संस्थापक र उत्कृष्ट विद्यार्थी सम्मानित
पनौती/पनौतीमा रहेको इन्द्रेश्वर क्याम्पसको २२ औं स्थापना दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ । कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उप–प्रमुख गीता बञ्जारा, संविधान सभा सदस्य रामहरी सुवेदी, क्याम्पस सञ्चालक समिति अध्यक्ष तुयुकाजी ताम्राकार लगायत शैक्षिक क्षेत्रमा आवद्ध विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो । सोहि अवसरमा क्याम्पसले सञ्चालन गरेको परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीलाई नगद सहित मेडल र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख श्रीकुमार सुवालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले क्याम्पसले सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गरेको बताउका छन । गत आर्थिक वर्षमा विद्यार्थीहरबाट विभिन्न शुल्क, विश्व विद्यालय अनुदान आयोग, पनौती नगरपालिका, प्रदेश सरकार, बैंक ब्याज मार्फत ७० लाख २७ हजार ९ सय ६९ आम्दानी भएको छ । यस्तै तलव, पारिश्रमिक, कार्यालय सञ्चालन, किताव, पुस्तकालय, स्टेशनरी लगायतमा ७० लाख २० हजार ५ सय ११ रुपैयाँ खर्च भएको क्याम्पस प्रमुख सुवालले जानकारी दिएका छन ।
२०५८ साल भाद्र १० गते त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई व्यवस्थापन संकाय तर्फ तीन वर्षिय स्नातक तहको कार्यक्रम सञ्चालन शुभारम्भ गरेको क्याम्पसमा हाल विविएस, विएड, विए, एमविएस र विएएसडब्लु कार्यक्रम सञ्चालित छन् । इन्द्रेश्वर क्याम्पसमा २ सय ५१ विद्यार्थी अध्ययनरत छन । यसैबिच क्याम्पस स्थापना दिवसको अवसर पारेर संस्थापक केदार बहादुर भण्डारी, अमृतमान गोछे र सप्तकाजी वुद्धाचार्यलाई सम्मान गरिएको छ । यस्तै सञ्चालक समिति उपाध्यक्ष राजेश श्रेष्ठले स्वर्गिय पिताको सम्झनामा क्याम्पसमा २ लाख १ हजार १ सय ११ रुपैयाँको छात्रवृत्ति अक्षय कोष स्थापनाको लागि सहयोग गरेका छन । कार्यक्रममा बोल्दै नगर प्रमुख रामशरण भण्डारीले शैक्षिक क्षेत्रमा इन्द्रेश्वर क्याम्पसले खेलेको भूमिका प्रसंसनीय रहेको बताए । उनले क्याम्पसले सिप सहितको व्यवहारिक शिक्षा सुरु गर्नुपर्नेमा जोड दिएका छन । यस्तै उप–प्रमुख गीता बञ्जाराले नियमित परिक्षा, अवलोकन, मुल्यांकनमा जोड दिन आग्रह गरेकी छन् । सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रुपमा परिचित क्याम्पसको संस्थागत विकासका लागि नगरपालिकाले सहयोग गर्ने बताएकी छन । यस्तै क्याम्पस सञ्चालक समिति अध्यक्ष तुयुकाजी ताम्राकारले क्याम्पस क्युएए प्राप्त गर्ने प्रकृयामा रहेको भन्दै सहयोगको लागि सबैलाई आग्रह गरेका छन ।





