अनुसन्धान गरिरहेको छ । तत्कालिन वडा अध्यक्ष कृष्णबहादुर लामाले २०७८ सालमै दावा भनिने निमा तामाङ नमोबुद्ध ११ का नागरिक नभएको र उनका लागि नागरिकताको सिफारिस पनि नभएको पत्र सिआईबी र जिल्ला प्रशासन कार्यालय काभ्रेलाई पठाएका थिए । पछिल्लो क्रममा कृष्णबहादुर राउत प्रमुख जिल्ला अधिकारी हुँदा अनुसुची ब्यवस्थापन गर्ने क्रममा एक वर्षको अवधीमा ३ सय ५० वटा नागरिकताका अनुसूची नभएको विवरण फेला परे पछि गृह मन्त्रालयमा उक्त सूची सहित विवरण बुझाएको भए पनि २०७५ साल देखि नै नागरिकता विक्री गर्ने कार्यमा संलग्न कसैलाई पनि कारवाही भएको थिएन । त्यहि सूची भित्रका हुन् निमा र पासाङ । कर्मचारीहरुले विदेशीलाई घरमा नै नागरिकता उपलब्ध गराएको तथ्य खुलेको छ । 

विदेशीको संख्या छ पुग्यो 
    सुन तस्करीसँग जोडिएका विदेशी ब्यक्तिहरुको साथमा नेपाली नागरिता फेला परेसँगै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी) को टोलीले गरेको अनुसन्धानमा थप एक जनाले नागरिकता र राहदानी जिल्ला प्रशासन कार्यालय काभ्रेबाट लिएको खुलेको छ । काभ्रेबाट नागरिकता र राहदानी बनाउने विदेशीहरुको संख्या ६ पुगेको छ । 
    सिआईवीले ३०३०५९–२८९ नम्वरको नागरिकताबाट १२६०७५९४ नम्वरको राहदानी लिने ब्यक्तिका बारेमा विस्तृत विवरण पठाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका नाममा भाद्र २४ गते आईतबार पत्राचार गरेको थियो । २०४३ साल असोज ९ गते जन्म मिति राखेर काभ्रेपलाञ्चोकको ठेगाना राखिएका सोनाम लामा काभ्रेका हैनन । उनको राहदानी २०७८ पुष २१ गते काभ्रेबाटै जारी भएको छ । रादहानी र नागरिकता जारी गर्दाका बखत पेश गरिएका कुनै कागजात जिल्ला प्रशासन कार्यालयको रेकर्डमा छैनन । तर अभिलेखमा उनले काभ्रेबाट राहदानी लिएको उल्लेख गरिएको छ । सोनामको नाममा जारी भएको नागरिकता जिल्ला प्रशासन कार्यालय काभ्रेको अभिलेखमा अर्कै ब्यक्तिका नाममा देखिएको छ । रामेछाप माईती भई काभ्रेको साविक भिमखोरी गाविस घर भएकी एक महिलाका नामाम २०६३ सालमा जारी भएको नागरिकता नम्वर सोनामले बनाएको राहदानीमा प्रयोग भएको छ । 
    सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङ्ग भनिने निमा तामाङले २०७४ पौष २० गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नागरिकता लिएका थिए । २०७८ सालमा पनि उनका बारेमा अनुसन्धान भएको थियो । नागरिकता लिन प्रयोग भएका अनुसुचीहरु गायव बनाईएको, विदेशी भएको तथा विभिन्न अपराधिक कृयाकलापमा संलग्न भएको पुष्टी भए पनि दावालाई कारवाही नभएको मात्रै होईन उनको नागरिकता पनि रद्द गरिएको थिएन । दावाले आफ्नै दाजु बनाएर बाबु पेमा तामाङ राखेर पासाङ तामाङका नाममा चिनियाँ नागरिकलाई एकै दिन नागरिकता दिलाएका थिए । उनि को हुन् ? के गर्दैछन् अझै खुलेको छैन । 
‘चिनिया नागरिक ली नेङकाईको साथमा राम लामा र सोनाम लामा नामका दुईवटा राहदानी बरामद भएका छन्’–श्रोतले बतायो–‘राम र सोनामले एकै दिन काभ्रेबाट २०७८ पुष ८ गते राहदानी लिएका हुन् । उनिहरुले लिएको राहदानी अनुसारको नागरिकता नम्वर भने गृहमन्त्रालयको रेकर्डमा भेटिदैन ।’ 
    राम लामाको जन्म २०५३ बैशाख १५ गते राखिएको छ । नागरिकता नभएकाले ठेगाना प्रष्ट छैन । १२५८९४५७ नम्वरको राहदानी लिएका रामको नागरिकता नम्वर ३०३०४१–२२५४ हो । यो जिल्लाको अभिलेखमा नक्कली हो । यस्तो खालको नम्वर काभ्रेबाट जारी भएको नागरिकतामा छैन । सोनामको राहादानी नम्वर १२५८९४५६ र नागरिकता नम्वर ३०३०४२–२२५४ हो । जन्म मिति २०५३ भदौ ७ राखिएको छ । नागरिकता र राहदानीको नम्वर सँगै छ । उनिहरु दुबै जना नेपाली हैनन । प्रहरीको रेकर्डमा भने दावा, सोनाम र रामको मात्रै नागरिकता फेला परेको थियो । अनुसन्धानमा पासाङ र तेन्जिङ पनि फेला परेका छन् । तेन्जिङको राहदानी नम्वर ११८८०३१ हो । २०२०–२–२४ अथार्त २०७६ फागुन १२ गते काभ्रेपलाञ्चोक जिल्लाबाट लिएको राहदानीमा २०३९ जेठ २४ गते जन्म मिति राखिएको छ । त्यसमा काभ्रेपलाञ्चोक जिल्ला जन्म स्थान उल्लेख गरिएको छ । अन्य ब्यक्तिहरु पनि विदेशी भएको आशंका गरिएको छ । कर्मचारीहरुको संख्या पनि थपिएको छ । 

 

सिआईवीमा सिफारिस भएका कर्मचारीको विवरण 
प्रमुख जिल्ला अधिकारी– शिवप्रसाद सिंखडा (हालः सेवा निवृत)
अधिकृत – भुपेन्द्र पाण्डेय (हालः प्रमुख प्रशासकिय अधिकृत, रुपन्देही)
अधिकृत – झपेन्द्रराज खरेल (हालः सूचना अधिकारी, मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक)
नायव सुब्बा – रामचन्द्र अर्याल (हालः सुब्बा, यातायात कार्यालय, गुर्जाेधारा)
कप्युटर अपरेटर – हिराकाजी तामाङ (हालः वडा सचिव, चौरीदेउराली गाउँपालिका काभ्रे)
नायव सुब्बा – रमेश नेपाल, हाल अन्यत्र कार्यालयमा कार्यरत
कम्प्युटर अपरेटर (करार, हाल छाडिसकेको)– गोमा पराजुली
कम्प्युटर अपरेटर (करार, हाल छाडिसकेको)– विश्वराज मैनाली
कार्यालय सहयोगी– विष्णु गौतम (हाल सेवा निवृत)