2026 August 27/ 07:08: 23pm

मोतीराम तिमल्सिना
धुलिखेल

– १३ सय १५ को ज्यान लियो, २८ हजार ६५६ सक्रिय संक्रमित, ४५ हजार ३६९ लाई खोप लगाईएको छ । भुम्लु गाउँपालिकामा एउटा पशुलाई पनि खोप लगाईएको छैन । केहि पालिकाले भने निःशुल्क भ्याक्सिन र औषधोपचार गराएका छन् । 

    धुलिखेल/लम्पी स्किन रोगका कारण जिल्लामा १३ सय १५ वटा पशु मरेका छन् । मरेका पशुको आँशु पुछ्न नसकेको सरकारले कृषकको आँशु समेत पुछ्न तदारुकता देखाएको छैन । कृषकहरुको अधिकारको पक्षमा वकालत गरिरहेको अखिल नेपाल किसान महासंघ काभ्रेले सरकार कृषकको पक्षमा निर्णय गर्न लाचार र अविवेकी बनेको आरोप लगाएको छ । 
    ‘देशभर मरेका ५० हजार भन्दा धेरै पशुका सन्र्दभमा सरकार अविवेकी बन्यो, समयमा खोप र औषधी उपचार नभएका कारण लाखौं पशु संक्रमित बने । मरिसकेका पशुका कारण सडकमा पुग्न बाध्य भएका कृषकहरुलाई राहतका बारेमा सरकार चुँ समेत गर्दैन’–अखिल नेपाल किसान महासंघ काभ्रेका अध्यक्ष श्यामसुन्दर चौलागाईले भने–‘कृषकहरुलाई तत्काल राहत उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई पठाएको ज्ञापनपत्रका सन्र्दभमा समेत सरकार अनुदार बन्यो ।’ लाखौ कृषकहरु लम्पी स्किन रोगबाट पीडित बनिरहँदा सरकार अनुदार, लाचार र अविवेकी बनेको चौलागाईले बताए । लम्पी स्किन रोगका कारण पशुहरुको वंश विस्तारमा समेत संकट देखिएको छ । रोगबाट बचेका पशुहरुले पनि पहिलाकै अवस्थामा दुध र सन्तान उत्पादन गर्न नसक्ने पशु स्वास्थ्य चिकित्सकहरुले बताएका छन् । 
    काभ्रेपलाञ्चोक जिल्लामा २०८० बैशाख महिनाबाट देखिएको लम्पी स्किन रोगबाट भदौको पहिलो सातासम्म १ हजार ३ सय १५ वटा पशु परेका छन् । जसमध्ये ९ सय ४० वटा गाई मरेका छन् भने १ सय ७५ वटा गोरु र २ सय वटा बाच्छा बाच्छी मरेका छन् । जनसंख्याका हिसाबले पनि जिल्लाको सबैभन्दा ठुलो बनेपा नगरपालिकामा सबैभन्दा धेरै पशु मरेका छन् भने सबैभन्दा कम महाभारतमा मरेका छन् । हावाका कारण फैलिएको उक्त रोग कृषकहरुले दुग्ध संकलन केन्द्रसम्म ल्याउने दुधको भाडा मार्फत गोठसम्म पुगेको थियो । स्थानीय सरकारले केहि राहत उपलब्ध गराउने निर्णय गरे पनि संघ र प्रदेश सरकारले यस विषयमा मुख खोल्न सकेको छैन । संघ सरकारका मन्त्री बेदुराम भुसालले कृषकहरुलाई लम्पी स्किनबाट मरेका पशुहरुको राहात दिन नसक्ने बताएका छन् । बीमा गरिएका पशुहरुको भुक्तानी हुन सकेको छैन भने थप बीमा शुरु हुन सकेको छैन । बीमा नविकरण नगरेका कारण सयौ पशुहरुको भुक्तानी दाबी गर्न कृषकहरुलाई असहज भयो । ‘खेती गर्ने बेला रासायनिक मल उपलब्ध नगराउने, उत्पादन भए पनि बजार मुल्य सहज नबनाउने अहिले पशुहरु भटाभट मरिरहँदा वेवास्ता गर्ने निकम्मा सरकारका कारण मुलुकबाट युवाहरु पलायन हुन बाध्य भएका छन्’–अध्यक्ष चौलागाईले भने–‘सरकारले ब्यवसायीक रुपमा काम गरिरहेका युवा कृषकहरुका पक्षमा समेत जनमुखी कार्यक्रम ल्याउन सकेन । जसका कारण नेपालमा भविश्य नदेखेर युवाहरु विदेशिन बाध्य भएका छन् ।’ 
    जिल्लामा संक्रमित भएका पशुहरु मध्ये ४५ हजार ३ सय ६९ वटा पशुमा लम्पी स्किन विरुद्धको भ्याक्सिन लगाईएको छ । केहि भ्याक्सिन संघ र प्रदेश सरकारले पठाएको छ भने केहि कृषक आफैले लगाएका छन् । ३० हजार ८ सय ४२ गाई, २ हजार ३ सय ४६ गोरु, ५ हजार ९ सय ४१ वटा भंैसी र ६ हजार ६ सय पाडा पाडी र बाच्छा बाच्छीमा खोप लगाईएको छ । अझै जिल्लामा २८ हजार ६ सय ५६ पशु सक्रिय संक्रमित छन् भने कुल संक्रमित ३४ हजार ३ सय ७० छन् ।  संक्रमित मध्ये अधिकांश गाई र त्यसका प्रजाति छन् । भुम्लु गाउँपालिकाले अहिलेसम्म कुनै पशुमा खोप लगाएको छैन । उक्त पालिकामा २७ वटा पशु मरेका छन् । अहिले पनि २ सय १९ वटा पशु सक्रिय संक्रमित छन् । 
    धुलिखेल, नमोबुद्ध नगरपालिका र चौरीदेउराली गाउँपालिकाले कृषकहरुलाई केहि राहतको निर्णय गरेका छन् । धुलिखेलका वडा नम्वर २, ८ र ९ ले पनि राहतको निर्णय गरेका छन् । पनौती वडा नम्वर १ मा रहेको जनमैत्री बचत तथा ऋण सहकारी संस्थाले पनि राहतको घोषणा गरेको छ । केहि सहकारीहरुले बीमा तथा ऋण अनुदानमा ब्याजको सहुलियत घोषणा गरेका छन् । सरकार जसले नागरिकहरुको जिम्मेवारी लिनु पर्ने अवस्थामा अझै चुपचाप छन् । लम्पी स्किनका कारण मरेका पशुको आँशु र त्यहि आँशुमा डुबेका कृषकहरुको आँशुले राज्य सत्ता संचालकहरुलाई कतै संवेदनशिल बनाउँला र ? कृषकहरुको जिज्ञासा छ ।