2026 August 27/ 11:47: 30pm

    अर्थमन्त्री डा.प्रकाशरण महतले आर्थिक क्षेत्र अझै चलायमान हुन नसकेको बताएका छन् । आर्थिक क्षेत्र चलायमान नहुँदा मुलुकले विकासको बजेट बढाउन नसकेको अर्थमन्त्री महतले बताए । 
    जिल्ला समन्वय समिति काभ्रेको ७ औ जिल्ला सभाको उद्घाटन गर्दै मन्त्री महतले बैदेशिक ऋणको किस्ता, स्वदेशी ऋणको साँवा ब्याज र सामाजिक सुरक्षाको दायित्वका कारण विकास बजेट खुम्चिन गएको अर्थमन्त्री महतले बताए । ‘आन्तरिक राजश्व संकलनमा भएको गिरावट र ऋणको भारका कारण देशभर सोचेजस्तो विकासका लागि बजेट विनियोजन हुने सकेन’–अर्थमन्त्री महतले भने–‘आर्थिक क्षेत्र चलायमान नहुँदा लगानीको वातावरण बन्न सकेन । लगानीको वातावरण बढाउँदै आत्मविश्वास बढाउने चुनौती अझै कायम छ ।’ पुँजीगत खर्चको प्रभावकारीता, श्रोतको सदुपयोग गरी आयोजनाहरु समयमै सम्पन्न गर्ने प्रयास गरेको भए पनि सरकारसँग श्रोतको सिमितताका कारण आयोजनाहरु समयमै सम्पन्न हुन नसकेको र निर्माण ब्यवसायीहरुको काम गरेको रकम भुक्तानी हुन नसकेको अर्थमन्त्री महतले बताए । 
    समन्वय समिति प्रमुख दिपककुमार गौतमले सातौं जिल्ला सभाले २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जिल्लाको समग्र विकासका लागि तीन तहकै सरकार र सरोकारवाला निकायसँग समन्वय गर्ने बताए । स्थानीय तहबाट प्राप्त ०.५ प्रतिशतको कन्टिजेन्सी रकम खर्चलाई ब्यवस्थित गर्ने कार्यविधी शंशोधन गरी समन्वय तथा अनुगमन कार्यविधी पारित गरिएको प्रमुख गौतमले बताए । एक वर्ष अवधीमा भएका विभिन्न कार्यहरुलाई १८ बुँदामा प्रस्तुत गर्दै समन्वय प्रमुख गौतमले चालु वर्षका लागि ५५ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे । २०७९÷०८० मा जिल्ला समन्वय समितिलाई संघीय सरकारबाट १ करोढ ४१ लाख ४५ हजार रुपैया प्राप्त भएकोमा उक्त बजेटबाछ १ करोड २१ लाख १२ हजार खर्च भएको समन्वय प्रमुख गौतमले बताए । बागमती प्रदेश सरकारबाट प्राप्त ४० लाख बजेटमा ३८ लाख ६४ हजार खर्च भएको छ । जिल्ला समन्वय समिति मौज्दात कोषबाट स्थानीय तहमा संचालन भएका १ सय ३४ वटा योजनाहरुमा रकम विनियोजन भएकोमा ५५ वटा चालु अवस्थामा छन् ।     सभामा पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटा, पुर्व राज्यमन्त्रीहरु, सांसद्हरु, स्थानीय तहका जनप्रनिधिहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा लिजामा उत्कृष्ट पालिका बनेपा र खानीखोला तथा स्थानीय तह जोखिम मुल्यांकनमा उत्कृष्ट धुलिखेल र महाभारतलाई सम्मान गरिएको थियो । त्यस्तै सांगितिक कार्यक्रममा नेपालकै दोश्रो हुन सफल काभ्रे कुशादेवीका शरद हुमागाईलाई बधाई सहित सम्मान गरिएको थियो भने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई पनि विदाई सहित जिल्लामा रहँदा उत्कृष्ट सेवा प्रदान गरिएकोमा सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख रिमबहादुर तामाङ, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले जिल्ला समन्वय समितिले गरिरहेको सहजिकरण र समन्वय प्रभावकारी भएको बताएका थिए ।