2026 August 26/ 03:45: 26pm

चन्दा विना ब्यवसायीले बनाए आफ्नै भवन
    बनेपा/चन्दा नलिई आफ्नै श्रोत संकलन गरी भवन निर्माण गर्ने अठोट बोकेको बागमती टिपर ब्यवसायी संघले आफ्नै भवन निर्माण गरी औपचारिक रुपमा उद्घाटन गरेको छ । ‘संघको साधारण सभामा संस्थाका अध्यक्ष सुरेश खत्रीले कसैसँग चन्दा नलिएरै संस्थाको भवन आफ्नै श्रोतबाट निर्माण गर्ने घोषणा गर्नु भएको थियो’–कार्यालय प्रमुख प्रकाशबहादुर कायश्थले भने–‘अध्यक्षले घोषणा गरेको भवन निर्माण कार्य पुरा भएको छ ।’ 
    अध्यक्ष सुरेश खत्रीले ब्यवसायीको हितका लागि संस्थाको आफ्नै संरचना आवश्यक भएको महसुस गरी संघमा आवद्ध सदस्यहरुकै श्रोतबाट भवन निर्माण गरेको बताए । ‘निर्वाचित भए लगत्तै मैले संस्थाको आफ्नै भवन संस्थाकै रकबाट खरिद गरिएको जग्गामा चन्दा विना निर्माण गर्ने घोषणा गरेको थिएँ’–अध्यक्ष खत्रीले भने–‘७ वर्ष देखि नविकरण नभएको संस्थालाई नविकरण गराई कानूनी रुपमा कृयाशिल गराउँदै भवन निर्माण प्रकृया सम्पन्न गरेका छौं ।’ संघमा आवद्ध सबै सदस्यहरुको सहयोग र समन्वय तथा अग्रज र संस्थापक तथा पुर्व कार्य समितिहरुको विशेष सहभागितामा भवन निर्माण कार्य सहज भएको अध्यक्ष खत्रीले बताए । भवन निर्माणसँगै ब्यवसायीहरुको हितका लागि आर्थिक मन्दिको अवस्थामा ब्यवसायलाई निरन्तरता दिन, ब्यवसायबाट पलायन हुन नदिन, दुर्घटना न्यूनिकरण गर्दै ब्यवसायी र मजदुर तथा नागरिकहरुलाई समेत क्षति हुन नदिन विशेष अभियान शुरु गर्ने तयारी गरिएको अध्यक्ष खत्रीले बताए । भाद्र ६ गते बुधबार अध्यक्ष खत्रीले भवनको शिलालेख अनावरण गर्दै औपचारिक रुपमा गृह प्रवेश गरेका थिए । पुर्व अध्यक्ष शेरबहादुर कुँवर र अध्यक्ष खत्रीले संयुक्त रुपमा भवनको गृह प्रवेशको क्रममा रिवन काटेका थिए । कार्यालय प्रमुख प्रकाशबहादुर कायश्थले अध्यक्ष खत्री लगायत कार्य समितिका पदाधिकारीहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, ब्यवसायीहरुलाई स्वागत गरेका थिए । 

कस्तो बन्यो भवन ?     
    ब्यवसायलाई प्रर्वद्धन तथा संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रम संचालन गरिरहेको बागमती टिपर ब्यवसायी संघले आफ्नै भवनबाट प्रशासनिक कार्य शुरु गरेको छ । बनेपा नगरपालिका वडा नम्वर ८ स्थित तुल्टीफाँटमा ५ आना जग्गामा निर्माण भएको तीन तल्ले पक्कि भवनका लागि करिव डेड करोड रकम खर्च भएको छ । ‘टिपर ब्यवसायीहरुलाई संस्थागत र ब्यवसायीक विकासका लागि निरन्तर विभिन्न कार्यहरु भईरहेका छन्’–अध्यक्ष सुरेश खत्रीले भने –‘ब्यवसायी, मजदुर र सडक तथा पैदल यात्रुहरुका लागि समेत सुरक्षाका लागि कार्यहरु भईरहेका छन् ।’ बागमती टिपर ब्यवसायी संघमा करिव ७ सय टिपर आवद्ध छन् । करिव ५ सय टिपर मात्रै नियमित नविकरणमा छन् । संंघले असार मसान्तसम्म संघमा आवद्ध हुने टिपरहरुलाई १५ हजार रुपैयाबाट घटाएर ५ हजार रुपैया मात्रै लिने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार अधिकांश टिपरहरु नविकरण भएका छन् । नविकरण शुल्क ३ हजार २ सयबाट घटाएर साउन १ गते देखि २ हजार ५ सय कायम गरेको कार्यालय प्रमुख प्रकाश कायश्थले जानकारी दिए । संघमा आवद्ध हुने ब्यवसायीहरुका लागि उपचार खर्च, दुर्घटना विमा लगायतका विभिन्न सुविधाहरु उपलब्ध गराएको छ भने नियमित नविकरण गर्ने मजदुरहरुलाई पनि विभिन्न प्रकारका सुविधा उपलब्ध गराउँदै आएको छ । दुर्घटना न्यूनीकरण सम्वन्धी सचेतना कार्यक्रम र पुरस्कृत गर्दै आएको छ । पछिल्ला वर्षमा बागमती टिपर ब्यवसायी संघमा आवद्ध टिपरहरुका कारण दुर्घटना हुने संख्यामा कमी भएको तथ्याङ्कले पुष्टी गरेको छ । पाँच वर्ष अघि संघले बनेपा ८ मा जग्गा खरिद गरेको थियो । संघमा संस्थापक अध्यक्ष राजभक्त प्रधान, पुर्व अध्यक्षहरु शेरबहादुर कुँवर, प्रेम लामा र वर्तमान अध्यक्ष सुरेश खत्रीले नेतृत्व गरिरहनु भएको छ । संघले महासंघमा सदस्यता लिएर ब्यवसायीक एकता र जिम्मेवारीलाई थप शशक्त बनाएको छ ।