बनेपा/बनेपा फुटबल एकेडेमीले फुटबल प्रशिक्षण सुरु गरेको छ । काभ्रेबाट राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ स्थापना भएको एकेडेमीमा हाल ६० जना खेलाडीहरु प्रशिक्षण लिइरहेका छन ।
बनेपा फुटवल एकेडेमीले आयोजना गरेको सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । एकेडेमीले काभ्रे जिल्लामा फुटवल क्षेत्रको विकासका लागि बनेपा फुटवल क्लव र माउन्ट एभरेष्ट क्लवसँगको सहकार्यमा खेल क्षेत्रको विकासका लागि कार्य गर्दै आइरहेको छ । बनेपा र काभ्रे जिल्लालाई खेलको माध्यमबाट राष्ट्रिय स्तरमा परिचित गराउन संस्था स्थापना गरिएको बनेपा फुटवल एकेडेमीका अध्यक्ष निरोज शाक्यले जानकारी दिएका छन । उनका अनुसार एकेडेमीले जुनसुकै उमेर समुहका फुटवल खेलाडीलाई न्युन शुल्कमा फुटबल प्रशिक्षण दिनेछ । आर्थिक अवस्था कमजोर भएका र एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरुलाई स्थानीय विद्यालयहरुमा छात्रवृत्तिमा अध्ययन गराउन एकेडेमीले पहल गर्ने उपाध्यक्ष मनिष भोछिभोयाले जानकारी दिए । एकेडेमीबाट प्रशिक्षण दिई व्यवसायीक खेलाडी उत्पादन गर्ने संस्थाको लक्ष्य रहेको उनको भनाई छ । बनेपा फुटवल एकेडेमीले विभिन्न उमेर समुहको जिल्ला व्यापी फुटवल प्रतियोगिता समेत आयोजना गर्दैछ ।
कार्यक्रमका प्रमुख अतिथी बनेपानगरपालिका वडा नंम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीले दक्ष खेलाडी उत्पादनका लागि आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । एकेडेमीका अध्यक्ष निरोज शाक्यको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन सचिव सागर मानन्धरले गरेका थिए ।





