2026 August 26/ 03:50: 56pm

    धुलिखेल/सिन्धुली कमलामाई ३९ बर्षिया निता गौतम दोश्रो पटक मृगौलामा देखिएको १० एमएम साईजको पत्थरी निकाल्न धुलिखेल अस्पताल आईपुग्नु भयो । चार वर्ष अघि गौतमको मृगौलाबाट १९ एमएमको पत्थरी निकालिएको थियो । गौतम जस्तै धुलिखेल अस्पतालमा मंगलबार एकै दिन भक्तपुर कमलविनायक घर भएकी २८ बर्षिया विनिता अवाल र पाँचखाल ३ घर भएकी २१ बर्षिया अनिता तामाङको मृगौलामा रहेको पत्थरी नौलो प्रविधीबाट फुटाईएको छ । 
    ‘पहिले १९ एमएमको मृगौलामा रहेको पत्थरी फुटाउन चिर्नु परेको थियो, अप्रेसन गर्दा भएको घाउ लामो समयसम्म निको नहुँदा ब्यहोर्नु परेको सास्ति भनिसाध्य छैन’– निता गौतमले भनिन–‘चारवर्षमा नै पुनः निरन्तर पेट दुखेकाले परिक्षण गर्दा १० एमएमको पत्थरी मृगौलामा देखिएकाले अस्पताल आएँ । अस्पतालले शुरु गरेको मृर्गौलाको पत्थरी फुटाउने नौलो प्रविधीबाट आज मंगलबार पत्थरी निकालिएको छ । विगतको तुलनामा धेरै सहज भयो । मलाई पत्थरी निकालेको प्रविधि यो पटक धेरै सहज र सरल भएको अनुभुति भयो ।’ भक्तपुर कमलविनायक घर भएकी २८ बर्षिया विनिता अवालको मृगौलामा १३ एमएमको पत्थरी देखियो । स्वास्थ्य कार्यालय भक्तपुर हुँदै धर्मभक्त अस्पताल पुग्दा समेत धुलिखेलमा अस्पतालमा भएको नयाँ प्रविधीका बारेमा जानकारी भयो । त्यहि प्रविधिबाट उपचार गराउन धुलिखेल आउँदा अवाल दंग परिन् । उनकै माईजुको समयमै पत्थरी ननिकाल्दा मृगौला नै निकाल्नु परेको कारुणीक घटना सम्झेर पनि विनिता समयमै अस्पताल आईपुग्नु भयो । नयाँ प्रविधीबाट मृगौलामा भएको पत्थरी निकालिँदा विनिताको अनुहारमा खुशीको सिमा छैन । 
    पाँचखाल ३ घर भएकी २१ बर्षिया अनिता तामाङ अविवाहित हुन् । निरन्तर ढाड र पेट दुखेर अस्पताल पुगेकी अनितालाई मृगौलामा १३ एमएमको पत्थरी भएको जानकारी भयो । धुलिखेल अस्पतालल गरेको नौलो प्रविधीको उपचारले सहज र सरल भएको अनिताले बताईन् । उनिहरु तिनै जनाको बुधबार डिस्चार्ज हुन्छ । अस्पतालले शुरु गरेको नौलो विधीको उपचार विधीबाट खुशी र सन्तुष्ट भएको उनिहरुले बताएका छन् । यस्तो विधीको उपचारबाट पछिल्ला चार महिनामा एक सय भन्दा धेरैले उपचार पाएको अस्पचालका युरोसर्जरी विशेषज्ञ डा. सुजन माकजुले बताए । स्वास्थ्य विमा गरेका नागरिकहरुले यो विधीको सेवा लिँदा २० देखि ३० हजार रुपैयासम्म तिर्नु पर्नेछ भने अन्यको हकमा ७५ हजारसम्म लाग्ने छ । यहि विधीको सेवा नीजि अस्पतालबाट लिँदा ६ लाख रुपैयासम्म तिरेको सेवाग्राहीले बताए । धुलिखेल अस्पतालमा कम शुल्कमा गुणस्तरीय र प्रविधीमैत्री सेवा शुरु गरेकोमा खुशी लागेको विरामी विनिता अवालले बताईन् ।