धुलिखेल/जिल्ला सरकारी वकिल कार्यालयलाई थप जिम्मेवारी प्रदान गरिएकाले त्यसको गुणस्तर र प्रभावकारीतामा ध्यान दिन महान्याधीवक्ता डा. दिनमणी पोखरेलले सरकारी वकिलहरुलाई निर्देशन दिएका छन् । ‘जिम्मेवारी बढेको छ, सेवाग्राहीको अपेक्षा बढेको छ’– महान्यायाधीवक्ता पोखरेलले भने–‘सेवा त्रुटीरहित हुनेछ । अब्बल सेवाका लागि ध्यान दिनुस ।’
जिल्ला सरकारी वकिल कार्यालय काभ्रेको नवनिर्मित भवनको समुद्घाटन गर्दै महान्यायाधीवक्ता पोखरेलले भने–‘मुद्दा अभियोजन र बहस मात्रै होईन । मानव अधिकारको संरक्षण गर्ने कार्यमा लाग्न, सजाँयमा छुट दिने निर्देशिका कार्यान्वयनमा प्रभावकारीताको अपेक्षा बढेको छ ।’ सरकारी वकिल कार्यालयलाई पछिल्लो समय थप जिम्मेवारी बढेको बताउँदै महान्यायाधीवक्ता पोखरेलले साईबर क्राईम, चेक अनादार, मिलापत्र, फौजदारी संहितामा भएका नयाँ ब्यवस्थाको कार्यान्वयनमा सक्रिय र प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिए । ‘भवन एउटा अवसर हो । राम्रो भवनमा बसेर सेवा प्रदान गर्न पाउनु काम गर्ने र सेवा पाउनेलाई सहज हो तर त्यसका चुनौती धेरै छन् । ‘भवन जस्तै सेवालाई गुणस्तर बनाउन साधन श्रोत सम्पन्न बनाउनु पर्छ’– पोखरेलले भने–‘थप जिम्मेवारी र अपेक्षा बढेको छ ।
अवसर र चुनौतीका रुपमा लिनु आवश्यक छ ।’ देशभर रहेका ९७ वटा सरकारी वकिलका कार्यालय मध्ये ८० वटाको निर्माण सम्पन्न भएको छ । बाँकी कार्यालय निर्माणको चरणमा रहेको नायव महान्यायाधीवक्ता विश्वनाथ कोईरालाले बताए । ‘सेवा र जिम्मेवारीमा अझै प्रभावकारीता कायम गर्न भवनले थप सहजता निम्त्याएको छ’– कोईरालाले भने –‘थपिएका जिम्मेवारी पुरा गर्न तथा नयाँ नयाँ जिम्मेवारीका विषयमा अध्ययन गर्न सक्षम जनशक्तिको आवश्यकता छ । त्यसका लागि पनि तयार हुनु आवश्यक छ ।’ कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले भवनको सुन्दरतासँगै सेवामा सुन्दरताका लागि सुझाव दिए । जिल्ला न्यायाधीश मोहनराज भट्टराई, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकाल लगायतले सरकारी वकिल कार्यालय मार्फत प्रदान हुने सेवाको गुणस्तरमा थप सहज हुने बताएका थिए ।
जिल्ला न्यायाधीवक्ता शम्भुकुमार बस्नेतले २०७९ असार २० गते शिल्यान्यास गरेको उक्त भवन समयवाधी भित्रै सम्पन्न भएको बताए । नव निर्मित भवन, प्रविधिमैत्री, अपाङ्ग मैत्री तथा अनुसन्धान मैत्री छ । करिव ५ करोड रुपैयामा उक्त भवन निर्माण भएको हो ।





