2026 August 26/ 06:59: 20pm

         नमोबुद्ध/नमोवुद्ध नगरपालिका स्थित भकुण्डेमा रहेको मेथिनकोट अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । मिर्गौला रोगीलाई केन्द्रित गर्दै आजबाट डायलासिस सेवा शुभारम्भ गरिएको हो । सेवा सुचारु गर्नुअघि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले अवलोकन गर्नुभएको थियो । ५ वटा अत्याधुनिक मेसिनबाट मृगौलाको डायलासिस गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले जानकारी दिनुभयो । काठमाण्डौका अस्पतालमा डायलासिस गर्न नपाएर विरामी महिनौं कुर्नुपर्ने बाध्यताको अन्त्यका लागि मेथिनकोट अस्पतालले सूचारु गरेको सेवा प्रभावकारी हुने सभापति खतिवडाले बताएका छन् । 
         बागमती प्रदेशको काभ्रे सहित आसपासका जिल्ला  तथा कोशी र मधेश प्रदेशको मध्य भागमा रहेको अस्पतालले धेरै नागरिकलाई गुणस्तरीय समेत सेवा पुर्याउने उनको विश्वास छ । काठमाण्डौंका सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सेवा मेथिनकोट अस्पतालले दिइरहेको खतिवडाको भनाई थियो । मे.सु. डा. मधुकर दाहालले अस्पताललाई ट्रमा सेन्टर र डायलासिस सेवाको उत्कृष्ट अस्पतालको रुपमा विकसित गर्ने योजना रहेको पनि जानकारी दिनुभयो । त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । तीन तहको समन्वयका कारण नै अस्पतालले सेवा विस्तार गर्दै लगेको नगर प्रमुख कुन्साङ लामाले बताउनुभयो । काठमाण्डौं उपत्यका सुविधासम्पन्न अस्पतालले दिने सेवा मेथिनकोट अस्पतालले प्रवाह गरिरहेको उहाँको भनाई छ । जनस्वास्थ्य प्रयोगशाला वागमती प्रदेश प्रमुख नारायण कार्कीले अस्पताललाई आवश्यक उपकरण सहयोगको घोषणा गरेका छन् । अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद खनालले प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीय अस्पताल बनेको भन्दै सेवा प्रवाहमा उल्लेख्य प्रगती गरेको बताउनुभयो । माथिल्लो निकायबाट हुने अवलोकन र मार्गनिर्देशनले सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सम्भव भएको उहाँले बताउनुभयो । अस्पताल भवन निर्माणको प्रकृया थालिएको पनि उहाँले जानकारी दिनुभयो । अस्पतालका प्रशासन प्रमुख कमल भुर्तेलले गरिब तथा विपन्न नागरिकलाई सहुलियत दिँदा कहिलेकाँही प्रश्न उठ्ने गरेको भन्दै कार्य योजनामा नै स्पष्ट पार्न अनुरोध गर्नुभएको छ । मेथिनकोट अस्पतालमा सेवा विस्तार भएसँगै बिरामीहरुको चाप बढ्दै गएको छ । अस्पताललाई १५ बेडबाट ५० बेडमा स्तरोन्नती गरिएको छ । अस्पतालमा हृदयघातका बिरामीका लागी पहिलो चरणको खोप निशुल्क उपलब्ध रहेको छ भने मानसिक रोगको उपचार, डायलासिस सेवा, हार्डजोर्नि, बाल विशेषज्ञ, सम्पुर्ण ल्याबको सेवा, रेविज खोप लगायतका थुप्रै सेवाहरु उपलब्ध रहेको छ । यस्तै नेपाल सरकारले तोकेको २ सय ५० थरिका औषधिहरु निःशुल्क रुपमा उपलब्ध रहेको मे.सु. डा. मधुकर दाहालले जानकारी दिनुभयो । त्यसैगरी अस्पतालमा वि ग्रेडको एम्बुलेन्स सेवा, द्वन्द्वका समयमा घाईतेहरुको निःशुल्क उपचार, रक्त सञ्चार सेवा उपलब्ध रहेको बताउदै डा. दाहालले अस्पतालमा फिजियोथेरापी सेवा र भवनको आवश्यकता रहेको बताउनु भयो ।