धुलिखेल/सुन तस्करीसँग जोडिएका विदेशी ब्यक्तिहरुको साथमा नेपाली नागरिता फेला पर्ने क्रम रोकिएको छैन । २०८० भाद्र १० गते आईतबार साँझसम्म जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ६ जना विदेशी नागरिकले फर्जि कागजात तयार गरी नागरिकता र राहदानी लिएको प्रमाणीत भएको छ । दावा सुन भन्दा पहिला नागरिकता र राहदानीको तस्करी गर्ने गरेको खुलेको छ । तस्करीका कारण सस्तो बनेको छ नागरिकता ।
काभ्रेबाट नेपालीका नाममा नागरिकता र राहदानी लिएका विदेशी नागरिकहरुमा दावा छिरिङ भनिने निमा तामाङ, पासाङ तामाङ, सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा र पछि फेला परेका तेन्जिङ्ग सोनाम तामाङ रहेका छन् । उनले २०७८ असोज १९ गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट राहदानी लिएका हुन् । उनको राहदानी नम्वर १२४२६०४२ हो । नागरिकता नम्वर ३०३०७५–१८४३ नम्वरको नागरिकता भए पनि काभ्रेबाट जारी भएको देखिदैन । तर काभ्रेपलाञ्चोक जिल्लाको नागरिकता कोड नम्वर ३०३० नै हो । उनको जन्म मिति २०४७ कार्तिक १८ गते उल्लेख छ । अभिलेखमा काभ्रेबाट नागरिकता नदेखिए पनि सोहि नागरिकताका आधारमा राहदानी लिएको खुलेको छ । उनलाई पनि दावा मार्फत नै नागरिकता दिलाएको खुलासा भएको छ । पक्राउ परेका विदेशीहरुको साथबाट बरामद भएका कागजातका आधारमा पछिल्लो पटक तेन्जिङ सोनाम तामाङको नामको नागरिकता र राहदानी फेला परेको सिआईवीले जानकारी दिएको छ ।
‘चिनियाँ नागरिक ली नेङकाईको साथमा राम लामा र सोनाम लामा नामका दुईवटा राहदानी बरामद भएका छन्’–श्रोतले बतायो–‘राम र सोनामले एकै दिन काभ्रेबाट २०७८ पुष ८ गते राहदानी लिएका हुन् । उनिहरुले लिएको राहदानी अनुसारको नागरिकता नम्वर भने गृह मन्त्रालयको रेकर्डमा भेटिदैन ।’ राम लामाको जन्म २०५३ बैशाख १५ गते राखिएको छ । नागरिकता नभएकाले ठेगाना प्रष्ट छैन । १२५८९४५७ नम्वरको राहदानी लिएका रामको नागरिकता नम्वर ३०३०४१–२२५४ हो । यो जिल्लाको अभिलेखमा नक्कली हो । यस्तो खालको नम्वर काभ्रेबाट जारी भएको नागरिकतामा छैन । सोनामको राहादानी नम्वर १२५८९४५६ र नागरिकता नम्वर ३०३०४२–२२५४ हो । जन्म मिति २०५३ भदौ ७ राखिएको छ । नागरिकता र राहदानीको नम्वर सँगै छ । उनिहरु दुबै जना नेपाली हैनन । प्रहरीको रेकर्डमा भने दावा, सोनाम र रामको मात्रै नागरिकता फेला परेको छ । सिआईवीले गरेको अनुसन्धानमा पासाङ, तेन्जिङ र तेन्जिङ्ग सोनाम थपिएका छन् । तेन्जिङको राहदानी नम्वर ११८८०३१ हो । २०२०–२–२४ अथार्त २०७६ फागुन १२ गते काभ्रेपलाञ्चोक जिल्लाबाट लिएको राहदानीमा २०३९ जेठ २४ गते जन्म मिति राखिएको छ ।
‘सिआईवीले गरिरहेको अनुसन्धानबाट निमा भन्ने दावा तामाङले आफु सहित अन्य ५ जना ब्यक्तिलाई काभ्रे जिल्लाबाट नागरिकता तथा राहदानी उपलब्ध गराएको खुलेको छ’–श्रोतले भन्यो–‘केहिलाई नागरिकता र राहदानी दुबै र केहिलाई फर्जि नागरिकताका आधारमा सक्कलै राहदानी दिलाएको गृह मन्त्रालयको रेकर्डमा देखिएको छ ।’ दावाको सेटिङ्गमा केहि कर्मचारीहरु खुलेर नै सक्रिय भएको पनि सिआईवीले अनुसन्धानमा फेला पारेको छ । तर नागरिकताका बारेमा छानविन गर्न गठन भएको छानविन समिति भने राजनीतिक दबावका कारण निश्क्रिय जस्तै भएको छ । पहिलो चरणमा ७ दिन र थप ७ दिनको म्याद पाएको छानविन समितिको म्याद सकिएको केहि दिन हुँदा समेत प्रतिवेदन समेत बुझाउन सकेको छैन । काभ्रेबाट एक वर्षको अवधीमा ३ सय ५० वटा नागरिकता अनुसुची विना विक्री गरिएको खुलासा यस अघि नै गरिसकेको थियो ।
‘गृह मन्त्रालयमा बुझाईएको उक्त प्रतिवेदन न गृहमा, न जिल्लामा कतै फेला परेको छैन’–छानविन समितिका एक सदस्यले भने–‘के गर्ने भन्ने अन्योलमा परेको छ समिति ।’ तत्कालिन समयमा नागरिकता र राहदानी उपलब्ध गराउने कार्यमा तत्कालिन अधिकृतद्वय भुपेन्द्र पाण्डेय, झपेन्द्रराज खरेल, सुब्बाद्धय रामचन्द्र अर्याल र रमेश नेपाल, करारमा कार्यरत गोमा पराजुली, कम्प्युटरमा कार्यरत हिराकाजी तामाङ, कार्यालय सहयोगी विष्णुप्रसाद गौतम संलग्न रहेको तथ्य खुलेको छ । तत्कालिन समयमा प्रमुख जिल्ला अधिकारीका रुपमा शिव सिंखडा कार्यरत थिए । राहदानीको १५ लाख र नागरिकताको ५ लाख रुपैयामा विक्री गरेको श्रोतले बतायो ।
जिल्ला प्रशासन कार्यालय आफैले पनि गैह्कानूनी रुपमा नागरिकता लिएको सूचना पाए लगत्तै त्यस सम्वन्धमा छानविन गरिरहेको छ भने नयाँ नागरिकता र प्रतिलिपिमा कडाईका साथ यकिन गरेर उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । साउन महिनामा १६ वटा नागरिकता रद्द गरी कारवाहीका लागि पठाईएको प्रजिअ पौडेलले भने ।
फेला परेका विदेशी नागरिक
१) दावा छिरिङ भनिने निमा तामाङ
२) पासाङ तामाङ
३) सोनाम लामा
४) तेन्जिङ गुरुङ
५) राम लामा
६) तेन्जिङ्ग सोनाम तामाङ





